त्रिशूली– जिल्ला प्रशासन कार्यालय नुवाकोटले गत आर्थिक वर्षमा झण्डै पौने तीन करोड रुपैयाँ राजश्व असुल गर्न सफल भएको छ।
कार्यालयले आव २०७४/०७५ मा दुई करोड ६९ लाख ४० हजार ८ सय ९५ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ। शुक्रबार सार्वजनिक विवरणअनुसार प्रशासन कार्यालयले सबैभन्दा बढी राहदानीबाट राजश्व असुल गरेको छ। ४ हजार ९ सय ६८ राहदानी वितरण गरेको जिप्रकाले राहदानीवापत २ करोड ६० लाख २ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ।
नुवाकोटमा एक वर्षको अवधिमा झण्डै ९ हजार जनाले राहदानी बनाएका छन्।प्रशासनले द्रुत सेवाअन्तर्गत ४ हजार ५ राहदानीका लागि सिफारिससमेत गरेको छ।
जिप्रकाले अन्य राजश्व भने संस्था दर्ता, संस्था नवीकरण, हातहतियार नामसारी तथा नवीकरण, प्रशासनिक दण्ड जरिवाना, परीक्षा दस्तुर, बेरुजु असूली, न्यायिक दण्ड जरिवानालगायतबाट राजश्व उठाएको प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए।
जिप्रकाले गएको एक वर्षमा ८ हजार ९ सय ८५ थान नागरिकता वितरण गरेको छ। यस्तै, ४ हजार ९ सय ७३ थान प्रतिलिपि नागरिकता तथा ५ वटा वैवाहिक अंगीकृत नागरिकता वितरण भएको छ।
यस अवधिमा ५४ संस्था दर्ता भएका छन् भने १ सय २६ वटाको नवीकरण भएको छ। १ सय ६० जनाको नाबालक परिचयपत्र वितरण भएको तथा ४ हजार ५ सय ५१ वटा सिफारिस भएको पनि जिप्रकाले जनाएको छ। यसैबीच गत आवमा पहिरो र आगोले क्षति भएका घरधनीलाई १ लाख २६ हजार रुपैयाँ राहत प्रदान गरिएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।