मै हुँ भन्नेहरूको सल्लाहबीच
ललिता निवासको कित्ताकाट हुँदै थियो
पर्खाल सारिँदै थिए
इन्ची टेप तानिँदै थिए
काठका किल्ला ठोकिँदै थिए
इँटा बालुवा बोकेका गाडीका गडगडहटबीच
अट्टालिका ठडिँदै थिए
यी सबबीच
केही थाहा नपाउने बालुवाटारे जिम्वालले
देश हेरिराखेका होलान् भनेर
कसरी पत्याउने?
कस्को भर पर्ने?
म नै सबथोक हुँ भन्ने दम्भ पालेर
बालुवाटारको चौघेराभित्र लुकेर
शासन चलाउन पल्केकाहरूको
नाकमुनिको जुँगा काटेर लग्दा
कसरी थाहा न पाएको हरे राम!
जिम्वाल सुतेका थिए कि
मिलेमतोमा रमाएका थिए
जिम्वालका झोले
अथवा नाता सम्बन्धका थिए कि
जिम्वाल्नीका माइती थिए
गर्ने बेला उल्ट्याङ पुल्ट्याङ गर्ने
कान तानेपछि ‘मैले होइन’ भन्दै रुवाबासी गर्ने
राजनीतिका साहुहरू
टाउकाको भारी सारेको देख्दा
मिलेमतोको गन्ध आउँदै छ
सेटिङका चर्तिकला देख्दा
मुद्दै तुहिने हो कि भन्ने शंका बढदै छ
हाथ मुखमा लागेको कालो
कोलतारले धुँधैमा छुट्दैन
डाको हालेर रोए पनि कोही पत्याउनेवाला छैन
देशै बाँडेर खानेलाई
यो त सुपारी चपाएजस्तै
पान खाए जस्तै
सुपारी, पान बढी खाए लाग्ने गरि मताउँछ
बिखैसरह लाग्छ
नेपालको झन्डामुनि बसेर
ईश्वरको शपथ खाँदै पाप गर्नेहरू
इतिहास पढ
यो देवभूमिमा गरेको पापको
ढिलै भए पनि हिसाब भएको छ
बोलीको ठेगान नभएका जिम्वालहरू
तिम्रा कुकृत्यका पत्रहरू
गल्ली गल्लीमा छरिएका छ्न्
तिम्रा हिसाबकिताबको गन्ती हुँदैछ
पख है पख
तिम्रो लेखापरीक्षण गर्ने बेला आउँदै छ
तीन तहको चुनाव आउँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।