प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच स्थानीय तहको निर्वाचन आउँदो जेठ ४ गते गर्ने समझदारी भएसँगै आवश्यक तयारी अघि बढाइएको छ। यद्यपि, सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको छैन। अब बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्ने बताइएको छ। जेठमै स्थानीय निर्वाचन भए संघीय संसद र प्रदेश सभाको निर्वाचन त्यसपछि मात्रै हुने छ।
स्थानीय निर्वाचन पहिला हुँदा पाँचदलीय गठबन्धन हुन्छ वा हुँदैन भन्दै एमाले पर्खिरहेको छ। सत्ता गठबन्धनभित्र पनि ७५३ वटै स्थानीय तहमा चुनावी तालमेल गरेर जाने सम्भावना न्यून छ। त्यस्तो अवस्थामा माओवादी केन्द्र स्थानीय तहको निर्वाचनमा कसरी होमिन्छ भन्ने विषयमा नेता देव गुरुङसँग नेपाल लाइभले गरेको कुराकानी :
स्थानीय निर्वाचन जेठमा हुने लगभग निश्चित भएको छ। माओवादी अब के गर्छ?
संवैधानिक मितिअनुसार चुनाव गर्ने कुरा स्वयंसिद्ध कुरा भयो। संविधानलाई पछ्याउने पार्टी खुशी हुने नै भयो। यसलाई अन्यथा मानेका छैनौं। यो जेठमा चुनाव गर्ने कुरा पाँच दलका बीचमै सहमति गरेर तोकिएको हो। त्यसमा सहमति नै छ।
कांग्रेसभित्रको एक तप्काले निर्वाचनमा गठबन्धन गर्नुहुँदैन भनिरहेको छ। त्यस्तो अवस्थामा माओवादी एक्लै चुनाव लड्ने आँट गर्न सक्छ?
कांग्रेसका कुन खेमाले के भन्छन् भन्ने कुरा आफ्नो भयो। सबैभन्दा महत्त्वपूर्ण कुरा कांग्रेस संस्थापन पक्षले के भन्छ? र, कसरी जान्छ? भन्ने नै महत्त्वपूर्ण हुनजान्छ। त्यसैले, कांग्रेस संस्थापन भन्दा बाहिर के कुरा आइरहेका छन् भन्ने कुरालाई त्यति ध्यान दिएका छैनौं। त्यसैले कुरा मिलेको खण्डमा संयुक्त रुपमा लड्छौं। नभए आफ्नो आफ्नो ढंगले लड्ने कुरा छँदैछ। चुनावबाट डराउने कुरा भएन।
एमालेले निर्वाचनमा गठबन्धन भएन भने माओवादी र एकीकृत समाजवादीको औकात राम्रैसँग देखिन्छ भनेर टिप्पणी गरिरहेको छ नि?
राजनीति गर्ने दलले चुनावलाई मात्रै हेर्नु हुँदैन। वास्तवमा राजनीति गर्ने दलका निम्ति संविधान, कानुन, लोकतन्त्र र राष्ट्रियताको रक्षाको प्रश्न आउँछ। चुनावमा कुन मुद्दा लिएर लड्ने भन्ने कुरा हुन्छ। एमालेले मुद्दालाई ओझेलमा पार्नलाई चुनावको प्राविधिक कुरालाई मात्रै अघि सारेर जान खाजेको छ। त्यो राजनीतिक कुरा नै भएन।
हामीले विचार र लाइनको कुरालाई हेर्नुपर्ने हुन्छ। राष्ट्रियताको मुद्दा हेर्नु पर्यो। डेमोक्रेसीको मुद्दालाई हेर्नु पर्यो। संविधानको रक्षा गर्ने कि नगर्ने भन्ने मुद्दालाई हेर्नुपर्ने हुन्छ। चुनाव भनेको मुद्दाका आधारमा जनतामा जाने विषय हो। माओवादीले मुद्दाका आधारमा चुनावी गठबन्धन गर्न पनि सक्छ, नगर्न पनि सक्छ।
विचार शून्य, लाइन शून्य भएका राजनीतिक कमजोरी छोपछाप गर्नेगरी खाली पद र पैसाका लागि राजनीति गर्नेहरु छन्। त्यसैले विचार र सिद्धान्तबाट च्युत भएकाहरुले चुनावलाई प्रमुख विषय बनाउँछन्। एमालेले माओवादीलाई चुनावमा हैसियत देखिन्छ भन्नु विचार र सिद्धान्तबाट च्युत भएको प्रमाण हो। चुनावमा कि हार हुन्छ कि जित हुन्छ। त्यसैले हामीले स्थानीय चुनावलाई त्यति ठूलो मानेका छैनौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।