काठमाडौं– नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षका लागि पुँजीबजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
बोर्डले आगामी आर्थिक वर्षका लागि सेयर बजारमा लगानीकर्ताको व्यापक सहभागिता गराउने उद्देश्य राखेको बोर्ड अध्यक्ष रेवतबहादुर कार्कीले बताए। उनले बोर्डले बजारको नियमनमा कडाइ गर्दै बजारको विकास र विस्तारका लागि एक नेपाली एक डिम्याट खाता अभियान सञ्चालन गर्ने जानकारी दिए।
त्यस्तै, आगामी आर्थिक वर्षका लागि बोर्डले सार्वजनिक गरेको धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रममा धितोपत्र तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने उल्लेख छ।
बोर्डले आगामी आर्थिक वर्षमा रियल स्टेट क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा प्रवेश गराउने विशेष नीति लिएको छ। यसका लागि सरोकारवाला निकायसँग आवश्यक कारबाही अगाडि बढाउने योजना समेत बनाएको नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्तै, बोर्डको संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्न, सुपरिवेक्षण व्यवस्थामा सुधार, बजार सहभागीहरुको व्यावसायिकता तथा स्तर अभिवृद्धि गर्ने जनाइएको छ।
साथै, बोर्डले आगामी वर्ष धितोपत्र व्यवसायीहरुको वर्गीकरणलाई अघि बढाउने योजना पनि राखेको छ। नीति तथा कार्यक्रममा नागरिक लगानी कोषलाई सहायक कम्पनीका रुपमा स्थापना गरी संस्थागत लगानीकर्ता तथा बजार निर्माताका रुपमा पुँजी बजारमा सक्रिय बनाउन आवश्यक सहजीकरण गर्ने उल्लेख छ।
मर्चेन्ट बैंकिङ व्यवसायीलाई १५ प्रतिशत मात्रै सार्वजनिक निष्कासन गरी पब्लिकमा जान सक्ने व्यवस्था गर्ने जनाइएको छ। प्रिमियमसहितको सार्वजनिक सेयर निष्कासन गर्ने क्रममा मागका आधारमा मूल्य निर्धारण हुने व्यवस्थाका लागि आवश्यक बुक बिल्डिङ सिस्टम लागू गर्न आवश्यक अध्ययन गर्ने पनि नीति तथा कार्यक्रममा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।