काठमाडौं- नेपालमा सञ्चालन भइरहेका पूर्वाधार विकास निर्माणका आयोजनाहरुले आयोजना निर्माणका क्रममा चालु खर्चलाई धान्न अल्पकालीन सुविधा आवश्यक परेमा विदेशबाट सापटी ल्याउन पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १० ख ले दिएको अधिकार प्रयोग गरी उक्त व्यवस्था लागू भएको हो।
यस्ता छन् विदेशबाट सापटी ल्याउँदाका सर्तहरु
१. यस्तो सापटी परियोजना निर्माण गर्न चालु खर्च धान्ने प्रयोजनको लागि मात्र प्राप्त गरेको हुनुपर्नेछ।
२. यस्तो सापटी सामान्यतया १ वर्षभन्दा कम अवधिको हुनुपर्नेछ।
३. यस प्रकारको सापटी निर्ब्याजी प्राप्त गरेको हुनुपर्नेछ।
४. परियोजनाको मुख्य कम्पनीमार्फत मात्र यस्तो सापटी लिन पाइनेछ।
५. सापटी रकम बैंकिङ प्रणालीमार्फत प्राप्त गरेको हुनुपर्नेछ।
६. रकम भित्र्याएको १५ दिनभित्र सापटी दिने र लिनेबीच भएको सम्झौताको प्रमाणित प्रतिलिपि, Swift Message र बैंक स्टेटमेन्टसहित यस विभागमा सापटी रकमको अभिलेख गराउनुपर्नेछ।
७. रकम ल्याउँदा र फिर्ता पठाउँदा सम्बन्धित परियोजनाको सिफारिसपत्र पेस गर्नुपर्नेछ।
८. यस्तो रकम फिर्ता लैजानुपर्दा जुन संस्था र मुलुकबाट रकम प्राप्त भएको हो सोही संस्था र मुलुकमा फिर्ता हुने गरी यस बैंकले अभिलेख गरेको कागजातको सक्कलपत्र लिई ती कागजातका आधारमा बैंक तथा वित्तीय संस्थाले फिर्ता पठाउन सटही दिन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।