काठमाडौं- राय किताब र फैसलामा फरक तथ्य राखी फैसला गरेको प्रकरणमा न्यायपरिषदले छानबिन थालेको छ। सप्तरीको राजविराजस्थित उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीशद्वय नसरुल्लाह अन्सारी र बबिता उप्रेतीविरुद्ध परिषदले छानबिन थालेको हो।
एउटा जग्गा मुद्दाको फैसलामा बार एसोसिएसनले नै इजलास बहिस्कार गर्दै तीन दिनदेखि आन्दोलन थालेपछि परिषदले अनुसन्धान थालेको हो। उक्त विषयमा थप अनुसन्धान गर्न न्याय परिषदका सदस्य ओमप्रकाश मिश्रको टोली सप्तरी आएको छ। मिश्रसँगै सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायसमेत छन्। उनीहरुले न्यायाधीश र बारका पदाधिकारीलाई राखेर छलफल गर्ने र फैसला गर्ने न्यायाधीशहरुका विषयमा थप अनुसन्धान गर्नेछ। छलफलका लागि अदालतको बैठक कक्षमा आज साढे १० बजे बोलाइएको बार एसोसिएसनका सचिव विमलकुमार साहले जानकारी दिए।
गत सोमबारदेखि कानुन व्यवसायीहरुले उच्च अदालतका सबै इजलास बहिस्कार गर्दै आएका छन्। बन्दी बाहेकका मुद्दाहरु न्यायाधीशको सरुवा नगरेसम्म बहस नगर्ने भन्दै बार आन्दोलनमा छ। कानुन व्यवसायीले न्यायाधीशले आर्थिक चलेखेल गरेर मुद्दाको गलत फैसला गरेको आरोप लगाएका छन्।
अदालतमा देखिएको समस्या समाधानका लागि बुधबार उच्च अदालत जनकपुरबाट आएका मुख्य न्यायाधीश उदय चापागाई पुगे पनि उनी असफल भएपछि न्याय परिषदका सदस्य मिश्र आएका हुन्।
‘आर्थिक चलखेलका कारण मुद्दा फैसला प्रभावित भएको र अन्य गतिविधि पनि संकास्पद रहेको विषयमा हामीले २०/२५ दिनअघि नै उच्च अदालतमा जानकारी गराएका थियौं,’ बार एसोसिएसनका सचिव साहले भने, ‘तर, श्रीमानहरुले समस्या समाधानको प्रयास नगरेपछि हामी विरोधमा निस्किनुपर्यो। त्यसपछि उहाँहरु आउनुभएको हो।’
बलान बिहुल गाउँपालिका –४ (बेल्ही) की सुमित्रादेवी साह (प्रत्यार्थी) र धनमायादेवी साह समेत (प्रतिवादी) को मिलापत्र बदर, जालसाजी र अंशबण्डा मुद्दामा राजविराज इजलासका न्यायाधीश नसरुल्लाह अन्सारी र बबिता उप्रेतीले आर्थिक चलखेल गरेर फैसला सुनाएको कानुन व्यवसायीको आरोप छ।
२०७४ कात्तिक ६ गतेको संयुक्त इजालसले जिल्ला अदालतको ०७१ जेठ २६ गतेको फैसला सदर हुने भनी रायकिताबमा लेखेकोमा फैसलाको पूर्ण विवरण लेख्दा भने बकसपत्रको २ बिघा ८ कठ्ठा १५ धुर जग्गाबाहेक सुरु सदर थपेर फैसला फरक पारेको कानुन व्यवसायीको दाबी छ।
राय किताबमा सप्तरी जिल्ला अदालतबाट २०७१ पुस ६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ। पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन भनेर फैसला सुनाएको थियो। तर फैसला आउँदा तदायति फाँटबारीमा बकसपत्र बाहेकको हदसम्म मिलेकै देखिँदा सदर ठहर्छ भनेर फरक पारिएको थियो।
सम्बन्धित समाचार : न्यायाधीशले आर्थिक चलखेल गरेको भन्दै तीन दिनदेखि राजविराजको उच्च अदालत ठप्प
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।