कठमाडौं– नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले दलका नेताको दाबाबका कारण बैंकहरुलाई स्थानीय तहमा कारोबार सञ्चालन गर्न समस्या परेको बताएका छन्।
नबिल बैंकका एकै पटक १२ शाखा स्थापनाको कार्यक्रममा डेपुटी गभर्नर शिवाकोटीले स्थानीय तहमा बैंकको शाखा खोल्न जाँदा राजनीति दलका नेताले आफ्ना मान्छे भर्ना गरिदिन दबाब दिने र नगरे शाखा स्थापना गर्न नदिनेसम्मका चेतावनी आउने गरेको बताए। उनले राष्ट्र बैंकले हिजो मात्र अर्थमन्त्रालयलाई बैंकलाई सुरक्षा दिनका लागि अनुरोध पत्र लेखेको बताए।
यता, स्थानीय राजनीतिक दलका नेताले आफ्ना कर्मचारी भर्ना गर्न बैंकलाई दबाब दिँदा रसुवाको आमाछोदिङ गाउँपालिकामा कुमारी बैंकले कारोबार सेवा बन्द गर्नुपरेको छ।
दुई महिनाअघि कारोबार सञ्चालनामा ल्याएको कुमारी बैंकमा दलका स्थानीय नेताले आफ्नो मान्छेलाई जागिर लगाउन दबाब दिँदा असार २९ देखि कारोबार सञ्चालन गर्न सकेको छैन। अहिले सुरक्षाको कारण उक्त स्थानमा कर्मचारी जान नसकेको राष्ट्र बैंकका प्रवक्ता नरायणप्रसाद पौडेलले नेपाल लाइभलाई बताए।
१५ स्थानीय तहमा बैंकिङ सेवा विस्तार गर्न कठिन
आर्थिक वर्ष २०७४/०७५ को अन्त्यसम्ममा १ सय ९७ स्थानीय तहमा मात्रै वाणिज्य बैंक पुगेको छ। यता, १५ स्थानीय तहमा बैंकको शाखा विस्तार गर्न कठिन रहेको प्रवक्ता पौडेलले बताए। भने, ‘१५ स्थानीय तहमा तत्काल शाखा विस्तार गर्न गह्रो छ भने अन्य स्थानीय तहमा छिट्टै शाखा विस्तार हुनेछन्।’
६ महिनाभित्र सबै स्थानीय तहमा बैंकले प्रादेशिक कार्यालय स्थापना गर्नुपर्नेछ।
नेपाल राष्ट्र बैंकले जारी गरेको चालू आर्थिक वर्ष (२०७५/०७६ ) को मौद्रिक नीतिले बैंकहरुले प्रादेशिक कार्यालय खोल्नुपर्ने व्यवस्था गरिसकेको छ। यसका लागि राष्ट्र बैंकले केही दिनमा सर्कुलर जारी गर्ने तयारी गरेको छ। बैंकहरुले आगामी ६ महिनाभित्र हरेक प्रदेशमा आफ्ना प्रादेशिक कार्यालयको व्यवस्था गर्नुपर्ने छ।
उक्त कार्यालयबाट हरेक प्रदेशको वित्तिय कारोबारको अवस्था थाह हुने डेपुटी गभर्नर शिवाकोटीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।