राजविराज– सप्तरीमा वुधवार भएको दुर्घटनामा परी एकजना अग्रज पत्रकारको मृत्यु भएको छ। दुर्घटनामा एक प्रहरी हवल्दार सहित ३ जना घाईते भएका छन्।
विराटनगरवाट राजविराज आउँदै गरेको को १ ज २१४९ नम्वरको माईक्रोवस र विपरित दिशामा जाँदै गरेको ना ५ ख ६१० नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी राजविराज नगरपालिका वडा नम्बर ७ का ६५ वर्षिय रामप्रसाद खतिवडाको मृत्यु भएको सप्तरीका एसपी मुकेशकुमार सिंहले जानकारी दिए।
मृतक खतिवडा नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य हुन्। पञ्चायत कालदेखिनै पत्रकारीता पेशा सुरु गरेका खतिवडाले मातृभुमि साप्ताहिकमा लामो समयसम्म काम गरेका थिए।
दुर्घटनामा मोरङ्गको मोतिपुर– ६ का प्रहरी हवल्दार ३० वर्षिय श्रवण माझि, सप्तरीको राजविराज नगरपालिका १ का ४५ वर्षिय मित्यानन्द झा र सुनसरीको दुहवी १० का ५२ वर्षिय अर्जुन ठकुरी घाईते भएका छन्र घाईते मध्ये प्रहरी हवल्दार माझीको अवस्था गम्भिर छ। प्रहरी चौकी फकिरामा कार्यरत माझी वढुवापछि हालै बाराको कोल्वीमा सरुवा भएका थिए।
घाईते सवैको विराटनगर स्थित नोवेल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।