ससुरा बा
ठाउँ खाली भो
सासू, साला, ज्वाइँ, सम्धी,
योग्यता यस्तै त रैछ।
म त तपाईंको छोरीको जीवन साथी हुँ
उनको सपनाको सारथि हुँ
‘केही गरि खान्नौ’ भन्ने तपाईंको गुनासो
धेरैपछि आएको मौका
छक्का हानौं न बा।
देशको प्रतिनिधि भएपछिको इज्जत
ज्वाइँ टोलीमा हुने प्रशंसा
तपाईंको ओठको खुसी हेर्ने मन छ बा।
भोलि खुस्केपछी के हुने
मौका अहिल्यै छ
ए ससुरा बा, ताकत हुँदै राजदूत बनाउनू न।
तपाईंकै पार्टिको गाउँ प्रतिनिधि
देशकै प्रतिनिधि हुँदै
अब सयरमा निस्कने मन छ।
सम्झनुहोस् त छोरी र नाति नातिनाको खुसी।
सम्झनुहोस् त सुट लगाएर
ठूलो गाडीमा हुइँकिएको।
ससुरा बा,
मेरो मान बढ्नु, तपाईंको मान बढ्नु हो
तपाईको मान बढ्नु देशको मान बढ्नु हैन र बा!
तपाईं खुसी हुनु देश खुसी हुनु हैन र बा!
किनकी तपाईं नै देश, देश नै तपाईं त हो।
त्यसैले
ससुरा बा ठाउँ खाली भो
छिटो राजदूत बनाउनू न बा!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।