ट्याउँ ट्याउँ
मुख मात्रै चलाए पनि चल्दो रहेछ
भएको नीति नियम
नमाने पनि चल्दो रहेछ
जनताको सम्पत्ति
मनलाग्दी गरे पनि चल्दो रहेछ।
न्याय दिन छोडेर
मोलमोलाइ गरे पनि चल्दो रहेछ
कालो कमाइ गरी
दर्शन टुक्राए पनि चल्दो रहेछ।
छिमेकी काकाको
आशीर्वाद भए मात्रै पनि चल्दो रहेछ
मन्त्री भएर
कामै नगरे पनि चल्दो रहेछ
घोक्रो फुलाएर
कामै नलाग्ने गफ गरे पनि चल्दो रहेछ।
केही नगरी
चुप लागे पनि चल्दो रहेछ
कट्टु देखिने गरी
बेईमान गरे पनि चल्दो रहेछ
अनपढहरु
शासक भए पनि चल्दो रहेछ
वीरबलको हावामहलको
गफ दिए पनि चल्दो रहेछ।
जनता साना
टावर ठूला बन्दा पनि चल्दो रहेछ
जनता छेरुवा
नेता हरुवा भए पनि चल्दो रहेछ
नालायक भए पनि
आफ्ना भए चल्दो रहेछ
जनता लाटो
नेता बाठो भए पनि चल्दो रहेछ
यसै चल्दै गर्छ
हामी जनता नसप्रेसम्म
यसै चली रहन्छ
देश घिटघिट गरि गुडि रहन्छ।
तर, अब यस्तै चल्न हुन्न
मतको महत्व
बुझ्नु पर्छ
चिन्नु पर्छ
देशको भलो चाहने
सबै नेपालीको
जय होस, कल्याण होस।।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।