प्रहरी वरिष्ठ उपरीक्षक सुशील यादवको मृत्युको खबर मेरा लागि अकल्पनीय थियो। जसै यो खबर आयो, विश्वास नै नलागेर मैले प्रहरी सेवामा रहेका केही साथीहरुसँग पुष्टि गर्ने प्रयास गरेँ। खबर साँचो रहेछ, मैले विश्वास गर्नैपर्यो। प्रहरी संगठनले एउटा होनहार 'अफिसर'लाई असमयमै गुमायो।
यो अकल्पनीय घटनासँगै मेरो मानसपटलमा कतिपय पुराना कुरा फन्फनी घुम्न थाले। प्रहरी सेवाबाट निवृत्त भएको वर्षौं बितिसके पनि मैले ती घटना एक एक गर्दै स्मरण गर्न थालें। मैले जानेसम्म, बुझेसम्म र चिनेसम्म एसएसपी यादव अनुशासित प्रहरी अधिृकत थिए। उनी जिम्मेवार थिए। व्यवहारिक थिए। त्यहीकारण तल्लो तहका प्रहरीले उनलाई मन पराउँथे।
जागिरमा पदोन्नतिका हिसाबले उनी पछि परेका थिए। अरु भए यसलाई सार्वजनिक रुपमै चर्चाको विषय बनाउँथे होला। उनले यसबारे बाहिर हल्ला नगरे पनि आफ्नै निम्ति एउटा असन्तुष्टिको विषय भने थियो। आफूनजिकका प्रहरी अधिकृतदेखि साथीभाइलाई उनी यसबारे सुनाइरहन्थे। सायद उनलाई मृत्युको मुखसम्म पुर्याउने एउटा कारण यो असन्तुष्टि पनि बनेको हुनसक्छ। (झुण्डिएको अवस्थामा मृत भेटिएका एसएसपी यादवको मृत्यु अहिलेसम्म आत्महत्या नै हो भन्ने देखिन्छ।) तर, उनको मृत्युको खास कारण के हो भन्ने समय र प्रहरी अनुसन्धानले देखाउला, यदि त्यसमा अनुसन्धान भयो भने। यहाँ उनलाई नै सन्दर्भ बनाएर लेख्ने जमर्को गर्नुको कारण भने उनको व्यक्तिगत पृष्ठभूमि र जिम्मेवारी बहन पनि हो।
एसएसपी आफैँमा प्रहरीको माथिल्लो दर्जा हो। यस हिसाबले पनि उनी महत्वपूर्ण जिम्मेवारी बोकेका प्रहरी अधिकृत थिए।
विभिन्न असन्तुष्टि र व्यक्तिगत तथा पारिवारिक समस्याका कारण प्रहरीले आत्महत्या गरेका समाचार अरु बेला पनि आइराख्छन्। तर, ती घटनामै सीमित हुनेगरेका छन्। एउटा प्रहरी वा प्रहरी अधिकृतले किन आत्महत्याको बाटो रोज्छ त? त्यसको कारण बुझ्ने र त्यसलाई सम्बोधन गर्नेतिर आजसम्म प्रहरी संगठन, गृह मन्त्रालय र नेपाल सरकारले कुनै पहल गरेको जस्तो लाग्दैन। आन्तरिक सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको प्रहरी संगठनभित्र यदाकदा भइराख्ने, तर निरन्तरका यस्ता घटनाको कारण खोज्न र त्यसलाई सम्बोधन गर्न सरकार जिम्मेवार हुनैपर्छ।
हामीले देखेका छौं, कैयौं मुलुकमा सुरक्षाको जिम्मेवारी बोकेका निकायमा यस्ता घटना भएपछि सरकारले प्राथिकतामा राखेर घटनाका कारण जान्न खोज्छ। ती कारणलाई सम्बोधन गर्न आयोगहरु गठन गर्छ। त्यसो किन पनि गरिन्छ भने अरुको सुरक्षाको जिम्मेवारी बोकेका हतियारसहितका सुरक्षाकर्मी स्वयंले नै आफूलाई असुरक्षित महसुस गर्नु गम्भीर विषय हो।
कार्यदक्षता मूल्यांकनको प्रश्न
नेपाल प्रहरीमा कार्यक्षमता र दक्षता मूल्यांकनको विधि सही नभएको विषय लामो समयदेखि उठ्दै आएको छ। कार्यदक्षता मूल्यांकन गर्ने वैज्ञानिक र पारदर्शी विधि तथा मापदण्ड नहुँदा संगठनमा नेतृत्व क्षमता भएका व्यक्तिहरु अन्यायमा पर्छन्। अनि प्रहरीभित्र नेतृत्व क्षमता र व्यावसायिक दक्षता भएका प्रहरी अधिकृत वृत्ति विकासमा पछि पर्दै जान्छन्। त्यसरी पछि परेका कारण उनीहरुको कार्यक्षमतामा पनि असर पर्छ। त्यसको प्रभाव प्रहरी संगठनले प्रदर्शन गर्ने कामकारबाहीमा पनि परिराखेको हुन्छ। नेपाल प्रहरीभित्रको यो यथार्थ कतैबाट लुकेको छैन।
मेरो अनुभव छ, व्यावसायिक क्षमता भएका र समय अनुसार व्यावसायिक क्षमता विकास गरिसकेका प्रहरी अधिकृतहरुमा एक किसिमको दम्भ पनि हुन्छ। उनीहरु ‘गणेश भक्ति’ गरेर कसैलाई खुशी पार्ने कुराबाट हमेसा टाढै हुन्छन्। आफूले गरेको कामका आधारमा आफ्नो मूल्यांकन होस् भन्ने चाहन्छ्न्। तर, कार्यदक्षता मुल्यांकनको वैज्ञानिक प्रणाली नहुँदा यस्ता अधिकारीहरु समेटिँदैनन्। समयक्रममा यस्ता उनीहरुलाई पन्छाइँदै गइन्छ।
प्रहरी संगठनलाई अप्ठेरो परिस्थिति र चुनौती आइपरेका बखत चाहिने चाहिँ यस्तै अफिसरहरु हुन्। त्यस बेला यस्तै व्यक्तिको खोजी हुन्छ। तर, पदोन्नति या संगठनबाट पुरस्कार पाउने बेलामा यस्ता व्यक्ति विरलै मात्र प्राथमिकतामा पर्छन्।
अध्ययन भयो, परिणाम खोजिएन
नेपाल प्रहरीको कूल संख्याको ८० प्रतिशत प्रहरी जवान र हवल्दारले ओगट्छन्। जिम्मेवारीअनुसार फिल्डमा खटिने, नागरिकमाझ देखिने र नागरिकको प्रत्यक्ष सम्पर्कमा आउने जनशक्ति यही हो। दूरदराजसम्म नेपाल सरकारको उपस्थिति जनाउने दर्जा पनि यही हो।
प्रहरी जवान र हवल्दारबारे नेपाल प्रहरीले अध्ययन पनि गरेको छ। त्यो अध्ययनले जागिरमा आइसकेपश्चात् ६० प्रतिशत तल्लो दर्जाका प्रहरी ऋणमा रहेको, ८० प्रतिशतभन्दा बढीले प्रहरीको जागिर आफूले सोचे अनुसार नपाएको, आवश्यकताभन्दा बढी ड्युटीमा खट्नुपरेको देखाएको छ। यी सबै कारणले असर गर्ने भनेको प्रहरीको कार्यक्षमता, कार्यदक्षता र स्वयंको स्वास्थ्यमा हो।
निकै लामो 'ड्युटी आवर', अपारदर्शी कार्यदक्षता मूल्यांकन, परिवारबाट टाढा रहनुपर्ने आदि कारणले नैराश्य उत्पन्न हुनसक्छ। समयमा बिदा नपाउँदा घर, परिवार र सामाजिक दायित्व निर्वाह गर्न नसक्ने बाध्यताले पारिवारिक तथा सामाजिक समस्या निम्तिन्छन्। त्यसले गर्दा जागिर छाड्ने, ड्युटी तथा तथा जिम्मेवारीबाट विमुख हुन खोज्ने र अन्ततः आत्महत्यासम्मको बाटो रोज्ने गरेको पनि देखिन्छ।
प्रहरीभित्रका यी र यस्ता समस्या निराकरणका लागि आयोग, समितिहरु पनि गठन भएका छन्। तर, तिनले दिएका सुझाव कति कार्यान्वयन हुन्छन् वा भएका छन् भन्ने प्रश्न सबभन्दा महत्वपूर्ण हो। तसर्थ, यी समस्याहरुतर्फ सरकारको ध्यान जान आवश्यक छ। होइन भने, प्रहरी आफ्नो जिम्मेवारीबाटै विमुख हुने त छँदैछ, एसएसपी यादवको नियति दोहोरिइरहने अवस्था पनि ज्यूँकात्यूँ रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।