काठमाडौं– सरकारले पाल्पास्थित ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वको रानीमहल स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ।
पुरातत्व विभागले ऐतिहासिक, पूरातात्विक तथा धार्मिक महत्वको रानीमहल तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको हो। सरकारका तर्फबाट पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र तानसेन नगरपालिकाका प्रमुख अशोककुमारी शाहीले बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच रानीमहल हस्तान्तरणसम्बन्धि १० वर्षे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको उपस्थितिमा गरिएको समझदारीमा सो महलको व्यवस्थापन, सञ्चालन र मर्मतसम्भार गर्दा सरकारको अनिवार्य स्विकृति लिनुपर्ने व्यवस्था गरिएको छ। १० वर्षे समझदारी पत्रमा सो महल र त्यसले चर्चेका क्षेत्रमा तेस्रो पक्षलाई भोगाधिकार दिन वा भाडामा लगाउन नपाउने व्यवस्था पनि गरिएको छ।
कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले महलको उचित व्यवस्थापन गरी आयआर्जन गर्न तानसेन नगरपालिकालाई आग्रह गरे। उनले महलको भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक बजेटको व्यवस्था भने संघीय सरकारले गर्ने पनि स्पष्ट पारे।
कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका प्रमुख शाहीले महलको पूरातात्विक, धार्मिक र ऐतिहासिक महत्वको उजागर गर्दै यसलाई विश्वमै चिनाउने गरी व्यवस्थापनको काममा लाग्ने प्रतिवद्धता व्यक्त गरिन्।
१९५४ मा खडगशमशेर राणाले रानी तेजकुमारी राणाको सम्झनामा निर्माण गरेको महलको ऐतिहासिक महत्व रहिआएको छ। आकर्षक कलाकृतिले सजिएको यो महललाई ‘नेपालको ताजमहल’ को रुपमा लिने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।