राजविराज– कच्ची धावनमार्गका कारण वर्षौंसम्म बन्द रहेको राजविराज विमानस्थल १० असारदेखि नियमित सञ्चालनमा छ।
विमानस्थलमा ३० करोड ३० लाख ७४ हजार रुपैयाँको लागतमा पक्की धावनमार्ग निर्माण गरिएपछि श्री एयरलाइन्सको ‘९ एन एएमए’ को ५० सिटे जहाजले मंगलबार र शनिबार बाहेक साताको ५ दिन काठमाडौं–राजविराज उडान गरिरहेको छ।
विमानस्थलबाट दैनिक ४०/५० जनासम्म यात्रुले उडान–अवतरण गरिरहेका छन्। अपेक्षाभन्दा बढी यात्रु पाएपछि विमान कम्पनी उत्साहित छ भने आफ्नै गाउँबाट विमान सेवा उपयोग गर्न पाएपछि स्थानीयवासी पनि खुसी छन्।
तर, करोडौं रुपैयाँ खर्च गरेर सञ्चालनमा ल्याएको विमानस्थलसम्म पुग्ने १ किलोमिटर सडक मर्मत नहुँदा भने ‘हात्ती छिर्यो, पुच्छर अड्क्यो’ भने झैं भएको स्थानीयवासीहरु बताउँछन्।
राजविराजबाट करिब ४ किलोमिटर दूरीमा रहेको विष्णुपुर गाउँपालिकास्थित विमानस्थलसम्म पुग्न कुनौली–राजविराज सडकबाट करिब १ किलोमिटर कच्ची सडक प्रयोग गर्नुपर्छ। विमानस्थल सुरु हुने तयारीसँगै सम्याइएको उक्त सडक अहिले वर्षासँगै हिलाम्मे भएपछि सास्ती खेप्नुपरेको स्थानीयहरुको भनाइ छ।
सडक हिलाम्मे भएपछि पैदल, साइकल र मोटरसाइकलको यात्रा जोखिमपूर्ण बनेको राजविराज- ४ का मोहम्मद दानिस बताउँछन्। साइकल र मोटरसाइकल चिप्लिएर दुर्घटना हुने गरेको छ। उनी आफैं पनि लडेर घाइते भएका छन्।
उक्त सडकमा एक साताभित्र आधा दर्जनभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेको उनले बताए।
‘सडकको अवस्था हेर्दा विमानस्थलसम्म पुग्न पनि अत्यास लाग्छ’, उनले थपे, ‘प्लेन चढ्न हिँडेको मान्छे भैंसी आहाल बसे झैं हिलाम्मे भएर पुगिन्छ।’
विमान सेवा सुरु गर्नुपूर्व नै बाटोको उचित व्यवस्थापन नगरिँदा यात्रुले सास्ती भोग्नुपरेको उद्योग वाणिज्य संघका पूर्व सचिव वैजु जोशी बताउँछन्।
राजविराज नागरिक उड्डयन कार्यालयका प्रमुख ज्योतिप्रकाश साहले भने सडक निर्माणको ठेक्का लागिसके पनि सम्झौता हुन नसक्दा निर्माण कार्यमा ढिलाइ भएको बताए। सडक निर्माणको ठेक्का १ करोड २४ लाख रुपैयाँमा सप्तरीको अमरावती निर्माण सेवाले पाएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।