काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ वाइड बडी विमान ‘अन्नपूर्ण’बाट पुरानो गन्तव्य कतारको दोहामा साताभरी उडान भर्ने योजना बनाएको छ।
वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान यही असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो।
फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको सो विमानलाई सुरुमा छोटो गन्तव्यमा उडान भर्न प्रयोग गरिने निगमले जनाएको छ।
वाइड बडी विमानले पहिलो गन्तव्यको रुपमा हाल उडान गरिरहेका दोहा, भारतको बैंगलोर र थाइल्याण्डको बैंककमा उडान भर्ने तयारी गरेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए। दोहामा हप्ताभरी तथा बैंगलोर र बैंककमा हप्ताको चार दिन उडान भर्ने कार्यतालिका छ।
प्रवक्ता श्रेष्ठका अनुसार नयाँ वाइड बडी विमानको व्यावसायिक उडानका लागि आवश्यक कागजी प्रक्रिया अन्तिम चरणमा पुगेको र एक÷दुई दिनभित्रै परीक्षण उडान समेत हुनेछ।
‘यो उडान छोटो दूरीको हुनेछ। सम्भवतः भारतको नयाँ दिल्ली उडान हुनेछ।’, प्रवक्ता श्रेष्ठले भने। नयाँ विमानलाई एक पटक परिक्षण उडान गरेपछि मात्र व्यावसायिक उडानमा लगिन्छ। विमान उडाउनका लागि ६ जना स्वदेशी विमान चालक तयार भइसकेका छन्।
काठमाडौं–जापान सिधा उडान गर्ने
निगमको योजनाअनुसार नयाँ वाइड बडी विमानले काठमाडौं–जापान सिधा उडान भर्ने छ। सुरुमा छोटो दुरीको प्रक्रिया पूरा गरी उडान सुरु गरेपछि आगामी असोज (सेप्टम्बर) भित्र जापान र क्रमशः दक्षिण कोरिया र साउदी अरेबियाको गन्तव्यमा उडान भर्ने निगमले जनाएको छ।
प्रवक्ता श्रेष्ठले काठमाडौंबाट जापानको टोकियो नजिकैको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने तयारीमा रहेको जानकारी दिए। उक्त गन्तव्यमा हप्तामा ३ दिन उडान हुनेछ।
नयाँ वाइड बडी विमानको पहिलो उडान आगामी अगष्ठ १ देखि हुने जनाइएको छ। निगमको अर्को वाइड बडी विमान एक महिनाभित्रै आउँदैछ।
निगमले हाल अन्तर्राष्ट्रिय उडानतर्फ ८ गन्तव्यहरु भारतको नयाँदिल्ली, बेंगलोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ। बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुईवटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।
निगमले आन्तरिकतर्फ ९ वटा विमानबाट सेवा दिइरहेको छ। यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार, एमए ६० दुई र तीन वटा ट्विनअटर विमान छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।