काठमाडौंदेखि धनगढीको यात्रामा छौँ। पुग्नुपर्ने त बाजुरा हो।
अग्रिम बुकिङ गरिएको ‘खप्तड यातायात’मा यात्रु खचाखच छन्। हुने नै भए। दशैँ पो हो त।
मलाई चाडबाडको बिदा मनाउनेभन्दा पनि पारिवारिक भेटघाट महत्वपूर्ण लाग्छ। यात्रामा परिवारकै १६ जना छौँ। गाडीभरि एउटै परिवारजस्तो।
‘यात्रु आइपुग्नु पर्ने समय ३ः३० बजे र गाडी छुट्ने ४ः०० बजे,’ टिकटमा लेखिएको थियो। तर, समयमा किन हिँड्थ्यो र!
‘ओए! ढोका बन्द गर्।’
लामा लामा कपाल भएका गुरुजीको आदेश पालना गर्दै आधा शरीर देखिने गरी खस्नै लागेको पाइन्ट लगाएका सह–चालकले ढोका बन्द गरे। चालकले कपाल पाल्नु, रुमाल बाँध्नु, अश्लील बोल्नु र सह–चालकले पाइन्टको जाँघ झुण्डाएर लाउनु ‘परम्परा’ भएको छ।
‘मिलेर बस्नोस्।’
बस गुड्न थालेपछि सह–चाकलले भने। कति जनासम्म मिल्न सक्छन्, यो उनीहरूको लेखाजोखामा पर्दैन। बस्! गाडीको शरीर ठटायो, यात्रु चढायो। जतिसुकै लामो दूरीको यातायात होस्, गोंगबु बसपार्कदेखि कलङ्कीसम्म पुग्दासम्म यात्रुहरू चढाउने काम निरन्तर चलिरहेछ।
ठूलो भर्याङमा एक जना अपरिचित बसमा चढे। उनले टिकट काटेको सिट र सहचालकले देखाएको सिट फरक पर्यो। उनी म नजिकैको सिटमा बस्न आइपुगे। उनको गन्तव्य कता हो, त्यो मलाई थाहा छैन। कानमा हेडफोन कोचेर मोबाइलमा हिन्दी मुभी हेर्नमा मस्त छन्।
काठमाडौँमा जाम छ। गाडीमा बसेको दुई घण्टाभन्दा बढी हुँदा पनि काठमाडौँ छोड्न सकिएको छैन। यो राज्यको शासन व्यवस्थाको ऐना पनि हो।
विमानस्थलतिर नवजोडीहरू छुट्न गाह्रो भएजस्तै हामीलाई जामका कारण काठमाडौँसँग छुट्न गाह्रो भइरहेको थियो। काठमाडौँ यस्तै छ। यो ठाउँमा आउन गाह्रो छ, आइसकेपछि निस्किन पनि गाह्रो छ।
साँझको करिब ७ बजेको छ। धादिङ पुगिसक्दा पनि जाम छँदैछ। गाडीभित्र भने चर्को गर्मी। यस्तै सकसपूर्ण तरिकाले करिब एक हजार किलोमिटर यात्रा गर्नुछ।
गाडीमा बजिरहेका अनेक गीतले मन पनि बेसुरमा बगिराखेको छ। कहिले हिन्दी, कहिले नेपाली गीत। बेलाबेला देउडा ‘झ्याम्म झ्याम्म’ले स्फूर्ति पनि दिइरहेको छ। दैनिक कामको भागदौडले गलेको शरीर, गाडीभित्र गुम्सिँदा म त निद्रामा परेँछु।
केही समयपछि ब्युझिएँ। मेरा अपरिचित मित्र भने मोबाइलमै व्यस्त थिए। यसो चिहाएको पब्जीमा ‘मारकाट’ रहेछ। हुन त, उनी यस युगको पुरुष, उनको पूरै दिल–दिमाग मोबाइलमा हुनु के ठूलो कुरा हो र? आईफोन वा ग्यालेक्सी मोबाइल नहुनु, पब्जी, क्याण्डी क्रसजस्ता खेल नखेल्नु, यति बेला यी कुरा नगरिए मान्छे भएको प्रमाण नै हुँदैन। प्रविधिले मान्छेलाई कब्जामा पारिसकेको छ।
अहिले रातिको ८ः४५ भैसकेको छ। मस्त सुत्ने बेलामा खाजा रे!
धादिङको नौबिसे रहेछ। ‘आँधिखोला खाजा घर’मा छौँ।
के खानु र? रोटी तरकारी मगाएँ। तर, मूल्य रहेछ २५० रुपैयाँ मात्र। यो हाइवेको होटेलको हैकम हो। यहाँ राज्य, सरकार, नियम, कानुन, इमान्दारिता केही हुँदैन। एउटा सानो बोतल चिसोको सिधै १०० रुपैयाँ हो।
मलाई थाहा छैन पौने ९ बजे खाजा खुवाएपछि खाना कति बेला खुवाउने हो।
खाजा खाएपछि म केही बेर निदाएँछु। राति १ बजे मान्छेको खलबलले ब्युझिएँ। सह–चालक खाना खान बोलाउँदैरहेछ। कस्तो सजाय हो, यो! मध्यरात पनि नाघेपछि खाना खाइदिनुपर्ने!
लामो यात्रा छ। नखाए पनि सकिँदैन। खान पनि उनीहरुको समयअनुसार छ। जहाँ ‘कमिसन’ आउँछ, त्यहीँ पुर्याउँछन्।
नवलपरासीको गैँडाकोट रहेछ। ‘होटेल छाप्रो, गैँडाकोट–९ थुम्सी’ लेखिएको साइनबोर्ड छ।
साधा खानाको ३०० रुपैयाँ। पहिले नै पैसा तिरेर कुपन लिनुपर्ने। अनि लाइन लागेर आफैँ पस्किँदै जानुपर्ने। ओहो! खाना पनि सकसले खाइयो। कुनै स्वाद नभएजस्तो।
‘जसले झ्याल खोल्छ पाँच सय जरिवाना है।’
राति यात्रुहरू मस्त निदाइरहेका थिए। बेलाबेला सह–चालक आएर झ्याल बन्द गर्न लगाउँथे। यो जरिवाना उसैले तोकेको हो। ‘पुलिस’ ऊ। ‘न्यायाधीश’ ऊ। तर, मलाई त झ्याल नखोली हुँदैन।
‘वान्ता हुन्छ, झ्याल नखोली कसरी हुन्छ?’
मैले भनिहालेँ। मलाई समस्या हुने भएपछि मैले नै त बोल्नुपर्यो।
‘एसी लगाएको भएर होला झ्याल बन्द गर्नु भनेको।’
धन्य भएँ। पब्जीमाथि घोप्टिएको ऊ पहिलो पटक बोल्यो। तर, मेरो समस्यामा भने उसको पनि ध्यान गएन। ऊ एसीको बारेमा जान्दोरहेछ। ‘मोसन सिकनेस’बारे जान्दो रहेनछ।
यस्तै सकसमा बित्यो असोज २२ गते। तर, मेरो यात्रा जारी थियो।
असोज २३ गते बिहान ७ः५० बजे गाडी कपिलवस्तुमा थियो, होटेलको अगाडि। ‘प्युठान होटेल, शिवराज–१ बनकस, कपिलवस्तु।’
यो होटेल पनि राजमार्गका अन्य होटेलभन्दा फरक छैन। अझ आसपास अरु होटल नै छैन। यहाँ पानी पनि राम्रो छैन। शौचालय शौच गर्न लायकको छैन। शौचालयको झ्याल र कुनातिर जतातै प्याड कोचेको छ। गन्धले ढलिएलाजस्तो।
त्यहाँबाट केही समयपछि गाडी हिँड्यो। पुग्नुपर्ने अझ धेरै टाढा छ।
बाँकेको ढकेरिमा बिहानको खाना खाँदा दिउँसो झन्डै २ बज्न लागेको थियो। अनि मूल्य पनि उही ‘खाए पनि नखाए पनि पैसा चाहिँ हात खोलेर देऊ’ शैलीको थियो।
खाना खाएपछि झ्याप्प निदाएँछु। केही बेर भए पनि आनन्द भयो। संघीय राजधानीबाट सुदूरपश्चिम पुग्न सजिलो कहाँ छ र!
तर, जति पश्चिम पुग्दै गयो, उति मन आनन्द हुन्छ। नयाँ दृश्यहरु आँखामा आउँछन्। घर नजिकिएझैँ लाग्दै जान्छ। निकुञ्जका चराचुरुङ्गी र ठाउँ–ठाउँमा भेटिने खोला र नदीको आवाजले मनलाई शान्ति दिन्छ। ती आवाज वर्षौँदेखिका परिचित छन्।
२६ घण्टाको लामो यात्रा पछि बल्ल पुगियो, अत्तरिया। गोधुली साँझ छ। यस्तै ६ बजेको हुनुपर्छ। हामीले काठमाडौँदेखि आएको बस छाडिदियौँ। अब यहाँबाट सुदूरपश्चिमी पहाडको उकालो चढ्नुछ।
हामीले काठमाडौँबाटै बाजुरा जाने बसको टिकट लिएका थियौँ। तर, त्यो बस त अरु नै यात्रु बोकेर ४ बजे नै हिँडिसकेछ। त्यसले धोका दियो।
हामी दोधारमा छौँ, आज बास बस्ने कि जाने सल्लाह हुँदैछ।
अत्तरिया आइपुग्दा पब्जीवाला यात्रु पनि गन्तव्यतिर हिँडिसकेका थिए। उनी त अत्तरियामा सह–चालकले झर्ने संकेत गरेपछि मात्र मोबाइलबाट बाहिरी संसारमा आएका थिए। अहिले अदृश्यभ ए। ओहो! प्रविधिले हामीलाई यस्तरी निलेको छ।
‘मार्तडीसम्म हैन त? ल हुन्छ–हुन्छ, ढुक्क हुनुहोस्।’
एउटा माइक्रोबस भेट्टियो। उसलाई जानका लागि मनायौँ। ऊ जाने भयो।
भोलिपल्टको नियमित गाडी पर्खनु भनेको होटेलमा बस्नु हो। फेरि समूह ठूलो छ। खर्च ठूलै हुन्छ। होटेलमा बस्नु, खानु खर्च बढ्नु हो।
साँझ ८ बज्न लागेपछि माइक्रोबसले अत्तरियाबाट डडेल्धुराको बाटो समात्यो।
गोदावरी पुलमाथि पुग्यौँ। त्यो सुदूरपश्चिमको तराई र पहाड छुट्ट्याउने पुल हो। एक वर्षदेखि बिछोडिएको पहाडीपन र पहाडी मन यो पुल कटेपछि आफ्नै ठेगानामा पुगेजस्तो लाग्छ। हामी पहाड प्रवेश गर्यौँ।
जंगलको बाटो। पहाडका घुम्ती। हामी फनफनी घुमिरह्यौँ। अब गर्मी भने थिएन।
‘आम्मामा! कति चिसो पानी हो फुपू!’
खानडाँडाको चिसो पानी मुटु नै काँप्ने थियो। पानी पिउँदै कोपिलाले भनेकी थिइ।
हामी राति सवा ९ बजे त्यहाँ पुगेका थियौँ। राति पनि हरिया काँक्रा बेच्न राखिएका थिए। तराईतिरबाट आएका गाडी रोकिनेबित्तिकै ती पसले चिच्याउन थालिहाल्छन्।
रोकिनु, गुड्नु, रोकिनु। लामो यात्रामा अरु के हुन्छ र? यात्राको दिक्दारी पनि अचाक्ली हुन्छ।
हामी सहजपुर पुग्यौँ। डोटीको बदामको कसले बयान गर्न सकोस्! भातकाँडाको भात कसलाई मन नपर्ला! मध्यरात १२ बजे खाना खान तयार भयौँ।
हामी त्यहाँबाट हिँड्दा नयाँ दिन सुरु भइसकेको थियो।
गुड्दा–गुड्दै बिहान भयो।
पहाडको बिहान र तराईको बिहानमा फरक छ। काठमाडौँको बिहान र सुदूरपश्चिमको बिहानमा फरक छ। शहरको बिहान र गाउँको बिहानमा फरक छ।
गाउँमा बिहान सबैभन्दा पहिला सुनिन्छ, चराको चिरबिर आवाज। अनि शुरु हुन्छ दिनचर्या।
हामी चाहिँ गुडिरहेका छौँ। नजिक नजिक पुग्दैछौँ।
बिहानको घाम उकालो लाग्दैगर्दा हामी डोटीको दिपायलमा थियौँ। अब यहाँको विशेषता बेग्लिँदै जान्छ। गैराको गोरस, सिलगढीको न्यानोपन, साँझघाटको स्याउ, साना गाउँका माटाका साना–साना घर, चौखुट्टेको चाम, मार्गको माया काटेर आयौँ। हामी असोज २४ गते साढे ११ बजे बाजुरा सदरमुकाम मार्तडीमा थियौँ। काठमाडौँबाट ४५ घन्टाको यात्रापछि पुगेका हौँ।
घर पुग्नका लागि त अझ पैदल हिँड्नु छ। करिब दुई घन्टा हिँड्न खुट्टा लागेकै थिएन। मन भने घरले तानिरहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।