काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडाले स्थानीय र प्रदेश सरकारलाई बजेटको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।
अर्थमन्त्री खतिवडाले वित्तीय हस्तान्तरणको माध्यमबाट स्थानीय र प्रदेश सरकारलाई आवश्यक बजेटको व्यवस्था गर्दै आइएको पनि स्पष्ट पारे। उनले स्थानीय तहमा करको दायरा भने तत्काल बढाउन सकिने अवस्था नरहेको पनि स्मरण गराए।
कानुन संशोधनको माध्यामबाट पनि स्थानीय र प्रदेश सरकारको स्रोतमा हुने अभावलाई न्यूनिकरण गर्दै लैजाने अर्थमन्त्री खतिवडाको भनाइ छ। शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्ने योजना पनि अघि सारे।
अर्थमन्त्री खतिवडाले वैदेशिक ऋण तथा सहायतालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। उनले वैदेशिक सहायताको सदुपयोग गरेर अघि बढ्ने सरकारको नीति रहेको उल्लेख गरे। अर्थमन्त्री खतिवडाले लगानीका लागि मुलुकमा उपयुक्त वातावरण बनाउने काम सरकारले गरेको दावीसमेत गरे।
सरकार गठन भएको चार महिनायता करिब ५० अर्ब वैदेशिक सहायता लिइएको छ। अर्थमन्त्री खतिवडाले आगामी वर्षमा त्यसलाई बढाउँदै लैजाने नीति लिइएको पनि स्पष्ट पारे। उनले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको लगानीलाई पनि सरकारले जोड दिएको दोहो¥याए।
अर्थमन्त्री खतिवडाले सरकारले भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन मातहतका निकायलाई कडा निर्देशन पनि दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।