काठमाडौं– कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनालले कृषकको स्तर उकास्नका लागि सरकारले आवश्यक प्रबन्ध मिलाउने आश्वासन दिएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार किसानसँग गरेको अन्तरक्रियामा सम्बोधन गर्दै मन्त्री खनालले कृषि प्रविधिको विकास, प्रशिक्षण, अनुदानको व्यवस्था र बजारको सुनिश्चततामा सरकारले ध्यान दिन सके कृषि र कृषकको स्तरलाई माथि लैजान सकिने बताए।
किसानले उपयुक्त जमिन नपाउनु, उनीहरुलाई समस्या सम्बोधन गर्नसक्ने कानुन नहुनु, भएका कानुनको पनि प्रभावकारी कार्यान्वयन नहुनु लगायतले किसानको स्तर माथि उठ्न नसकेको मन्त्री खनालको तर्क थियो। उनले कृषि र कृषकका लागि छुट्याइएको अनुदान वास्तविक कृषकको हातमा पुग्न नसक्दा कृषकहरु केही गर्न नसक्ने स्थितीमा पुगेको टिप्पणी गरे।
उनले कालिमाटी तरकारी बजारमा व्यापारीले मानवस्वास्थ्यमा गम्भीर असर पार्ने ‘केमिकल’ राखेर माछा बेच्ने गरेको पाइएको भन्दै त्यस्ता कार्यको नियन्त्रण मन्त्रीले मात्रै गरेर नहुने भएकाले सबै सचेत हुनुपर्ने बताए।
बजार नियमन गर्ने नाममा साना किसान मर्कामा परेको भन्दै आयोगले सरोकारवाला निकाय र विभागीय मन्त्रीसँग अन्तरक्रिया गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।