सुर्खेत– कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा ९८ करोड रुपैयाँ बजेट छुट्याइएको बताएका छन्।
नेपाल पर्यटन बोर्डद्वारा आयोजित आर्थिक वर्ष २०७५/०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको कूल बजेटमध्ये ९८ करोड रुपैयाँ पर्यटन विकासमा छुट्याइएको जानकारी दिएका हुन्। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ।
उनले पर्यटनको विकासका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिने हेतुले कूल बजेटको ३ दशमलब ४६ प्रतिशत रकम विनियोजन गरेको जनाए।
‘कर्णाली प्रदेश सरकारले बैसाख १ गते ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को विधिवत उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराइसकेको छ। त्यसले गर्दा पर्यटक आउनेक्रम बढेको छ”, मन्त्री बुढाले भने।
जुन कुरालाई मध्यनजर गरेर कर्णालीमा आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको सहज पहुँचका लागि पदमार्ग, आधारभूत संरचना निर्माण गर्न भनेर यसमा बढी बजेट छुट्याइएको हो।
पर्यटकीय पूर्वाधार निर्माणार्थ रारामा ३ करोड, डोल्पामा २ करोड, बुलबुले ताल निर्माणमा ५ करोड र काँक्रेविहारका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
यो प्रदेशका १० वटै जिल्लाको भिडियो डकुमेन्ट्री संकलन गरी प्रदेशको पर्यटन विकासको खाका तयार गरिने बताइएको छ।
कर्णाली प्रदेश सरकारले पर्यटन प्राधिकरणको विचार ल्याए पनि अन्त्यमा पर्यटन बोर्ड नै आवश्यक छ भन्ने निष्कर्षमा पुगेको छ।
पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले कम लगानीमा बढी प्रतिफल र रोजगार दिएर सुनिश्चितताका साथ निरन्तर चलिरहने एक मात्र क्षेत्र पर्यटन उद्योग रहेको जिकिर गरे।
उद्योग, वाणिज्य, होटल व्यवसायी, निजी क्षेत्र नागरिक समाज तथा पत्रकारसहित सहभागी रहेको उक्त कार्यक्रममा खासगरी पर्यटकको बसाइ लम्ब्याउन सक्ने खालको आवश्यक नीति, पूर्वाधार र वातावरण निर्माण गर्न सकिए मात्र पर्यटन क्षेत्रको विकास र समृद्धि हुने सुझाव दिइएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।