गैंडाकोट– युगल गजल वाचनको शृंखला ‘कफी र काफिया’को ११औं बसाइमा गजलकारद्वय लोकेन्द्र बन्जारा र सञ्जय भट्टराई सुनिए।
गैंडाकोटस्थित नारायणी रिसोर्टमा शनिबार आयोजना गरिएको कार्यक्रममा भट्टराई र बन्जाराले १०/१० वटा गजल सुनाएका हुन्।
चोट नलाग्ने के पक्का छ निधारमा तिम्रो पनि।
घर छ यहीँ दिनदुःखीको संसारमा तिम्रो पनि।
कार्यक्रमको सुरुवातमै बन्जाराले आफ्नो गजल सुनाउँदा ताली पाए। अधिकांश गजलमा समसामयिकता र व्यङ्ग्य मिश्रित स्वर समेट्ने बन्जाराले सेरबाटै वैदेशिक रोजगारीको आर्तनादलाई पोख्न भ्याए। ‘म आँफै पनि लामो समय वैदेशिक रोजगारीका क्रममा देशबाहिर रहेँ। सायद सेरमा यसकै प्रतिविम्ब झल्किएको हुनसक्छ।’, उनले प्रस्ट्याए।
जसरी फूल्छ गुलाब गमलामा पनि।
तिमी फूल्न सक्नुपर्छ यी आँखामा पनि।
बन्जारासँगै मञ्च साटेका सञ्जय भट्टराई आफ्ना गजलमा प्रेमिल विषयमा बढी पोखिएको अनुभुत हुन्थ्यो। उसो त केही सेरहरुमा भने समसामयिक भाव, सम्बन्ध तथा राजनीतिक चेत भर्नसमेत उनी सफल थिए।
भट्टराई साठीको दशकको सुरुआतदेखि नै नवलपरासीमा रही गजल साहित्यमा कलम चलाउँदै आइरहेका स्रस्टा हुन्। पेशाले अध्यापन गर्ने उनी स्थानीय एफएम रेडियोमा गजल सम्बन्धि कार्यक्रम पनि चलाउँछन्।
झापा, दमकमा व्यवसाय गरेर बसिरहेका बन्जारा ५० को दशकदेखि नै नेपाली गजल लेखनमा सक्रिय छन्। उनी एफएम रेडियो र सामाजिक सञ्जाल प्रचलनमा आउनु अगाडि नेपालमा अत्यन्तै लोकप्रिय हवाई साहित्यका एक अभियन्ता पनि हुन्। बन्जाराको आँखाभरी सपना र जैतुन नामक गजल सङ्ग्रह प्रकाशित छन्।
सिर्जन साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रम गोविन्दराज विनोदी र धनराज गिरीको युगल गजल वाचनमार्फत २०७४ साउनबाट सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।