काठमाडौं– नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद नियमित काममा फर्किएका छन्।
सर्वोच्च अदालतले आदेश दिएपछि प्रमुख कार्यकारी अधिकृत साउद शुक्रबारबाट आफ्नो नियमित काममा फर्किएका हुन्। गत असार २० गते सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि उननी पुनः आफ्नो काममा फर्किएका हुन्।
गत श्रावण १ गतेदेखि नै कार्यालयमा हाजिर भएका प्रमुख साउदले अर्थ मन्त्रालयका सचिव र नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेसँग स्विकृति लिएरै कार्यालयको काममा फर्किएको पनि स्पष्ट पारे। अदालतले आदेश दिएपछि आफू सहज ढंगले कार्यालयको काममा फर्किएको र त्यसमा अध्यक्ष न्यौपानेसँग कुनै विवाद नभएको पनि उनले स्पष्ट पारे।
प्रमुख कार्यकारी अधिकृत साउदले आफू पद बर्खास्तीमा नपरेको भए नेप्सेको कारोवारलाई अनलाइनमा लैजाने निर्णय कार्यान्वयन प्रक्रियाले गति लिइसकेको हुने दावीसमेत गरे। उनले नेप्सेको कारोबारलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे।
अघिल्लो सरकारले भदौ १४ गतेयता गरिएका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपछि साउद पदमुक्त भएका थिए। तर सर्वोच्चले सो निर्णय कार्यान्वयन नगराउन सरकारलाई आदेश दिएपछि उनी पुनः काममा फर्किएका हुन्। प्रमुख कार्यकारी अधिकृत साउदले केही समय पदमुक्त भएपनि सरकारसँग कुनै गुनासो नरहेको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।