काठमाडौं– सरकारले कर वृद्धि गरेसँगै मासु महँगिने भएको छ। व्यवसायीले १५ प्रतिशतसम्म मासुको मूल्य बढ्ने चेतावनी दिएका छन्।
सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत कृषि उपज आयात गर्दा थप ५ प्रतिशत अग्रीम आयकर असुल गर्ने व्यवस्था गरेको थियो। यही व्यवस्थाका कारण मासुको मूल्य बढ्ने व्यवसायीले बताएका छन्।
व्यवसायीका अनुसार, अहिले मासुको सबैभन्दा बढी खपत हुने काठमाडौं उपत्यकामा मागको ८० प्रतिशत चौपाया विदेशबाट आयात हुन्छ। चौपाया व्यवसायी महासंघका अनुसार अहिले दैनिक एक हजार खसीबोका र २ सयजति राँगा र भैंसी नेपालमा आयात हुन्छ।
विदेशबाट आयात गरिने कृषि उपजमा मात्र अग्रीम आयकर असुलिने भएकाले आन्तरिक स्रोतबाटै आपूर्ति हुने कुखुरा, हाँस लगायतको मूल्यमा भने फेरबदल हुनेछैन।
करको नयाँ व्यवस्थाले आयात हुने वस्तुको भाउ बढ्ने र त्यसले उपभोक्ता मूल्य थप बढ्ने महासंघका पूर्वअध्यक्ष दीपक थापा बताउँछन्।
‘कर बढ्दा उपभोक्ता मूल्य १० देखि १५ प्रतिशतसम्म बढ्छ’, उनी भन्छन्।
सरकारले हचुवाको भरमा कर लगाउँदा मासुको मूल्य बढ्ने अवस्था आएको आरोप थापाले लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।