१९९५–९६ सालतिर महेन्द्र शमशेर सानो गौचरनमा क्रिकेट खेल्थे। त्यतिबेला क्रिकेट खुलारूपमा खेलिँदैन्थ्यो। पहुँचवाला राणाहरूको महलमा मात्र क्रिकेट खेल्ने गरिन्थ्यो। त्यसको कारण थिए, राणा प्रधानमन्त्री जुद्द शमशेर। एकपल्ट जुद्द शमशेर लमक–लमक गर्दै हात्ती चढेर सहरतर्फ आउँदै गर्दा उनले देखेछन्, सानो टुँडिखेल (हालको आर्मी हेडक्वाटर)मा एक हुल केटाहरू क्रिकेट खेलिरहेका। त्यो देखेर अतालिएका जुद्द शमशेरले तत्कालै आदेश दिएछन्– यस्तो डरलाग्दो खेल खेल्नहुन्न। बरु यो भन्दा हकी बेस।
नेपालमा क्रिकेटलाई लोकप्रिय बनाउन मदन शमशेर खुब खटिएका थिए। त्यसको पनि कारण थियो, त्यतिबेला राणाप्रधानमन्त्री थिए, उनकै पिता चन्द्र शमशेर। त्यसैले चन्द्र शमशेरका पालामा नेपालमा क्रिकेटको चहलपहल सुरु भइसकेको थियो।
चन्द्र शमशेरका नाती तथा बबर शमशेरका माईला छोरा ब्रहम शमशेरको बबरमहल, चन्द्रका छाेरा मदन शमशेरको श्रीदरबार, सिह शमशेरका छाेरा अर्जुन शमशेरको सिंह महल र नर शमशेरको बहादुर भवनमा क्रिकेटको ठूलै चहलपहल हुन्थ्यो। तर, जुद्द शमशेरका पालामा आएर क्रिकेटले छोटो समय प्रतिबन्ध झेल्नुपर्यो।
दरबारभित्र हुने क्रिकेट प्रतियोगितामा प्रायः दरबारभित्रै कार्यरत कर्मचारी सक्रिय हुन्थे। यसमा बढी सक्रिय थियो, दीक्षित परिवार। त्यतिबेला ३५–४० ओभरको खेल हुन्थ्यो। पाटन क्रिकेटका लागि सबैभन्दा उपयुक्त स्थल मानिन्थ्यो। दरबारमा क्रिकेट सिके पनि त्यहाँ कार्यरत थुप्रै कर्मचारी आफ्नो छुट्टै टोली बनाउन आतुर थिए। किनभने दरबारबाट खेल्दा आफ्नो उपस्थिति दरिलो नहुने र मौका पाउन पनि गाह्रो पथ्र्यो।
२००१ सालसम्म आइपुग्दा कल्याणमणि दीक्षित, त्रैलोक्यनाथ उप्रेती, शारदाभक्त पन्त, सिंह प्रताप शाह र कुमारमणि दीक्षितजस्ता प्रतिभा देखा परिसकेका थिए। यिनीहरूले नै आफ्नो छुट्टै टोली बनाएर यही साल सानो गौचरनमा भारतीय दुतावाससँग मैत्रीपूर्ण खेल खेलेका थिए। यी खेलाडीको दरबारबाहिरको यो पहिलो खेल थियो। यी खेलाडी सम्मिलित टोलीले पछि मदन शमशेरको टोलीसँग पनि दुइटा म्याच खेलेको थियो।
यसरी नै आफ्नो छुट्टै समूह बनाएर करिब २ बर्ष क्रिकेट खेलेका खेलाडीको समूहले २००३ सालमा एउटा क्लब स्थापना गर्ने निर्णय गर्यो। र, क्लबको नाम जुराइयो, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)। क्यान स्थापना इङ्ल्याण्डको चर्चित मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) को अवधारणाअन्तर्गत भएको थियो।
राणाहरूको टोलीविरूद्ध कडा प्रतिस्पर्धा गर्ने उद्देश्यले स्थापना भएको १२ सदस्यीय क्यानको संस्थापक अध्यक्ष थिए, सिंह प्रताप शाह। कुमारमणि महासचिव थिए। यस्तै, अन्य सदस्यमा त्रैलोक्यनाथ उप्रेती, शारदाभक्त पन्त, मुकुन्द शमशेर थापा, पिताम्बर शमशेर थापा, कल्याणमणि दीक्षित, बन्सीराम भण्डारी, द्धारिकानाथ रेग्मी, रेसमराज, नरेन्द्र राणा र तारादेव भट्टराई थिए।
क्यानको स्थापनाअघि कुमारमणिले आफ्ना पिताजीमार्फत त्यतिबेलाका चिफ साहेब मोहन शमशेरबाट स्विकृति लिएका थिए।
‘सुरुमा क्यान क्लबका रूपमा स्थापना भएको थियो। पछि मात्र यसले संघको मान्यता पायो’, क्यानका पूर्व महासचिव दामोदर सुवाल भन्छन्।
यस्तै, नेपाली क्रिकेटमा लामो समय सक्रिय शक्ति राणा सौखिन व्यक्तिहरू मिलेर क्यान गठन गरेको अहिले पनि सम्झन्छन्। २००७ सालमा प्रजातन्त्र आएपछि क्यानकै झन्डामुनी २००८ सालमा नेपाली खेलाडी देशबाहिर पहिलो क्रिकेट प्रतियोगिता खेल्न भारतको पटना पुगेको थियो। नरशमशेरको सक्रियतामा प्लेन चढेर पटना उडेको नेपालले पटना मेडिकल कलेज मैदानमा ४ वटा मैत्री खेल खेलेको थियो । यो प्रतियोगिता खेल्न क्यान टोलीलाई सरकारले पैसा उपलब्ध गराएको थियो ।
त्यतिवेला प्रतियोगिता खेलन जानुअघि आर्थिक सहयोग माग गर्दै क्यानका पदाधिकारी तथा खेलाडी तत्कालिन युवराज महेन्द्रकहाँ पुगेका थिए। यतिबेला चन्दाबापत ३–४ हजार रूपैयाँ पनि उठाइएको थियो।
नरशमशेरकै सक्रियतामा तीन बर्षपछि २०११ सालमा फेरि क्यान टोली कोलकातामा मैत्रीपूर्ण खेल खेलन गएको थियो। क्यान स्थापनापछि कल्याणमणि र कुमारमणि २००६ सालमा भएको पहिलो एसियन क्रिकेट कन्फ्रेन्समा भाग लिन भारतको कोलकाता पुगेका थिए। त्यो मिटिङमा नेपाललगायत भारत, पाकिस्तान, बर्मा, सिलोन (श्रीलंका) र मलेसिया समावेश थिए। क्लबका रूपमा दर्ता भएपनि क्यानले त्यतिबेला क्रिकेटरहरूलाई एकजुट पार्न सफल भएको थियो। त्यसैले २०१५ सालमा नेपाली खेलकुदलाई व्यवस्थित गर्न राष्ट्रिय खेलकुद परिषद् स्थापना हुँदा क्यानलाई क्रिकेटको आधिकारिक संस्थाको मान्यता दिइयो।
लोगोमा गैडा
नेपाल क्रिकेट संघ (क्यान) को लोगो गैडा हुनुमा रोचक कहानी जोडिएको छ। राणाहरूको दरबारबाहिर पनि क्रिकेट खेल्ने उद्देश्यले २००३ सालमा क्यानको स्थापना हुँदा यसको लोगो के राख्ने भन्ने विषयमा ठूलै बिचार बिमर्श भएको थियो। तर, तत्कालिन महासचिव कुमारमणि दीक्षितले गैडा राख्ने प्रस्ताव अघि सारेपछि सहजै स्विकृत भयो।
५ बर्षअघि ८९ बर्षको उमेरमा निधन हुनुअघि दिएको एउटा अन्तर्वार्तामा उनले ल्याटिन उपन्यासमा पढेको ‘राइनो अट्याक्ट इन द स्टम्प’ भन्ने बाक्यबाट आफूलाई क्यानको लोगोमा गैडा राख्ने प्रेरणा मिलेको बताएका थिए। ‘मैले गैडाले जस्तै क्रिकेटमा पनि अट्याक गर्ने स्टम्पलाई नै हो भन्ने तर्क राखेपछि पास भयो’, उनले अन्तर्वार्तामा भनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।