काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा धितोमा राखिएको सेयरको मूल्य २० प्रतिशतसम्म घटे पनि ‘मार्जिन कल’ नबढाउन निर्देशन दिएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमा गरिएको व्यवस्थालाई कार्यान्वयनमा ल्याउने क्रममा आज यस्तो निर्देशन दिएको हो।
बैंक तथा वित्तीय संस्थाले ‘मार्जिन ल्यान्डिङ’ प्रकृतिको कर्जा आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशतसम्म दिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको हो। यो निर्देशन जारी गर्नुभन्दा अगाडि बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह सोभन्दा बढी गरेको भए पनि पुस मसान्तसम्म २५ प्रतिशतको सिमामा ल्याइसक्नु पर्ने व्यवस्था छ। यसअघि यस्तो कर्जा ४० प्रतिशतसम्म थियो।
यसअघि धितोमा राखिएको सेयरको १० प्रतिशतसम्म मूल्य घट्ने बित्तिकै ‘मार्जिन कल’ गर्दा लगानीकर्ताले समस्या व्यहोर्न परेको थियो।
त्यस्तै सुरक्षणमा राखिएको सेयरको मूल्य कुल कर्जा बक्यौता रकमको १ दशमलब ६ गुणा भन्दा बढी भएको अवस्थामा ‘मार्जिन कल’ गर्नुपर्ने छैन। यसअघि यस्तो सीमा १ दशमलब ५ गुणा थियो।
यता आजबाटै संस्थागत निक्षेपकर्तालाई तोकिएको ब्याजदरमा एक प्रतिशतभन्दा बढी थप्न नपाइने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । बोलकबोलबाट प्राप्त हुने संस्थागत मुद्दती निक्षेपमा एक प्रतिशतसम्म थप ब्याज दिन पाइने छ। यस अघि दुई प्रतिशतसम्म थप गर्न पाइन्थ्यो। यस्तै ‘स्प्रेड दर’ साढे ४ प्रतिशतमा झारिएको छ।
साथै आजैबाट लागू हुने गरी कर्जा र निक्षेप बीचको ब्याजदरको अन्तर साढे ४ प्रतिशत कायम गरिएको छ। यसअघि यस्तो ब्याजदर ५ प्रतिशत कायम थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।