काठमाडौं– अघिल्लो स्थानीय तह निर्वाचनमा दुई नगरपालिका र एक गाउँपालिका जितेको नेकपा एमालेले यसपटक एक नगरपालिका र दुई गाउँपालिका जितेको छ।
२०७४ को स्थानीय निर्वाचनमा सदरमुकामसमेत रहेको भेरी नगरपालिकाका साथै छेडागाड नगरपालिका र शिवालय गाउँपालिका जितेको थियो। तर, यसपटक एमालेले छेडागाड नगरपालिका र शिवालय गाउँपालिका गुमाएको छ। भेरी नगरपालिकामा जित यथावत् राख्दै अघिल्लोपटक हार बेहोरेका जुनीचाँदे र बारेकोट गाउँपालिकामा भने हत्याएको छ।
यसपालि एमालेले गुमाएको छेडागाड नगरपालिकामा कांग्रेस–माओवादी गठबन्धन थियो। त्यहाँ कांग्रेसका रत्नबहादुर खड्का मेयर र माओवादी केन्द्रका चन्द्रबहादुर थापा उपमेयर निर्वाचित भए। खड्का अघिल्लोपटक एमालेका लालबहादुर महतारासँग पराजित भएका थिए। खड्काले यसपालि उनै महतारालाई पराजित गरे।
अघिल्लो निर्वाचनमा महताराले ५ हजार १३६ मत पाउँदा खड्काले ४ हजार ३४७ मत पाएका थिए। यसपटक खड्काले ९ हजार १७३ मत ल्याए भने महताराले ५ हजार ५३७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसपटक छेडागाडको उपमेयर निर्वाचित भएका माओवादीका थापा अघिल्लोपटक मेयरमा पराजित भएका थिए। अघिल्लोपटक तेस्रो भएका उनले २ हजार ६६८ मत पाएका थिए। तर, यसपटक उपमेयरमा ७ हजार ९६८ मतसहित निर्वाचित भए। उपमेरमा पराजित एमालेकी उम्मेदवार अञ्जुकुमारी थापाले ६ हजार ३१ मत ल्याइन्। अघिल्लोपटक छेडागाडमा उपमेयर पनि एमालेले नै जितेको थियो। एमालेकी सरिता वली ५ हजार १४७ मतसहित निर्वाचित भएकी थिइन्।
एमालेले यसपटक नेतृत्व गुमाएको शिवालय गाउँपालिकामा पनि कांग्रेस–माओवादीको गठबन्धन थियो। जहाँ कांग्रेसका शेरबहादुर शाही ३ हजार ३०३ मतसहित गाउँपालिका अध्यक्ष निर्वाचित भए। उनका निकटम प्रतिद्वन्द्वी एमालेका रंगनाथ योगीले २ हजार ७१८ मत पाए।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गीता शाही २ हजार ६५९ मतसहित निर्वाचित भइन्। उनकी प्रतिस्पर्धी एमालेकी नैनसरा शाहीले २ हजार ४२९ मत पाइन्।
यो गाउँपालिकामा अघिल्लोपटक अध्यक्ष, उपाध्यक्ष एमालेले नै जितेको थियो। त्यतिबेला अध्यक्षमा नरेन्द्रकुमार शाही २ हजार ७३ र उपाध्यक्षमा कुमारी थापा २ हजार ६३ मतसहित निर्वाचित भएका थिए।
यसपटक एमालेले दुई गाउँपालिकामा पहिलो जित निकाल्यो। जिल्लाको जुनीचाँदे गाउँपालिकामा एमालेमा वेदबहादुर शाही ३ हजार ४४४ मतसहित अध्यक्ष निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी शिवा आचार्यले ३ हजार ८८ मत पाइन्। आचार्य निवर्तमान उपाध्यक्ष हुन्।
शाही अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका कृष्णबहादुर केसीसँग पराजित भएका थिए। त्योबेला शाहीले २ हजार २७४ मत पाएका थिए भने केसीले २ हजार ७७० मत पाएका थिए।
यसपटक जुनीचाँदेको उपाध्यक्षमा नेपाली कांग्रेसका वीरेन्द्रबहादुर शाही निर्वाचित भए। उनले ३ हजार ७१४ मत पाए। उनका निकटतम प्रतिस्पर्धी एमालेकी अम्बा कुमारी शाहीले २ हजार ८११ मत पाइन्।
यस्तै, बारेकोट गाउँपालिका पनि एमालेले नजिता उल्ट्याएको छ। अघिल्लो निर्वाचनमा कांग्रेसका महेन्द्रबहादुर शाह २ हजार १४८ मतसहित अध्यक्ष निर्वाचित भएका थिए। अध्यक्षमा एमाले तेस्रो भएको थियो।
तर, यसपटक भने एमाले जाजरकोटका सचिव समेत रहेका वीरबहादुर गिरी गाउँपालिकाका निवर्तमान अध्यक्ष शाहलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भए। गिरीले ३ हजार ९५४ मत ल्याउँदा शाह ३ हजार ८४५ मतमा समेटिए।
अघिल्लोपटक उपाध्यक्ष जितेको माओवादी केन्द्रले यसपालि पनि त्यसलाई निरन्तरता दिएको छ। अघिल्लोपटक माओवादी एक्लै चुनावमा गएको थियो भने यसपटक कांग्रेससँग तालमेल गरेको थियो। अघिल्लोपटक माओवादी केन्द्रकी ओमा शाही २ हजार २२४ मतसहित उपाध्यक्ष निर्वाचित भएकी थिइन्। अहिले माओवादी केन्द्रका नरबहादुर गिरी ३ हजार ६६३ मतसहित निर्वाचित भए। एमालेकी गीता सिंहले ३ हजार ४०२ मत पाइन्।
अघिल्लोपटक मेयर र उपमेयर दुवैमा जित निकालेको एमालेले यसपटक भेरी नगरपालिकामा उपमेयर भने गुमाएको छ। मेयरमा निवर्तमान मेयर चन्द्रप्रकाश घर्ती नै निर्वाचित भएका छन्। उनले ५ हजार २१० मत पाए भने कांग्रेस–माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका गगनबहादुर खड्काले ४ हजार १८८ मत पाए। भेरीमा एमाले र एकीकृत समाजवादी एक्लाएक्लै चुनावमा गएका थिए। एकीकृत समाजवादीको तर्फबाट मेयरमा उम्मेदवारी दिएका कमानबहादुर खड्काले ३ हजार ७८८ मत पाए।
उपमेयरमा कांग्रेसकी सीता जैसी ६ हजार ४६८ मतसहित निर्वाचित भइन्। उनकी निकटतम प्रतिस्पर्धी एमालेकी सावित्री चन्दले ५ हजार ६०३ मत पाइन्।
अघिल्लोपटक मेयरमा एमालेका घर्ती ४ हजार २९२ मतसहित निर्वाचित भएका थिए। घर्तीसँग पराजित कांग्रेसका सनतकुमार कार्कीले ३ हजार ७८७ मत पाएका थिए। उपमेयरमा निर्वाचित एमालेकी भावना भण्डारीले ४ हजार १६२ मत पाएकी थिइन् भने निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी कृष्णा शर्माले ३ हजार ५०४ मत पाएकी थिइन्।
अघिल्लोपालि दुई गाउँपालिका जितेको कांग्रेसले यसपटक भने एक गाउँपालिका गुमायो। एक गाउँपालिकामा जित यथावत राख्यो। जिल्लाको कुसे गाउँपालिकामा कांग्रेसका हरिचन्द्र बस्नेत अध्यक्ष निर्वाचित भए। उनले ३ हजार ४२३ मत पाए भने नेकपा एकीकृत समाजवादीका तप्तबहादुर हमालले ३ हजार १८२ मत पाए। यहाँ एकीकृत समाजवादी र माओवादी केन्द्रको चुनावी तालमेल थियो। यो पालिका प्रमुखमा तेस्रो भएको एमालेले एक हजार ४९६ मत पायो। बस्नेत अघिल्लो निर्वाचनमा पनि निर्वाचित भएका थिए।
उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै देविका सिंह निर्वाचित भइन्। उनले ३ हजार ५८७ मत ल्याइन्। माओवादी केन्द्रका विकाश रोकायले २ हजार ९१८ र एमालेकी टीका वलीले एक हजार २०८ मत ल्याइन्।
अघिल्लो निर्वाचनमा अध्यक्षमा कांग्रेसका बस्नेत २ हजार ५०८ र उपाध्यक्षमा कांग्रेसकै रामछाया कुमारी शाही २ हजार ३७८ मतसहित निर्वाचित भएका थिए।
अघिल्लो निर्वाचनमा एक नगरपालिका र एक गाउँपालिका जितेको माओवादी केन्द्र यसपटक एक नगरपालिकामा खुम्चिएको छ। अघिल्लो निर्वाचनमा जुनीचाँदे गाउँपालिका र नलगाड नगरपालिकाको प्रमुख, उपप्रमुख जितेको माओवादीले यसपटक नलगाड नगरपालिकाको प्रमुख मात्र जितेको छ। नलगाडमा कांग्रेस–माओवादीको गठबन्धन थियो।
नलगाडको मेयरमा माओवादी केन्द्रका डम्मरबहादुर रावत ५ हजार ५९९ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीले ३ हजार ६२६ मत पाए।
उपमेयरमा कांग्रेसकी सरिता सिंह ५ हजार ४०६ मतसहित निर्वाचित हुँदा एमालेकी सुनिता बोहोराले ३ हजार ३९३ मत पाइन्। बोहोरा अघिल्लोपटक पनि उपमेयरमा चुनाव लडेकी थिइन्। त्यसबेला उनले २ हजार ६२३ मत ल्याएर तेस्रो बनेकी थिइन्।
अघिल्लो निर्वाचनमा नलगाडको मेयरमा माओवादी केन्द्रका टेकबहादुर रावल ३ हजार ४१८ र उपमेयरमा बालकुमारी बस्नेत ३ हजार २४१ मतसहित निर्वाचित भएका थिए।
कुन पालिकामा कसले कति वडा जिते?
भेरी नगरपालिका
नेकपा एमाले– २
नेपाली कांग्रेस–७
नेकपा माओवादी केन्द्र– ४
एकीकृत समाजवादी–०
स्वतन्त्र–०
नलगाड नगरपालिका
नेकपा एमाले– ३
नेपाली कांग्रेस–४
नेकपा माओवादी केन्द्र– ५
एकीकृत समाजवादी– ०
स्वतन्त्र–१
छेडागाड नगरपालिका
नेकपा एमाले– ४
नेपाली कांग्रेस–४
नेकपा माओवादी केन्द्र–४
एकीकृत समाजवादी–१
स्वतन्त्र–०
बारेकोट गाउँपालिका
नेकपा एमाले– ४
नेपाली कांग्रेस–३
नेकपा माओवादी केन्द्र–१
एकीकृत समाजवादी–०
स्वतन्त्र–१
कुसे गाउँपालिका
नेकपा एमाले– ०
नेपाली कांग्रेस–४
नेकपा माओवादी केन्द्र–२
एकीकृत समाजवादी– १
स्वतन्त्र–२
शिवालय गाउँपालिका
नेकपा एमाले– २
नेपाली कांग्रेस–५
नेकपा माओवादी केन्द्र–२
एकीकृत समाजवादी–०
स्वतन्त्र–०
जुनीचाँदे गाउँपालिका
नेकपा एमाले– ३
नेपाली कांग्रेस–२
नेकपा माओवादी केन्द्र–६
एकीकृत समाजवादी–०
स्वतन्त्र–०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।