काठमाडौं- दशैंले छपक्क छोपेसँगै काठमाडौं सुनसान देखिएको छ। दैनिक हजारौंको संख्यामा गुड्ने सवारी साधनको चाप यतिबेला काठमाडौंको सडकमा छैन।
विगत दुई वर्ष कोरोना महामारीका कारण उल्लासमयरुपमा दशैं मनाउन मानिसहरुले पाएका थिएनन्। महामारीका त्रासकाबीच घरभित्रै सिमित हुँदा उपत्यका छाड्नेहरुको संख्यामा कमी आएको थियो।
यसवर्ष कोरोनाविरुद्धको खोपको उपलब्धता, संक्रमण दरमा आएको कमीपछि धेरैले दशैं मनाउनका लागि उपत्यका छाडे।
ट्राफिक प्रहरीका अनुसार ९ लाख भन्दा धेरैले उपत्यका छाडेका छन्। मंगलबार फूलपातिका दिनमात्र १ लाख भन्दा धेरैले उपत्यका छाडेका छन्। यो क्रम अझै रोकिएको छैन। ट्राफिक प्रहरीले करिब ११ लाखले दशैंअघि उपत्यका छाड्ने अनुमान गरेको छ।
मानिससँगै उपत्यकामा गुड्ने सवारी साधनको ठूलो संख्या पनि बाहिरिएको छ। जसका कारण उपत्यकाका सडकमा सवारी साधनको संख्या न्यून छ। भाडाका सवारी भन्दा निजी सवारी सडकमा बढी देख्न पाइन्छ। दशैं काठमाडौंमै मनाउनेहरु पनि पारिवारिक रमाइलो र खानपानमा व्यस्त बन्दा बजार सुनसान देखिएको छ।
प्राय पसलका सटर बन्द छन्, भने सडकपेटीमा पैदल यात्रु निकै कम छन्। सावारी चाप कमी भएसँगै कतिपय चोकमा ट्राफिक प्रहरी छैनन् भने मुख्य चोकमा रहेका ट्राफिक प्रहरी पनि सडकको किनारमा वा घाम छलिएर उभिएका छन्।
सवारी साधनबाट निस्कने धुवाँ र धुलोले सडक हिँडिनसक्नुको अवस्था व्यहोर्ने काठमाडौंवासीले यतिबेला ति समस्याबाट उन्मुक्ति पाएका छन्।
उपत्यकाका केही तस्बिर :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।