काठमाडौं- कृषि विकास बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेसनल प्रालिबीच इन्टरनेट बैंकिङ सेवाका लागि सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौला र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे।
सम्झौता अनुसार उक्त बैंकका उपभोक्तालाई एफवान सफ्ट प्रालिले इन्टरनेट मार्फत बैंकिङ सुविधा उपलब्ध गराउनेछ।
ग्राहकले बैंकको इन्टरनेट बैंकिङ सेवाबाट आफ्नो खाताबारे पूर्ण जानकारी लिन, रकम ट्रान्सफर गर्न, स्टेटमेन्ट हेर्नका साथै विभिन्न बिल भुक्तानी गर्न सक्ने प्रेस विज्ञप्तिमा उल्लेख छ।
यसका साथै, ग्राहकले व्यावसायिक प्रयोजनका लागि पनि इन्टरनेट बैंकिङ मार्फत तलब व्यवस्थापन र दुई वटा हस्ताक्षरमार्फत चल्ने खाताको व्यवस्थापन गर्न सक्ने बताइएको छ।
बैंकका अनुसार, इन्टरनेट बैंकिङमार्फत उपभोक्ताले अन्य ४५ वटा बैंकसँग अन्तरबैंकिङ कारोबार गर्न सक्ने तथा इ-सेवा वालेटमा रकम पठाउन समेत सक्नेछन्।
एफवान सफ्ट इन्टरनेसनलले नेपालका ९० प्रतिशतभन्दा बढी वित्तीय संस्थालाई मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा दिँदै आएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।