काठमाडौं– चालु आर्थिक वर्षको आठौं महिना फागुसम्म वाणिज्य बैंकहरुले ४६ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांक अनुसार २७ वाणिज्य बैंकको औसत खुद नाफा एक अर्ब ७३ करोड रुपैयाँ रहेको छ।
यस अवधिसम्म आउँदा तीन वाणिज्य बैंकले तीन अर्ब रुपैयाँ भन्दा धेरै खुद नाफा आर्जन गर्न सफल भएका छन्। राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो महिना २७ बाणिज्य बैंकको खुद नाफा ४० अर्ब २४ करोड रुपैयाँ थियो। एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको खुद नाफा १६.४४ प्रतिशत बढेको हो।
यसैगरी, गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालु आवको यस अवधिसम्म बैंकहरुको खुद नाफामा करिब १२ प्रतिशतको वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। गत आर्थिक वर्षको फागुनसम्ममा अधिकांश वाणिज्य बैंकहरुको खुद नाफा ४१ अर्ब ९५ करोड रुपैयाँ थियो।
कुन बैंकले कति नाफा कमाए?
चालु आर्थिक वर्षको फागुन महिनासम्म आइपुग्दा खुद नाफा आर्जन गर्ने सबैभन्दा अब्बल बैंक ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले यस अवधिसम्म तीन अर्ब ४६ करोड खुद नाफा आर्जन गरेको छ। माघको तुलनामा बैंकको नाफा १४.२५ प्रतिशत बढेको हो। माघ मसान्तसम्म बैंकले तीन अर्ब तीन करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
फागुन मसान्तसम्म आउँदा सबैभन्दा धेरै नाफा आर्जन गर्ने दोस्रो बैंक एनआईसी एसिया बैंक रहेको छ। यस बैंकले यस अवधिसम्म आउँदा तीन अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंककको नाफा माघको तुलनामा १५.२५ प्रतिशत बढेको छ।
यसैगरी, नाफा आर्जन सबैभन्दा धेरै गर्ने तेस्रो बाणिज्य बैंक नबिल रहेको छ। चालु आवको फागुन मसान्तसम्म आउँदा यस बैंकले तीन अर्ब चार रोड रुपैयाँ खुद नाफा कमाएको छ। माघ महिनाको तुलनामा बैंकको नाफा १६ प्रतिशत बढेको छ।
त्यसैगरी, कृषि विकास बैंकले फागुनसम्ममा एक अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। चालु आर्थिक वर्षको फागुन मसान्तससम्म आउँदा राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको छ।
यस्तै, प्राइम कमर्सियल बैंकले दुई अर्ब ५६ करोड रुपैयाँ, एनएमबि बैंकले दुई अर्ब २२ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब १५ करोड रुपैयाँ, सिद्धार्थ बैंकले दुई अर्ब चार करोड रुपैयाँ र नेपाल बैंकले दुई अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
मेगा बैंक एक अर्ब ६८ करोड रुपैयाँ, प्रभु बैंक एक अर्ब ६६ करोड रुपैयाँ, कुमारी बैंक एक अर्ब ४८ करोड रुपैयाँ, सानिमा बैंकले एक अर्ब ४१ करोड रुपैयाँ र एनसिसि बैंकले एक अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।
स्ट्यान्डर्ड चार्टर्ड बैंक एक अर्ब ३९ करोड, हिमालयन बैंक एक अर्ब २९ करोड रुपैया, एभरेष्ट बैंकले एक अर्ब २२ करोड रुपैयाँ, लक्ष्मी बैंकले एक अर्ब १५ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले एक अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्।
यसैगरी बैंक अफ काठमाडौंले एक अर्ब १० करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले एक अर्ब ३६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। यस अवधिमा सबैभन्दा कम खुद नाफा आर्जन गर्ने वाणिज्य बैंक सिभिल बैंक छ। यसले चालु आर्थिक वर्षको आठ महिना अवधिमा ७३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
नाफा माघको तुलनामा भने झन्डै १२ प्रतिशत बढेको छ। माघ अन्त्यसम्म बैंकले ६१ करोड खुद नाफा आर्जन गरेको थियो। त्यस्तै, सेञ्चुरी कमर्सियल बैंकको खुद नाफा पनि यस अवधिमा ९२ करोड रुपैयाँ छ। चालु आर्थिक वर्षको आठ महिनाको अवधिसम्ममा एक अर्ब रुपैयाँभन्दा कम खुद नाफा आर्जन गर्ने सिभिल र सेञ्चुरी बैंक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।