हिमाल पारि गरी खाने ठाउँमा जन्मी
कस्तो ठाउँमा बेची पठायौ हो मलाई
यहाँ त गरी खानेभन्दा
बोली खाने रै छ्न्।
कहिले कोही आउँछ
बिस्तारै बस्छ
फेरि कोही आउँछ
भाँचिने गरी थचारिन्छ
लखेटी पठायो
लाजै नमानी फेरि आइपुग्छ।
कोही असक्षम छ्न्
कोही गफाडी छ्न्
कोही लाल बुझक्कड छ्न्।
सकेसम्म मलाई मेरै देश
फिर्ता पठाई देउ हो प्रभु
होइन भने
मलाई भाँची देऊ
मलाई पोली देऊ।
थाकी सकें
रंगी बिरंगी चरित्र भएकालाई बसाउँदा बसाउँद
मलाई आफूमाथी बसाउनु छैन
यस्ता हुतिहाराहरुलाईर
मैले सुन्ने गरी
भित्र एउटा, बाहिर अर्कै कुरा गर्छन्
नसकेर मात्रै हो
नत्र ढाड खुस्कने गरि उफ्रन्थेँ होला।
मैले यिनका कुरा सुनेको छु
देश बनाउने कुरा मरी गए गर्दैनन्
आफू र आफन्त बन्ने कुरा मात्रै गर्छन्
आफैँलाई फाइदा हुने कुरा मात्रै गर्छन्
सुन्ने गरि मोलमोलाहिजा गर्छन्
कुर्सी छोड्नु त यिनीहरुलाइ मरेसरह
यस्तो बबालमा किन पठायौ हो मलाई?
जति रोए पनि आखिर
बाँच्ने पनि यहीँ
मर्ने पनि यहिँ।
ए! भोट दिनेहरु
सही मान्छे छान
बसाउन मजा आओस्
म पनि रमाउन सकौं
मेरो पनि इज्जत बढोस्
तिमीहरुको जय भन्ने मन लागोस्
मैले त दुःख पाएकै छु
तिमीहरुले पाएका छौ छैनौ थाहा छैन।
मैले एक दिन
मेरोअगाडि भएको अर्को कुर्सीसँग
परिचय मागेँ
दक्षिणतिरका रहेछ्न्
केही चासो नभए जस्तो
केही मतलब नभए जस्तो।
उनले भने-
नमस्ते मित्र यता र उता उस्तै हो
स्वजातिय दाजु भाइ जो परे
हामीलाई त जो बसे पनि उस्तै हो
आशा गर कहिले त चेत खुल्ला
हामिलाई इज्जत र देशलाई माया गर्ने
कोही त आउला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।