काठमाडौं– असार महिनाको ‘काठमाडौं पुलिस अवार्ड’ डिएसपीतर्फ महानगरीय प्रहरी वृत्त दरबारमार्ग वृत्तका दानबहादुर मल्ल र कमलपोखरी वृत्तका कुलदीप चन्द ठकुरीले पाउने भएका छन्। पुरस्कार छनोट समितिले उनीहरुलाई संयुक्त रुपमा पुरस्कार दिने निर्णय गरेको हो।
डिएसपीले पाउने पुरस्कारको राशी ५० हजार रुपैयाँको छ। असार महिनामा उनीहरुले शान्ति सुरक्षा तथा अपराध अनुसनधानमा उत्कृष्ट काम गरेको मूल्याङकनका आधारमा पुरस्कार दिने निर्णय भएको हो। काठमाडौं काठमाडौं परिसरका एसपी रामदत्त जोशी नेतृत्वको छनोट समितिले मंगलबार उनीहरुलाई पुरस्कार दिने निर्णय भएको हो।
त्यस्तै, इन्सपेक्टरतर्फ फेरि नागढुंगा प्रभागका प्रमुख केशब भट्टले पाउने भएका छन्। उनले यसअघि पनि पुरस्कार पाएका थिए। असारमा उनले थानकोट वृत्तमा सुराकीको आधारमा ९ किलो सुन बरामद गरेका थिए। सोही कारण उनले फेरि पुरस्कार पाउन लागेका हुन्। भट्ट र फर्पिङ वृत्तका इन्सपेक्टर विष्णु सोतीलाई संयुक्त रुपमा असार महिनाको इन्सपेक्टरतर्फको उत्कृष्ट पुरस्कार दिने निर्णय भएको हो।
सइ, असइ, हवल्दार र जवानतर्फको पुरस्कारमा निर्णय भइसकेको छैन।
काठमाडौं परिसरले बैशाख महिनादेखि यो पुरस्कार स्थापना गरेको हो। नेपाल बंगलादेश बैंकसँगको सहकार्यमा एक वर्षका लागि पुरस्कार स्थापना गरेको हो।
ललितपुर परिसरले पनि सिटिजन्स बैंकसँग मिलेर यस्तै प्रकृतीको पुरस्कार स्थापना गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।