काठमाडौं– नागरिक उड्डयन प्राधिकरणले बुध्द एयरको नेपालगञ्ज–दिल्ली हवाई उडानको तालिका स्विकृत गरेको छ। स्विकृत गरिएको उडान तालिका सन् २०१९ को जनवरी १ देखि लागु हुनेछ।
बुध्द एयरले नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीका लागि दैनिक ३ उडान स्विकृतिका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचारसहित अनुरोध गरेको थियो।
यसैक्रममा नेपाल पर्यटन तथा संस्कृति मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई बुध्द एयरलाई नेपालगञ्जबाट दिल्ली उडानको लागि पत्राचार गरेको छ। भारत सरकारले पनि उडान स्विकृति दिएमा आगामि अंग्रेजी नयाँ वर्षका दिनदेखि दैनिक बिहान ६ः३०, दिउँसो १ः०० र साँझ ५ः१० बजे उडान सेवा सुरु हुनेछ।
बुध्द एयरले उडानका लागि आफ्नोतर्फबाट गृहकार्य गरिरहेको पनि प्रेस विज्ञप्तिमा जनाएको छ। दिल्लीमा संसारभरिका विभिन्न एयरलाइन्समार्फत यात्रु तथा पर्यटकहरुको व्यापक आवाजावत हुने गरेको छ। यसैलाई ध्यानमा राखि बुध्द एयरले विभिन्न एयरलाइन्सहरुसँग अन्तरदेशीय टिकट बिक्री वितरणका लागि इन्टरलाइन र जिडिएस प्रणाली अध्ययन र लागू गर्नका लागि विभिन्न कम्पनीहरुसँग पत्राचार गरेको जनाएको छ।
उक्त उडान सुरु भएमा सुदुरपश्चिम र पश्चिमका जनताहरु प्रत्यक्ष लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ। नेपालगञ्ज–नयाँ दिल्लीको उडान लगत्तै बुध्द एयरले नेपालगञ्ज–पोखराको दैनिक उडान पनि भर्ने विज्ञप्तिमा जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।