काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई ठगी गर्ने ट्याक्सी तथा निजी कारलाई जनही ३ हजार रुपैयाँ जरिवाना गरेको छ।
महाशाखाको टोलीले साउन ४ देखि ७ गतेसम्म मिटरमा ठगी र निजी कार तथा जीपले भाडामा मानिस ओसारपसार गर्ने ५७ ट्याक्सी तथा निजी कारलाई कारबाही गरेको हो।
महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले मिटर ट्याक्सीले बढी भाडा लिने तथा निजी कार तथा जीपले यात्रु ओसार्ने गरेको जनगुनासो आएपछि महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरी खटाएर कारबाही गरेको जानकारी दिए। ‘साउन ४ गते १७, साउन ६ गते १९ र साउन ७ गते २१ ट्याक्सी, कार तथा जीपलाई कारबाही गरेका छौँ,’ उनले भने।
नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतमले मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही गर्नुपर्ने बताए। ‘सरकारले मिटर ट्याक्सीको रकम बढाउन लाग्नुपर्छ र हरेक चालक मिटरमा जानुपर्छ,’उनले भने।
अध्यक्ष गौतमले कार र जीपले यात्रु बोक्न नपाउने बताए। यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजार ६ सय ट्याक्सी सञ्चालनमा रहेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।