चितवन– बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शरिरको भित्री अंग सेकाइ गर्ने नयाँ ब्राकी थेरापी उपकरण जडान गरिएको छ।
विगत ६ वर्षदेखि सो उपकरणको अभावमा क्यान्सरका बिरामी काठमाडौं र विदेश जान बाध्य भएका थिए। अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार यसै साता ल्याइएको उपकरण आज जडान गरी सकिने छ।
बिहीबारबाट परीक्षण थालिने र केही दिनमा नै बिरामीलाई सेवा दिन सुरु गरिने उनले बताए। झन्डै २ करोड ५० लाख रुपैयाँको लागतमा खरीद गरिएको उक्त उपकरण नयाँ र उच्च प्रविधिको रहेको आचार्यले जानकारी दिए। बिरामीको चाप उच्च रहेकाले एउटा उपकरणले नधान्ने भए पनि केहीलाई सेवा दिन सकिने उनको भनाइ छ।
बढी संख्यामा महिलाको पाठेघरको क्यान्सर भएकालाई सेकाइ गर्न सो उपकरण प्रयोग हुने आचार्यले बताए। अस्पताल स्थापना हुँदा २०५७ सालमा जडान गरिएको ब्राकी थेरापी उपकरण बिग्रिएपछि अर्को उपकरण खरीद गरिएको थिएन।
अस्पतालमा वार्षिक १ लाख ५० हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गर्दछन्। जसमध्ये १० हजार हाराहारी क्यान्सरका बिरामी हुने गर्दछन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।