नचुँड नेपाललाई
रगत पच्छे हुने गरी
को हुन् यी नेपाल आमालाई दुख दिनेहरु?
कसले पठाए
कुन दुलोबाट आए
यी लुटेराहरुका टोली!
धरती लुटेका छन्
आकाश लुटेका छन्
बाँकी केही छैन
यिनले नलुटेका नकुटेका।
तिम्रा ती राक्षसी बानीले
दुखी छ्न्
त्रसित छ्न्
नेपालको चौघेराभित्र बस्नेहरु।
रोएका छन्
कराएका छ्न्
तर, सुन्ने कल्ले
देख्ने कल्ले!
सुन्नेको कान छैन
देख्नेको आँखा छैन।
सिंहासनमा बसेर
म नै सबथोक हुँ- सोच्नेहरु
बिर्सेउ हिजोको इतिहास
कहाँ छ्न् ती अट्टालिकामा बस्नेहरु?
मैमत्त भएर हिँड्नेहरु
थाहा छ गर्तमा छ्न् ती।
सुन हो अब
रुँदा-रुँदा रैती थाकी सके।
लुटेराहरु बाट मुक्ति पाउन
देश बचाउन
नयाँ क्रान्तिको बिगुल
बजिराखेको छ।
तिम्रा कानले
सुन्न छाडेको छ
कान थाप- सुन्नै पर्छ
बाजाले के भनिरहेको छ
बुझ्नै पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।