काठमाडौं– केही समयदेखि मानिसहरुले अटोमेटेड टेलर मेसिन (एटिएम) कार्डलाई आफ्नो जीवनको अत्यावश्यक वस्तुको रुपमा प्रयोग गर्दै आएका छन्। एटिएमको लोकप्रियता सबैभन्दा बढी युवा पुस्तामा देखिन्छ।
एटिएमको प्रयोगकर्ता बढेसँगै मानिसहरुको जीवनशैलीमै परिवर्तन आएको छ। कहीँकतै जाने बेलामा खल्ती भरी पैसा बोकेर हिँड्ने मानिसहरु अहिले जहाँ आवश्यक पर्यो त्यहीँ पैसा निकाल्ने सोचले एटिएम बोकेर हिड्ने गरेका छन्। यसले मानिसहरुको दैनिक कार्यसम्पादन सहज हुनुका साथै सुरक्षितसमेत बनाएको छ।
एटिएम प्रयोगकर्ता ४२ लाख ५९ हजार पुगे
यही लोकप्रियतालाई बुझेर बैंक तथा वित्तीय संस्थाहरुले एटिएम सेवा तथा काउन्टरलाई पनि तीव्र रुपमा विस्तार गरेका छन्।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष (२०७४/०७५) को असार मसान्तसम्ममा देशभर ४२ लाख ५९ हजार एटिएम कार्ड प्रयोगमा छन्। यसमध्ये सबैभन्दा धेरै डेबिट कार्ड प्रयोगकर्ता छन्।
देशभर ४१ लाख ४६ हजार डेबिट कार्ड प्रयोग आएको तथ्यांकमा उल्लेख छ। भने क्रेडिट कार्डतर्फ ४३ हजार र प्रिपेड कार्डतर्फ ६९ हजार वटा जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।
एटिएम प्रयोगमा कस्तो बेला र कति थप शुल्क?
रकम निकाल्दा सकेसम्म आफ्नो खाता रहेको बैंकको एटिएमबाट निकाल्नु पर्छ। यसो गरेमा रकम निकाल्न कुनै पनि थप शुल्क लाग्दैन। तर, सेवाग्राहीले एउटा बैंकले दिएको कार्ड प्रयोग गरेर अर्को नेटवर्क रहेकाे बैंकको एटिएमबाट रकम निकाले थप शुल्क तिर्नुपर्ने हुन्छ।
हाल नेपालमा विभिन्न सेवा प्रदायक कम्पनीहरुले एटिम सेवा प्रदान गर्दै आएका छन्। नेपाल इन्भेष्टमेन्ट बैंक अन्तर्गतका एटिएम सेवा प्रदायक (सदस्य) बैंकका एटिमबाट पैसा निकाल्दा प्रति कारोबार २५ रुपैयाँ लाग्ने इन्भेष्टमेन्ट बैंकले जनाएको छ। त्यसबाहेक अन्य नेटवर्क रहेका बैंकबाट पैसा निकाल्दा प्रति कारोबार २ सय ५० रुपैयाँ थप शुल्क लाग्ने बताइएको छ।
२५ रुपैयाँ मात्र शुल्क लाग्ने नेपाल इन्भेष्टमेन्ट बैंक अन्तर्गतका एटिएम प्रदायक वाणिज्य बैंकहरुः
१. नेपाल इन्भेष्टमेन्ट बैंक
२. राष्ट्रिय वाणिज्य बैंक
३. ग्लोबल आइएमई बैंक
४. कुमारी बैंक
५. सानिमा बैंक
६. एनसिसी बैंक
७. सेन्चुरी कमर्सियल बैंक
८. मेगा बैंक नेपाल
त्यस्तै एससिटी अन्तर्गत १० वाणिज्य बैंकहरु सदस्य रहेका छन्। उक्त सञ्जाल अन्तर्गत रहेका चिपकार्ड प्रयोगकर्ताले सदस्य बैंकको एटिएम प्रयोग गर्दा प्रति कारोबार ३० रुपैयाँ दस्तुर लाग्ने एससिटीले जनाएको छ। एससिटी अन्तर्गतका कार्ड नेपाल इन्भेष्टमेन्ट बैंकका एटिएममा भने चल्दैन।
एससिटी कार्ड सदस्य बैंक:
१. सिभिल बैंक
२. एभरेष्ट बैंक
३. ग्लोबल आइएमई बैंक
४. हिमालयन बैंक
५. लक्ष्मी बैंक
६. मेगा बैंक नेपाल
७. नबिल बैंक
८. नेपाल बैंक
९. एमएमबी बैंक
१०. प्रभु बैंक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।