लामो समयपछि गाउँमा छु। बिहान मलिन घाम लागेको छ। होटेलमा मान्छेको आवतजावत कम छ। चाडबाडमा धेरै गाउँले घर आएका छन्। तर, बिहानै कोही किन निस्किओस् चोकतिर!
म यसै उभिइरहेकी थिएँ। एक महिला हस्याङफस्याङ गर्दै आइन्। उनले कपाल छाडेकी थिइन्। शरीरका कपडा पनि ल्याङफ्याङजस्तै थिए। अनुहारमा आक्रोश थियो। उनलाई देख्दा लाग्थ्यो– प्रलय भोगेर आएकी छिन्।
उनी होटेलवालासँग झगडा गर्न थालिन्। उनको पहिलो वाक्य थियो– त्यो जँड्याहालाई किन जाँड खान दिएको?
उनले भैँसी बेचेकी रहिछिन्। त्यसैबाट चाडबाडमा खर्च गर्ने योजना रहेछ। तर, त्यो पैसा उनका श्रीमानले रक्सीमै सकाएछन्। अघिल्लो रात त मदिराको सुरमा श्रीमती र छोराछोरीलाई कुटपिट पनि गरेछन्।
उनले निकै बिलौना गरिन्। ‘मेरो र छोराछारीको बिचल्ली बनाएको छ। रक्सी खाएर मलाई त कुट्छ कुट्छ, छोराछोरी पनि कुट्छ,’ उनले भन्दै गइन्, ‘घरमा खाने अन्न छैन, अरुका लागी चाडबाड हाम्रो लागि दशा हुन्छ।’
उनको नाम घौली नेपाली हो। उनको विवाह १५ वर्षकै उमेरमा भएको हो। अहिले २६ वर्षकी भइन्। चार सन्तान छन्। श्रीमान्को भर नहुँदा उनलाई घर चलाउन मुस्किल रहेछ। उर्जावान समयमा नै वृद्धझैँ देखिन्छिन्।
उनको खेतबारी छैन। बनिबुतो गरेर परिवार पाल्छिन्। श्रीमानको नाम राम हो। उनी पनि ज्याला मजदुरी गर्छन्। तर, पैसा रक्सीमै सक्छन्।
यसपटक दशैँ–तिहारको गर्जो टार्न उनले भैँसी बेचिन्। श्रीमानले पैसा रक्सीमै सकिदिए। मिठो मसिनो खाने रहर रहरै भयो।
चाडबाड आएपछि उनको मनमा पहिरो जान्छ। किन चाडबाड आउँछ जस्तो लाग्छ। अरु बेला अलिअलि काम गर्ने श्रीमान् चाडबाडका बेला रक्सी मात्र खाएर बस्छन्। उनले चाड मनाउन राखेको पैसासमेत सकिदिन्छन्।
उनको बिलौना सुनेपछि चाडबाड मनाउने सामाजिक संरचना कति पुरुषप्रधान रहेछ भन्ने बुझ्न मद्दत गर्यो। चाडबाडमा पुरुष रमाइलो गर्छन्, महिला घरको काममा झनै धेरै जोतिनुपर्छ।
दशैँ–तिहार आएपछि मेरै दाइको अनुहार देख्न झन्डै हप्ता दिन लाग्छ। उसले जहाँ जे गरोस्, छुट छ। जुन मलाई छैन। चाडबाडको बेला आमा, भाउजू र मेरो काम दोब्बर हुन्छ। तर, बुवा, दाइ र भाइलाई मस्ती हुन्छ।
उसो त यो बेला पारिवारिक मिलन हुनुपर्ने हो। सबैमा हाँसो र खुसी हुनुपर्ने हो। यहाँ त चाडबाडका नाम एक पछि अर्को घरेलु हिंसा बढ्छन्। महिलाको लागि यही बेला काम बढ्छ।
मेरो आफ्नै घरको अवस्था पनि उस्तै छ। दशैँका दिनमा माइति नगएर आमाले घरको सबै गरिन्। घरभित्रको सबै काम आमाको जिम्मामा थियो। बुवाले त केही नगरे पनि हुने। खाएको थालसमेत नधुने।
जसरी धौली नेपाली चाडबाड नजिकिँदा चिन्तामा पर्छिन्, आम महिला त्यसरी नै चिन्तित हुन्छन्। चाडबाडमा गाउँघरमा पुरुष आलीको डिलमा बसेर जुँगा घुमाउँदै गफ चुट्छन्। भट्टी धाउँछन्। राति आएर थकानले गलेको महिलाको शरीरमा लात बजार्छन्।
यस्ता खालका विभेद बोकेर महिला चाडबाडमा खुसी कसरी हुन सक्छन्? चाडपर्वको नाममा घरेलु हिंसा गर्ने छुट पुरुषलाई कसले दियो? यस्तो ‘संस्कृति’ किन सुधार नगर्ने? अब बहस जरुरी छ।
गाउँघरमा घरेलु हिंसाको मूल कारण मदिरा नै हो। चाडबाड मनाउने यो शैलीले महिलालाई ‘दास’ बनाएको छ। जसरी र जुन कोणबाट हेर्दा पनि यी चाडबाड स्त्रीद्वेषी छन्। एकातिर परिवारलाई रिझाउनु पर्ने, अर्कातिर कामको बोझ। त्यसमाथि हिंसा। यसलाई ‘चलन’ भनेर चुपचाप कहिलेसम्म सहने?
मदिरा स्वास्थ्य र सामाजिक तथा पारिवारिक सद्भाव दुवै दृष्टिबाट ठीक छैन। यसले बलात्कारलगायत अन्य अपराध पनि हुन्छ। मान्छेलाई हिंसात्मक बनाउन ‘क्याटालिष्ट’को काम गर्छ। त्यसैले पुरुषअनुकुल ‘रमाइलो’ र ‘खुसी’को व्याख्या हुनु हुँदैन। आजको प्रगतिशील, विवेकशील युगमा अब बहस हुनु जरुरी छ। पुरुष सुध्रनै पर्छ। महिलाले पनि ठीक संस्कार र व्यवहारको अनुशरण गर्ने र गलत व्यवहारको विरोध गर्ने गर्नुपर्छ। सचेत पुरुषले यो अभियानमा महिलालाई साध दिनुपर्छ।
धौली नेपाली त एक प्रतिनिधि पात्र मात्र हुन। आम महिलाको नियति धौलीको जस्तै छ। पारिवारिक र आर्थिक सत्ता पुरुषको हातमा छ। महिला हिंसा बढ्नुको प्रमुख कारण पुरुष नै हुन्।
चाहे पञ्चामृत खानुहोस्, चाहे मदिरा– उत्पीडित वर्गका लागि विभेदकारी नै छ। चाडपर्व मिलनको प्रतीक हुनुपर्ने हो। तर, पारिवारिक विचलन हुन्छ। खुसी छाडेरभन्दा ऋण बोकाएर जान्छ।
पारिवारिक ऋण थपिनुमा तडकभडक र देखासिकी बढी जिम्मेवार छन्। अरुको चाडबाड मनाउने शैली होइन, आफ्नो आम्दानीअनुसारको खर्च गर्नुपर्छ। तडकभडक देखाउनेको मात्र ‘सामाजिक इज्जत’ हुन्छ भन्ने भ्रम रहनु हुँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।