बाटो उक्काएर ढुंगा हान्नु पर्छ
छेउमा भएको क्यारी भत्काएर
डल्लाले हान्नु पर्छ
बाटो छेउका रुखका हाँगा भाँचेर हान्नु पर्छ।
बाटाका रेलिङ भाँचेर हान्नु पर्छ
इतिहास बोकेका मूर्ति तोडेर हान्नु पर्छ।
बाटोका बत्ती फोड्नु पर्छ
बाटो छेउका घरका शिशा फोड्नु पर्छ
न बुझेका नारा लाउनु पर्छ
हरेक कुराको विरोध गर्नु पर्छ
बन्द गर्नु पर्छ।
विकासको विरोध गर्नु पर्छ
विकास विरोधीलाई
नागरिक अभिनन्दन गर्नु पर्छ।
रातोलाई कालो
कालोलाई रातो भन्न सिक्नु पर्छ।
काम गर्नेलाई काम गर्न दिनु हुन्न
कर्मचारीलाई दास सम्झिनु पर्छ।
चाकरेलाई थपक्क कुर्सीमा राख्नु पर्छ
दलाललाई सम्मान गर्नु पर्छ।
पुलिसलाई गुलेली हान्नु पर्छ
लखेटी लखेटी ढुंगा हान्नु पर्छ
सरकारी गाडी ताकी ताकी फोड्नु पर्छ।
यही हो प्रगतिको बाटो
यसैगरी नेपाल विकास गर्न सकिन्छ
यसरी नयाँ नेपाल निर्माण गर्न सकिन्छ।
स्कुल, कलेज पार्टीका
भर्तीकेन्द्र बनाइन्छ
'र' बाट राष्ट्र होइन
'र' बाट राजनीति सिकाइन्छ
'व' बाट विकास होइन
'व' बाट विरोध सिकाइन्छ
'अ' बाट अनुशासन होइन
'अ' बाट अकर्म सिकाइन्छ
अनि
हुने त्यही हो
जे सिकाइन्छ
गर्ने त्यही हो
जे सिकिन्छ।
दशकौं भयो भोगेको
आउँदा दिनमा पनि
यही भोगी राख्नु पर्ने हो त
मान्यवर!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।