काठमाडौं- निजी क्षेत्रको विमान सेवा प्रदायक कम्पनी बुद्ध एयरले एघारौं जहाज भित्र्याएको छ।
फ्रान्को इटालियन कम्पनी एटिआरद्वारा निर्मित कलसाइन नाइनएन एएमयु रहेको एटिआर ७२–५०० जहाज मंगलबार साँझ ५ बजेर ५० मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो। फ्रान्सको टुलुज फ्रान्कजल विमानस्थलबाट इटाली, इजिप्ट, ओमान हुँदै जहाज काठमाडौं आइपुगेको हो।
थपिएको एटिआर ७२–५०० जहाजसँगै बुद्ध एयरको जहाज संख्या ११ पुगेको छ। अहिले थपिएको जहाजसँगै कम्पनीका ६ वटा एटिआर ७२–५००, ३ वटा एटिआर ४२–३२० र दुई वटा बीचक्राफ्ट १९००‘डी’ रहेका छन्।
कम इन्धन खपत गर्ने एटिआर जहाज वातावरणमैत्री मानिन्छ।
नयाँ जहाजले साउन तेस्रो सातादेखि व्यावसायिक उडान थाल्ने भएको छ। सो जहाजले व्यावसायिक उडान सुरु गरेपछि अन्य जहाजहरूको नियमित चेकजाँच तथा मर्मत अझ सहज हुने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।