काठमाडौं– संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)ले संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रममार्फत नेपालको आकस्मिक पूर्व तयारीलाई सशक्त बनाउन ३० लाख पाउन्डको आर्थिक सहयोग गरेको छ।
उक्त सहयोगले मुलुकभर विपद्को अवस्थामा छरितो र एकीकृत प्रतिकार्य सुनिश्चित गर्न सहयाेग पुग्नेछ।
वार्षिक विपद् तथ्यांक पुनरावलोकन (सन् २०१४–२०१५)का अनुसार नेपाल विपद्बाट हुने मानवीय र आर्थिक क्षति तथा तिनको आवृत्तिका आधारमा उच्च विपद् जोखिममा रहेका विश्वका १० देशमा पर्छ।
विश्व खाद्य कार्यक्रम नेपालकी प्रतिनिधि एवम् निर्देशक पिप्पा ब्राडफोर्डले डिएफआइडीको आर्थिक सहयोगमा काठमाडौंमा स्थापित मानवीय सहायता स्थलका कारण सन् २०१५ को भूकम्पको समयमा सुरु अवस्थाको प्रतिकार्य प्रभावकारी ढंगले गर्न सम्भव भएको स्मरण गरे।
संकटको समयमा देशभरिका रणनीतिक स्थानहरूमा स्थापना गर्न लागिएको बन्दोबस्ती आधार स्थलको सञ्जालमार्फत, स्थल तथा हवाईमार्ग भएर राहत–सामग्री सहजताका साथ ढुवानी गर्न सकिने विश्वासका साथ डिएफआइडीबाट भएको योगदानले भविष्यमा आपतकालीन प्रतिकार्य प्रभावकारी बनाउन आधार तयार पार्नेछ।
साझा तथा अद्यावधिक कार्यगत तथ्याङ्कले सबै उद्धारकर्तामा संकटको समयमा एकै प्रकारको बुझाइ रहन्छ भन्ने सुनिश्चित गर्दै भौगोलिक अवस्था, हिमाली पदमार्ग र यातायातका पूर्वाधारसम्बन्धी सूचनाको पहुँचको समेत यकिन गर्नेछ। जसले राहत सामग्री कहाँ र कसरी लैजाने भन्ने निक्र्योल गर्न मद्दत गर्ने विश्वास गरिएको छ।
डिएफआइडी नेपालका प्रमुख डा रुरिक मास्र्डेनले विपद्पूर्व नै आकस्मिक पूर्व तयारीका लागि गरिने लगानीले समय र जीवन जोगाउन सक्ने तथा अत्यधिक आवश्यकता परेका समक्ष यथाशक्य छिटो मद्दत पठाउन, विपद् उत्थानशीलता कार्यक्रममार्फत नेपाल सरकार र विश्व खाद्य कार्यक्रमसँग नजिक रहेर सहकार्य गरेको बताए।
विपत्ति आउँदा सरकार एवम् सम्बन्ध साझेदार प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सकुन् भन्ने उद्देश्यका साथ विश्व खाद्य कार्यक्रमले नेपाल सरकार, डिएफआइडीसहितका दातृ निकाय तथा मानवीय समुदायसँग निकटतम सहकार्यमा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्यमा नेपालको क्षमता अभिवृद्धि गराउने कार्य गर्दै आएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।