भैरहवा- रुपन्देहीमा समेत असारमा खर्च गर्ने परिपाटी अझै रोकिएको छैन। असारमा गरिने विकास निर्माणका काम गुणस्तरीय नहुने भन्दै चौतर्फी आलोचना भए पनि असारमा खर्च गर्ने परिपाटी नरोकिएको तथ्यांकले देखाएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४/०७५ असार महिनामा मात्रै झन्डै ३ अर्ब पुँजीगत (विकास) बजेट खर्च गरिएको छ। असार माहिनामा मात्रै सबैभन्दा बढी खर्च गर्ने सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, डिभिजन सडक कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लगातयत कार्यालय/आयोजनाहरु रहेका छन्।
यसका साथै चालु र पुँजीगत गरी कुल २ अर्ब बढी बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीले जनाएको छ।
असारमा मात्रै २ अर्ब ८० करोड ४७ लाख एक हजार ७ सय ९८ रुपैयाँ पुँजीगत बजेट र चालु तथा पुँजीगत तर्फ गरी कुल २ अर्ब ८ करोड ८१ लाख ३१ हजार एक सय ८२ रुपैयाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीका प्रमुख मतिप्रसाद भुसालले बताए।
पुँजीगततर्फ ठूला विकासे अड्डाहरुले समयमा बजेट खर्च गर्न नसक्दा २ अर्ब बढी बजेट फ्रिज भएको हो। कार्यालयका अनुसार कुल बजेट २१ अर्ब ८२ करोड १० लाख ७३ हजार ६७ रुपैयाँ रहेकोमा १९ अर्ब ७३ करोड २९ लाख ४१ हजार ८ सय ८५ रुपैयाँ खर्च भएको छ। खर्च भएको बजेट बजेटको कुल ९० दशमलव ४३ प्रतिशत रकम हो।
आव ०७४/०७५ मा पुँजीगततर्फ ८ अर्ब २ करोड ९६ लाख ६६ हजार ३ सय रुपैयाँ बजेट विनियोजना भएकोमा ६ अर्ब ८१ करोड एक लाख ४० हजार ३ सय २७ रुपैयाँ खर्च भएको प्रमुख भुसालले बताए। यो पुँजीगत बजेटको ८४ दशमलव ८१ प्रतिशत खर्च हो। त्यस्तै उनले चालुतर्फ कुल १३ अर्ब ७९ करोड १४ लाख ६ हजार ७ सय ६७ रुपैयाँ बजेट विनियोजन भएकोमा १२ अर्ब ९२ करोड २८ लाख एक हजार ५ सय ५७ रुपैयाँ खर्च भएको बताए।
जिल्लामा भएको खर्च सन्तोषजनक रहेको र विस्तारै समयमा खर्च गर्ने परिपाटीको विकास हुँदै गएको उनले बताए। गत आव ०७३/०७४ मा पुँजीगततर्फ ८ अर्ब ९१ करोड २९ लाख ४५ हजार ७१ रुपैयाँ विनियोजन भएकोमा ६ अर्ब ७० करोड ४० लाख ८ हजार ४ सय ९ रुपैयाँ खर्च भएको थियो। चालुतर्फ कुल ११ अर्ब ९२ लाख ४७ हजार ६ सय ४५ रुपैया बजेट बिनियोजन भएकोमा ८ अर्ब ७९ करोड ५३ लाख ८९ हजार ७ सय ३५ रुपैया खर्च भएको थियो।
राजस्व संकलनमा वृद्धि
रुपन्देहीमा आर्थिक वर्ष ०७४/०७५ मा राजस्व संकलन वृद्धि भएको छ। कार्यालयका अनुसार राजस्व संकलन १३ दशमलव १८ प्रतिशतले वृद्धि भएको हो।
०७४/०७५ मा ९० अर्ब ३६ करोड ६५ लाख २५ हजार ८ सय ६२ रुपैयाँ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीकी सूचना अधिकृत मञ्जु पन्थीले बताइन्। गत आव ०७३/०७४ मा ७९ अर्ब ८३ करोड ६९ लाख ६७ हजार ५ सय ७९ रुपैयाँ राजश्व संकलन भएको थियो।
राजश्व संकलन गर्नेमध्ये सबैभन्दा बढी आन्तरिक राजस्व कार्यालय भैरहवा रहेको छ। उसले ०७४/०७५ मा ४९ अर्ब ८६ करोड ९१ लख ४२ हजार रुपैयाँ राजस्व संकलन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।