काठमाडौं– काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष (आव) २०७५/७६ का लागि करका दरहरू लागू गरिसकेको छ। महानगरले आधारभूत सेवामा करका दरहरूमा खासै परिवर्तन गरेको छैन, बरु घटाएको छ। तर, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था दर्ता तथा नवीकरण, विदेशी चलचित्र सुटिङ, कन्टेनर सेवा, टिप्पर लगायतका सेवामा भने कर बढाएको छ।
महानगरपालिकाका राजस्व शाखाका प्रमुख राज्यप्रकाश प्रधानांगका अनुसार करका यी दर १ साउदेखि लागू भएका छन्।
विभिन्न महानगरपालिकामा जनताका आधारभूत आवश्यकताका सेवामा करको दर उच्च गरिएको भनेर आलोचना गरिरहँदा काठमाडौं महानगरले भने त्यस्ता सेवामा करका दरहरू बढाएको छैन, बरु घटाएको छ।
उदाहरणका लागि काठमाडौं महानगरपालिकाले नागरिकता सिफारिस, नाता प्रमाणित, निःशुल्क तथा सशुल्क स्वास्थ्य उपचार सिफारिस, आर्थिक अवस्था सम्बन्धी सिफारिस, घर कायम सिफारिस लगायतमा लाग्दै आएको शुल्क हटाएको छ।
केही करका दरहरू भने महानगरपालिकाले घटाएको छ। त्यसमा जन्ममिति प्रमाणित तथा विवाह प्रमाणित, व्यवसाय बन्द तथा सञ्चालन नभएको सिफारिस, चारकिल्ला प्रमाणित, हकदार, जग्गाधनी पुर्जा हराएको सिफारिस लगायतका शुल्क घटेको छ।
संस्था दर्ता सिफारिस, आइएनजिओ दर्ता तथा नवीकरण, संरक्षक प्रमाणित, मिलापत्र कागज गराउने सिफारिस, विद्युत् जडान सिफारिस, उद्योग ठाउँसारी सिफारिस, इन्जिनियर सूचीदर शुल्क, निजी क्षेत्रलाई फोहोर बिसर्जनको शुल्कमा भने वृद्धि गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।