स्थानीय तहको निर्वाचनमा सबैको चासो र चर्चामा रहेका महानगरमध्ये ललितपुर पनि एक हो। अघिल्लोपटक ललितपुर महानगरपालिकामा एमाले झिनो मतान्तरले पराजित भएको थियो। नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ३२६ मात्रै बढी मत ल्याएर विजयी भएका थिए। यसपटक पनि कांग्रेसबाट चिरिबाबु पुन: उम्मेदवार बन्ने पक्का–पक्की जस्तै छ भने एमालेले पनि २०७४ सालमा झिनो मतान्तरले पराजित भएका हरिकृष्ण व्यञ्जनकारलाई उम्मेदवार बनाउन सर्वसम्मतीबाट सिफारिस गरिसकेको छ।
२०७४ सालमा कांग्रेस र एमालेबीच 'एक्ला–एक्लै' प्रतिस्पर्धा भएको थियो। यसपटक भने कांग्रेसलाई सत्ता गठबन्धनका अन्य दल (माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चा)को साथ हुनेछ। ५ दलीय गठबन्धनका 'बलिया' उम्मेदवारसँग प्रतिस्पर्धा गर्न लागेका एमालेका व्यञ्जनकारको चुनावी तयारी, जित हासिल गर्ने रणनीति र चुनावी अजेण्डाबारे नेपाल लाइभका लागि पुष्पा केसीले गरेको कुरकानी:
निर्वाचन नजिकै आइसकेको छ, कत्तिको व्यस्तता बढेको छ?
हामी सधैं व्यस्तै हुन्छौँ, कार्यक्रमको मोडेल मात्रै फरक हुन्छ। कहिले पार्टी बनाउने अभियानमा, कहिले चुनावको अभियानमा, कहिले संगठनको अभियानमा– हामी व्यस्त हुन्छौँ, भइरहहेका हन्छौँ। अहिले चाहिँ चुनावको अभियानमा व्यस्त छौँ।
चुनावी अभियानको र अरु बेलाको अभियानमा के फरक हुँदो रहेछ?
चुनावी अभियानमा निश्चित समय हुन्छ, यति समयभित्र चुनाव हुन्छ भन्ने कुरा हुन्छ। जनता र कार्यकर्ताबीच जानुपर्ने हुन्छ। अनि अरू अभियानमा चाहिँ कार्यकर्ता बीचमा मात्रै जानुपर्ने हुन्छ।
तपाईं अघिल्लो निवार्चनमा झिनो मतान्तरले मेयरमा पराजित हुनुभयो। ललितपुर महानगरपालिकाका लागि फेरि टिकट पाउनुभयो। समीक्षा त गर्नुभएकै होला हैन, अघिल्लोपटक जित निकाल्न के कुराले चुक्नुभएको रहेछ?
अघिल्लो पटकको निर्वाचनमा हाम्रा धेरै कमी, कमजोरी, गल्तीहरू भए। हामीले सुरुमै नेतृत्वलाई ललितपुर महानगर जित्छौँ भनेर कन्भिस् गर्न सकेनौँ, पहिलो कुरा। त्यसो भएका कारण राप्रपासँग तालमेल गर्ने काम भयो। जसले गर्दा हाम्रो उपमेयरमा उम्मेदवार नउठे पनि उहाँले तेह्र हजार भोट ल्याउनु भयो। अर्को, राप्रपाको उम्मेदवारले १० हजार बढी भोट ल्याउनुभयो। उम्मेदवार नभएपछि १० हजार मात्रै हाम्रो कायम भयो। त्यो कारणले गर्दा मेरो भोट पनि घट्यो र २२ नम्बर वडामा पनि हामीले हार्नु पर्यो। हामीले पोलिङ एजेन्टको प्रशिक्षण पनि दिन सकेनौँ। हामीले काउन्टिङ एजेन्टको प्रशिक्षण दिन सकेनौँ। र त्यो बेला नयाँ नगर गठन भएको थियो, वडाहरू पनि मर्ज भएको थियो। जस्तै ११ र १२ मर्ज भएर १२ नम्बर वडा बन्यो। दुईटा वडा थियो त्यहाँ एउटाले टिकट पायो, अर्कोले नपाउने भएपछि चुप लागेर बस्यो होला। अर्को २० र २१ मर्ज भएर २० बन्यो। मलाई भोट कम आएको भनेको १६, १२ र २० हो। त्यहाँ अलिकति मतान्तार फरक रह्यो। अरु ठाउँमा मेरो राम्रो नै भयो। २५ नम्बर वडासम्म जितिएकै हो। तर २६, २८ र २९ मा कम हुँदाखेरी त्यो ३०० मतको कारणले गर्दाखेरी म हार्न पुगेको हो।
त्यो कमजोरी अहिले पनि छ कि सुधार्नुभयो?
अहिले नेतृत्व कन्भिन्स् भएको छ, ललितपुर जित्ने ठाउँ रहेछ भनेर। दोस्रो कुरो अहिले हामी पोलिङ एजेन्टलाई प्रशिक्षण दिँदै छौँ। हामीले अहिले मर्ज भएका वडाहरूमा रहेका विवादहरूलाई समाधान गरेका छौँ। २५ ओटा गल्तीहरू भएका थिए, त्यतिबेला एउटा मात्रै सच्चाएको भए जित्थ्यौँ। अहिले हामी लगभग सबै समस्याहरू समाधान गर्ने तहमा पुगेका छौँ। पहिले पनि हामीले जितेकै हौँ। कर्मचारीहरूले टोटल मिस्टेक गरेर हामीलाई हराइदियो। मिस्टेक भनेको जानीजानी गरेको रहेछ। ४ नम्बर वडामा ११२ भोट बदर भयो। ११२ भोट त मिस्टेक नहुनुपर्ने हो। एउटा वडामा १२८ भोटको फरक छ, त्यो पनि जानीजानी गरेको हो। कुनै वडामा ४५, कुनैमा ४३ गरी मिस्टेक गरेको छ उनीहरूले। त्यो भनेको जानीजानी गरेको हो।
त्यो अहिले आएर अनुभूति गर्नुभयो कि पहिले नै थाहा थियो?
त्यो बेला प्रमाण हामीसँग थिएन। हामीले कराएको पनि हो, सबै गरेको पनि हो। हामी उच्च अदालतमा जाँदा प्रमाण मागेपछि हामीले निर्वाचन आयोगको छाप लगाएको दियौँ र न्यायाधीशले हेर्नुभयो र महसुस गर्नुभयो। तर के कारणले हो, पछि मुद्दामा हार्यो भनेर उहाँले रिट खारेज गर्नुभयो।
यसपटक त गठबन्धन दलका साझा उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। अघिल्लो पटकको हारको समीक्षा गरेर अहिले जितिन्छ होला त?
अहिले गठबन्धनसँग डराउनुपर्ने अवस्था छैन। किन डराउने? शेरबहादुरजीले नै भन्दै हुनुहुन्छ कि एमालेसँग एक्लै लड्न सकिँदैन भनेर। डर त उहाँहरूलाई छ। कमजोर भएकाहरूले गठबन्धन गर्ने हो। हामीले भनेका छौँ कि ५ दलहरू गठबन्धन गरेर आए पनि हामी मुकाबला गर्न तयार छौँ। हाम्रो आधारहरू मैले यहाँ प्रस्तुत गरेको छु। पहिला हामी धेरै ठाउँमा १०० भोटले हारेका छौं। त्यो बेला माओवादी अलिकति बलियो स्थानमा थियो, अहिले धेरै माओवादीहरू हामीकहाँ आइसके। ५–६ हजार माओवादीहरू हामीसँग आइसके। त्यो हिसाबले हेर्दा त हामी अहिले धेरै माथि छौं।
चुनावमा पार्टी छाड्ने र प्रवेश गर्ने क्रम त चलिरहन्छ। त्यसले चुनाव जित्न सहज हुन्छ र?
हामी त्यत्तिकै पार्टी प्रवेश गराउँदैनौँ। हामी जिम्मेवारी दिएर मात्रै पार्टी प्रवेश गराउछौँ। हामीले कसैलाई युवा संघमा, कसैलाई महिला संघमा गरी विभिन्न जिम्मेवारीहरू दिएका छौँ।
अरु आधार के–के हुन्, यत्तिकैमा जित्नुहुन्छ तपाईंहरू?
त्यस्तो हैन, जनताले हेरिसक्यो कि अगाडिको मेयरले कस्तो काम गरेको छ भनेर। पार्टीको नगर कमिटीको सचिव भएर ०४९ सालदेखि नगरमा काम गर्दै आएको हो म। ०६१ सालपछि चुनाव नहुँदा पार्टीमा धेरै कामहरू गरेँ। मैले २९ वडाहरूमा गएर सबै जनताहरूलाई भेटेको छु, हेरेको छु। म पहिला पनि ३२६ मतले मात्रै हारेको हुँ। हारेको हैन, हराइएको हो। अब त्यो बेला मैले भने नि २५ ओटा मिस्टेक भएका थिए, एउटा मात्रै सच्याइएको भए हामी जित्थ्यौँ। अहिले हामीले ती सबै समस्याहरूलाई निमिट्यान्न पारेका छौँ।
अहिले जनताले पनि म विकासप्रेमी हुँ भन्ने कुरा बुझिसके। मैले पहिले नै गरेका विकासका कामहरू छन्। च्यासलको श्रमिक शान्ति स्कुलको प्रधानाध्यापक भएँ। मैले शिक्षा र विकाश निर्माणका सवालमा धेरै कामहरू गरेको छु। त्यसैले मलाई जनताहरूले विकासप्रेमी नेता भनेर चिनेका छन्। म ०७० सालमा पार्टीको अध्यक्ष भएपछि पार्टी कार्यालय पनि बनाए। म जहाँ जहाँ गएको छु त्यँहा राम्रो कामहरू गरेको छु। अधिकांश जनताले मलाई चिन्छन्। मलाई अनुहार हेरेर नचिने पनि हरिकृष्ण व्यञ्जनकार (नाम) भनेपछि 'तपाईं हो?' भनेर भन्छन् सबैले। त्यस हिसाबले जनतासँगको सम्बन्ध पनि राम्रो छ मेरो। मैले अहिलेसम्म कुनै नराम्रो खोट छोडेको छैन।
त्यो त तपाईंको गणतीय हिसाब भयो। तर, गठबन्धन पनि अहिले चुनौती छ। त्यसमाथि अजेण्डाको पनि कुरा होला। चुनावमा जित निकाल्न, अरुभन्दा फरक हौं भन्न, मतदातालाई आश्वस्त पार्ने खालका अजेण्डाहरू के–के हुन् तपाईंका?
चुनौती त सबै ठाउँमा हुन्छ। म यहाँ आउँदा पनि चुनौतीको सामना आएको हुँ, बाटोमा जाम हुन्छ, डिस्टर्ब हुन्छ। जाँदा पनि त्यस्तै हुन्छ। चुनौती प्रत्येक पलमा हुन्छ। तर, एउटा कुरा के हो भने मान्छेले मान्छेलाई कसरी चिन्छन् त? कुनै मान्छेको विगत हेरेर पनि काम गर्ने र नगर्ने थाहा हुन्छ। कुनै पनि मान्छको गरेको कामको उदाहरण नभइकन त्यो मान्छेनाई विश्वास गदैन। त्यसकारण हामीसँग धेरै वटा भिजनहरू छन्। हामी ललितपुर महानगरलाई एउटा समृद्ध सांस्कृतिक नगर बनाउन चाहन्छौँ। ललितपुर महानगर भनेको त्यत्तिकै सांस्कृतिक नगरी हो, त्यहाँ रथ जात्रा, गठ जात्रा, मान्छे जात्रा, गाइ जात्रा, घोडे जात्रा आदि सबै जात्राहरू र विविध किसिमका तान्त्रिक नाचहरू पनि छन्। मलाई जहाँसम्म लाग्छ ललितपुर महानगर विश्वकै सांस्कृतिक नगरीहरूमध्ये एक महत्वपूर्ण नगरी हो। सबैभन्दा लामो फेस्टिबल मछिन्द्रनाथको जात्रा लगायत अरु नाचहरू पनि यहीँ हुन्छन्। पहिले जुन पुरानो नगरपालिका हुँदा थियो, अहिले थपिएका क्षेत्रहरूले झन् सांस्कृतिक नगरीको क्षेत्र बढाएको छ।
ललितपुरको अर्को चिनारी भनेको हस्तकला पनि हो। हस्तकलाको प्रवर्द्धनको लागि एउटा क्याम्पस खोल्ने काम सुरु भइसकेको छ। ललितपुर नेपालकै हस्तकलाका केन्द्र हो, अरनिको यहीँ जन्मेको हो। उहाँको पालादेखि हस्तकलाको विकास हुँदै आएको छ। विकास निर्माणको कुरा गर्दा हामीले जितेमा ५ वर्षभित्र सबै सडकहरू पक्की बनाइने छ, खानेपानी र रोजगारीको कुनै समस्या हुने छैन। हामी २० ओटा समूहहरूलाई ५ लाखका दरले विभिन्न कामहरू गर्न निर्व्याजी ऋण दिने छौँ। प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका बजेटमा थपेर पनि दिनेछौँ र बजेटको उचित व्यवस्थापन गर्नेछौँ। ढल व्यवस्थापन र कृषिको व्यवसायीकरण र आधुनिकीकरणमा पनि हामी जोड दिनेछौँ। समग्रमा जनताको जीवनलाई सहज बनाउने काम गर्ने छौँ।
तपाईंले फेरि किन मेयरमै उठ्ने रहर गर्नुभयो त, मेयरभन्दा माथिल्लो पदहरूमा पनि उठ्न सक्नुहुन्थ्यो होला नि?
सांसद् हुनुहोस् भन्ने साथीहरूको आग्रह पनि छ। तर म क्रियाशील स्वभावको भएकाले एउटा कार्यकारी पदमा बसेर काम गर्न खोजेको हो।
महानगरको नेतृत्व गरिररहेको दलले आफूहरूको पालामा ललितपुरमा राम्रो काम भएको दाबी गर्दै आएको छ। तपाईं प्रतिपक्षी भएर हेर्दा यो ५ वर्षमा के–के राम्रा कामहरू भए र के के गर्न बाँकी देख्नुभयो?
(हाँस्दै)... जनताले अहिलेसम्म यो काम राम्रो भयो भनेर भनेको मैले सुनेको छैन। मैले हुन्न भन्दा भन्दै कुपण्डोलदेखि थापाथलीसम्म फ्ल्याइओभर बनाउने काम भयो। समस्या त्यस्तै छ। म विरोध गर्न चाहन्नँ, तर एउटा इनामेलले कोर्दैमा साइकल लेन हुन्छ? गाडी, बाइक सबै त्यहीँ माथि हिँडेको छ। सस्तो लोकप्रियताका लागि मात्रै सडकमाथि इनामेलले पोतेको छ।
५ वर्षमा केही पनि भएको देखिएन ?
सडक पिच गर्ने काम भएको होला, त्यो त पैसा भएपछि यत्तिकै भइहाल्छ नि।
भूकम्पपछिको पुन:निर्माणको काममा कत्तिको सफलता मिल्यो?
यसको सबै कामहरू त पुन:निर्माण प्राधिकरणले गरेको छ। भिमसेन मन्दिरको काम निजी व्यापारीहरूले मेरो पहलमा गरे। अरु त सबै प्राधिकरणले नै गर्यो। केही कामहरू भएका होलान्। तर, त्यतिलाई हामी काम मान्दैनौँ। मध्यपुर थिमीका मेयर सुन्दर श्रेष्ठले यति राम्रो काम गर्नुभएको रहेछ कि पुरानो पोखरीहरूलाई सफा गरेर राति पनि झिलिमिलि हुनेगरी बत्तीहरू राख्नुभएको रहेछ। उहाँले धेरै राम्रो कामहरू गर्नुभएछ। काम भनेको त्यसरी देखाउन सक्नुपर्यो नि, त्यत्तिकै भनेर मात्रै हुँदैन। सडक पिच गर्नु ठूलो काम होइन, त्यसको वरिपरिको ठाउँ अनि धुलोहरू पनि हेर्नुपर्यो नि। उचित तरिकाले पिच नभएको जनताहरूले भनिरहेका छन्। म तपाईंलाई नै सोध्छु के राम्रो काम भएको देख्नुभएको छ तपाईंहरूले?
ललितपुर काठमाडौं उपत्यकाको एक महत्वपूर्ण हिस्सा मानिन्छ, विकाशका हिसाबले काठमाडौं, ललितपुर र भक्तपुरबीच अन्तरनगर समन्वय कसरी हुनुपर्छ जस्तो तपाईंलाई?
मलाई उपत्यकाको नगरपालिकाहरूको एउटा बोर्ड हुनुपर्छ जस्तो लाग्छ। जसले समानुपातिक ढङ्गले विकासका मोडेलहरू ल्याउने गर्नुपर्दछ। ठाउँअनुसार हरित नगरी, सांस्कृतिक नगरी गरी विभिन्न नगरीहरू बनाउन सक्छौँ। हामी पार्टीका साथीहरूसँग पनि कुरा गरिरहेका छौँ। यसो गर्दा विकासले गति पनि लिन्छ र समानुपातिक विकास पनि हुन्छ।
महानगर एक शक्तिशाली निकाय पनि हो। त्यसको प्रभाव थप बढाउन संघीय सरकारबाट के–के अपेक्षा राख्न सकिन्छ?
पहिलो कुरा महानगरको क्षमता बढाउनु पर्यो। विदेशमा जस्तै गरी खानेपानी, विद्युत्, ढल, टेलिफोन आदिका कुरा महानगरले जिम्मा लिने हुनुपर्यो। यसो गर्दा अव्यवस्थित विकाशमा न्यूनीकरण हुन्छ। भनेअनुसार विकाशका लागि स्रोत दिनुपर्छ, महानगरले धेरै काम गर्न सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।