चितवन- इच्छाकामना गाउँपालिका ३ चुम्लिङ्टारमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ।
दुर्घटनामा १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार दुर्घटनामा पाल्पा बेगनासकालिका गाउँपालिकाका अर्जुन न्यौपाने, तनहुँ भानु नगरपालिकाका– ५ का सुमित श्रेष्ठ, तनहुँ भन्सारकी कमला श्रेष्ठ, काठमाडौंका रवीन गुरुङ, तनहुँ केशवटारका बाबुराम तिवारी र भारत बेतियाका फिरोज मियाको मृत्यु भएको छ।
यसैगरी, मृत्यु भएका एक महिला र एक बालकको सनाखत हुन सकेको छैन। दुर्घटनामा परी घाइते भएकामध्ये ६ जनाको पुरानो मेडिकल कलेज भरतपुर, ४ जनाको मनकामना अस्पताल भरतपुर, ५ जनाको मणिपाल अस्पताल पोखरा र १-१ जनाको छाउनी अस्पताल र गजुरी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
शुक्रबार बिहान करिब १२ बजे काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ना६ख २५०६ नम्बरको बस र विपरीत दिशाबाट काठमाडौंतर्फ गइरहेको ना५ख ७४०९ नम्बरको ट्रक ठोक्किँदा बस त्रिशुली नदी किनारनजिक खोल्सामा खसेको थियो। बसले काठमाडौँबाट ३० जना यात्रु लिएर हिँडेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।