गौर– रौतहटको वडहर्वास्थित बागमती नदीमाथि पुल निर्माणका लागि शिलान्याश भएको १२ वर्ष पुगिसकेको छ। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले २०६७ जेठमा पुलको शिलान्याश गरेका थिए। तर, निर्माण कार्य अझै नसकिँदा स्थानीयवासी मारमा परेका छन्।
पुल बन्ने ठूलो आशा बोकेका बागमती पारीको वडहर्वावासीले आफ्नै गाउँपालिका तथा वडा कार्यालय आउनसमेत दिनभर लाग्ने गरेको छ। पुल समयमा नै निर्माण सम्पन्न नहुँदा बागमती पारी बसोवास गर्ने करिव ४०० भन्दा बढी घरधुरीका स्थानीय जोखिम मोलेर काठको डुंगामा यात्रा गर्न बाध्य छन्। स्थानीयहरु दैनिक तथा प्रशासनिक कामको लागि र जिल्लाका विभिन्न स्थानहरुमा जानको लागि डुंगाकै भर पर्नुपर्ने अवस्था रहेको छ।
गाउँमा कोही बिरामी हुँदा पनि डुंगामार्फत् नै नदी पार गरेर उपचार गर्न जानुपर्ने अवस्था रहेको छ। स्थानीय बालकेश्वरी देवी नदीमा बाढी आएमा नदी पारी जान नसकिने बताउँछिन्। नदी पारीको आफ्नै खेतमा काम गर्न जान पनि एक दिन लाग्ने गरेको बालकेश्वरीको भनाइ छ।

नदीपारी रहेको वडा कार्यालयमा जान पनि पूरै १ दिन छुट्याउनुपर्ने बाध्यता रहेको स्थानीय सुरेन्द्र पासवानको भनाइ छ।
बागमती नदी पारी रौतहटको वतसपुर, बडहर्वा, राजदेवी, गौर लगायत स्थानका मानिसहरु डुंगा चढेरै खेतबारीमा काम गर्न जाने गरेका छन्। बागमती पारीका स्थानीयलाई वारी आउन २ वटा डुंगाको यात्रा गर्नुपर्छ।
वर्षायाममा बागमती नदीमा बाढी आउँदा स्थानीयहरुको आवत–जावत नै ठप्प हुने गरेको छडुंगा चालक रामबाबु रजक बताउँछन्। डुंगा चढ्न एकपटकको ५० रुपैयाँ लाग्ने उनले बताए। नदीमा बाढी आउँदा दिनमा एकपटक मात्रै डुंगा चल्ने गरेको रजकको भनाइ छ।
यता हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख दारोगाप्रसाद साह भने पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई निर्माण कार्य सक्न अझै डेढ वर्षको म्याद रहेको बताउँछन्। अन्य प्रकारका बाधा नआए अबको डेढ वर्षभित्रै नदीमा पुल बनिसक्ने उनको भनाइ छ।
बागमती नदीमा पुलको ठेक्का लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा पाएको थियो। ठेक्का लुम्बिनीले पाएपनि निर्माणको काम पप्पु कन्सन्ट्रक्सनले थालेको थियो। पप्पु कन्ट्रक्सनले सडक विभागसँग २०६७ जेठ ३१ गते २०७० जेठ ३० गते पुलको निर्माण काम सम्पन्न गर्ने सम्झौता गरेको थियो।
१७ स्पान सहितको सो पुलको लम्बाइ ६३३ मिटर र चौडाई २ लेनको छ। स्पान निर्माणको काम सकिए पनि बाँकी काम भने सुरु भएको ९ वर्षभन्दा बढी भइसकेको छ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, पर्साले लुम्बिनी बिल्डर्ससँग ठेक्का रद्ध गरेपछि पुनः आह्वान गरेको ठेक्का महालक्ष्मी विकास वाइपी जेभी जनकपुरले पाएको छ। २०७९ वैशाख ११ गते भएको ठेक्का सम्झौताअनुसार २०८१ कार्तिक १० गते भित्र पुल निर्माणको काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको हो।
महालक्ष्मी विकास वाइपी जेभी जनकपुरले ५७ करोड ४० लाख ७७ हजार ५०१ रुपैयाँमा ठेक्का पाएको हो। कार्यालयले नयाँ ठेक्का लगाए पनि काम भने सुरु हुन सकेको छैन। न्यूज एजेन्सी नेपाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।