• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार ६, २०८३ Sat, Jun 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

नेपाली कामदार ठग्‍ने र शोषण गर्नेको यस्तो छ अफशोर लगानी

रामु सापकोटा सोमबार, असोज १८, २०७८  ०७:०५
1140x725

मलेसियन पञ्‍जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले नेपालीसहित आप्रवासी कामदारमाथि श्रमशोषण गरेर नाफा कमाउने र त्यो रकम कर छल्ने नियतले खोलिएका अफशोर कम्पनीमा लगानी गरिरहेको खुलासा भएको छ।

मलेसियाको सबैभन्दा ठूलो सर्जिकल पञ्‍जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले धनकुटा छिन्ताङका युवराज खड्का (२९) लाई २३ सेप्टेम्बर २०२० मा जबरजस्ती कामबाट निकालेर नेपाल फिर्ता पठायो।

सन् २०१२ मा २० वर्षका युवराज एक जना एजेन्टलाई १ लाख २० हजार रुपैयाँ बुझाएर रोजगारीका लागि मलेसिया गएका थिए। त्यहाँ उनले टप ग्लोभ कम्पनीमा काम सुरु गरे। तर, कम्पनीले मलेसियाली सरकारले तोकेअनुसारको तलब र अतिरिक्त समय काम गरेको थप रकम दिएन। र, पनि युवराजले काम छोडेनन्।

नौ वर्षसम्म काम गरेपछि भने कम्पनीले अघिल्लो वर्ष (अक्टोबर, २०२०) बलजफ्ती कामबाट निकालेर घर पठायो।

खड्काको ‘अपराध’ भनेको उनले कोरोना कालमा कामदारहरू भीडभाडमा बसेर काम गरेको देखिने तस्बिर खिचेका थिए। ती तस्बिर सामाजिक सञ्‍जालमा सार्वजनिक गरेपछि कम्पनीले उनलाई तत्काल श्रम सम्झौता खारेज गरेर नेपाल फिर्ता पठायो। यसरी फिर्ता पठाउँदा कम्पनीले हवाई टिकटको खर्चसमेत व्यहोरेन।

खोज पत्रकारिता केन्द्र (खोपके) सँग कुरा गर्दै खड्काले ‘कोरोना महामारीका बेला पनि कामदार भीडभाडमा बस्नुपर्ने अवस्थाको तस्बिर खिचेको थाहा पाएर जबरजस्ती कामबाट निकालेको’ बताए। उनले सन् २०२० को मे महिनामा उक्त तस्बिर खिचेका थिए।

'टप ग्लोभ खतरनाक कम्पनी हो। उसका विरुद्ध कसैले उजुरी गर्‍यो भने व्यक्ति पहिचान गरेर दुर्व्यवहार गर्ने मात्र होइन, कामबाटै निकाल्छ,' उनी भन्छन्, 'त्यसैले धेरैजसो कामदार बरु ज्यादती खप्छन् तर, कम्पनीविरुद्ध उजुरी गर्दैनन्।'

अडिटरहरूले कम्पनीको स्थलगत निरीक्षण गर्ने गरे पनि उनीहरू आउनुअघि नै कामदारलाई राम्रो कुरा मात्र भन्‍न दबाब दिइने र कम्पनीले गराउने सोसियल अडिट नै पारदर्शी र वास्तविक नहुने खडका बताउँछन्।

nimb
nimb
Ncell 2
Ncell 2

खड्काका अनुसार, कम्पनीले कामदारलाई सरकारले तोकेको न्यूनतम तलब नदिने, खाना नखाएका कामदारबाट समेत क्यान्टिनले शुल्क असुल्ने, बिदाको दिन काम गर्दा अतिरिक्त भत्ता नदिनेजस्ता समस्या त्यहाँ कार्यरत धेरैजसो श्रमिकले भोगेका छन्।

खड्का मात्रै होइन, श्रम शोषणको आवाज उठाएको र विभिन्‍न ठाउँमा गुनासो गरेको भनेर अरू नेपाली कामदारलाई पनि टप ग्लोभले कामबाट निकालेको छ। काभ्रेका वीर तामाङ तीमध्येकै एक हुन्।

मलेसियास्थित आप्रवासी कामदारबारे आवाज उठाउँदै आएका नागरिकहरूको संस्था माइग्रेन्ट वर्कर्स् राइट टु रिड्रेस कोलिसनद्वारा २५ जनवरी २०१९ मा प्रकाशित एक विज्ञप्तिमा टप ग्लोभले कामदारलाई तोकिएको भन्दा बढी समयसम्म काममा लगाउने, ऋणको बन्धनमा पार्ने, असुरक्षित रूपमा काममा लगाउने, तलब रोकिदिने र पासपोर्ट नदिनेजस्ता काम गरेको उल्लेख छ।

टप ग्लोभले कोरोना महामारी सुरु भएपछि पनि कामदारमाथि शोषण गरिरहेको विवरण सार्वजनिक भए। ८ अप्रिल २०२० मा मलेसियाका विपक्षी दलका सांसद चार्ल्स सान्टियागोले नियामक निकाय र उत्पादकहरूले कम्पनीका कामदारहरूको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने बताएका थिए। उनले बेलायतको एक मिडियासँग कुरा गर्दै कामदारले जोखिम मोलेर काम गरे वापत अतिरिक्त रकम दिनुपर्ने भए पनि कम्पनीहरूले त्यसो गर्न अस्वीकार गरेको बताएका थिए। 

चाई परिवारको अफशोर कम्पनीमा लगानी
कामदारमाथि चर्को श्रम शोषणमा मुछिएको टप ग्लोभका मालिक तथा अध्यक्ष लिम वी चाई र उनको परिवारका सदस्यले ट्याक्स हेभन मुलुक, ब्रिटिस भर्जिन आइल्याण्डमा विभिन्‍न कम्पनी खोलेर लगानी गरेको भेटिएको छ।

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे) को ‘प्यान्डोरा पेपर्स’का गोप्य कागजात केलाउँदा चाई र उनको परिवारका सदस्यले ब्रिटिस भर्जिन आइल्याण्डमा लगानी गरेको खुलासा भएको हो।  उनीहरूले ‘माउन्टेन हाई क्यापिटल’, ‘रोबस्ट लिडर म्यानेजमेन्ट लिमिटेड’ र ‘टप इन्भेस्टमेन्ट लिमिटेड’ कम्पनी खोलेर लगानी गरेको पाइएको हो। चाई, मलेसियाका अर्बपतिमध्येमा पर्छन्।

आईसीआईजेको ‘प्यान्डोरा पेपर्स’का अनुसार टप ग्लोभका मालिक चाईले सन् २०१३ मा ब्रिटिस भर्जिन आइल्याण्डमा ‘माउन्टेन हाई क्यापिटल लिमिटेड’ नामक कम्पनी खोलेर लगानी गरेका हुन्।

टप ग्लोभका एक कर्मचारीले कम्पनी दर्तालगायतको काम गरिदिने ट्राइडेन्ट ट्रस्ट नामक ल फर्मलाई इमेल लेख्दै ‘माउन्टेन हाई क्यापिटल’ दर्ताको बारेमा सूचना आदानप्रदान गरेको भेटिएको छ। यो कम्पनीको निर्देशकमा लिम वी चाई स्वयं छन् भने निर्देशकहरूमा उनकी श्रीमती टंग सु बी र छोरा लिम जीन फेंग छन्।

कम्पनी दर्तासम्बन्धी प्राप्त कागजातअनुसार चाई, टप ग्लोभका अध्यक्षसमेत हुन्। त्यस्तै श्रीमती टंग सु बी, टप ग्लोभकी प्रबन्ध निर्देशक हुन्। यस्तै, चाईका छोरा लिम जीन फेंग टप ग्लोभकै सहायक प्रबन्धक हुन्। माउन्टेन हाई क्यापिटल नामक यो कम्पनीको कार्यालय मलेसियाको सेलंगर राज्यस्थित साह आलम सहरको टप ग्लोभ टावरमा रहेको उल्लेख छ।

आईसीआईजेबाट प्राप्त कागजातअनुसार चाईको टप ग्लोभ कम्पनीको व्यापार ब्रिटिस भर्जिन आइल्याण्डमै दर्ता भएको लेबनानको बेरुतस्थित मज्द मेडिक्स लिमिटेड नामक कम्पनीसँग जोडिएको छ। लेबनानको यो कम्पनीमार्फत् व्यापार गर्ने काममा डा.अहमद खतेर संलग्न छन्।

चाई यसअघि फेडेरेसन अफ मलेसियन म्यानुफ्याक्चरिङका अध्यक्ष पनि थिए। उनी मलेसियाको मलेसियन रबर ग्लोभ म्यानुफ्याक्चर्स एसोसिएसन (मार्गमा) का सदस्यसमेत हुन्।

इमेल आदानप्रदानको रेकर्डअनुसार ६ फेब्रुअरी २०१७ मा फेंगले ब्रिटिस भर्जिन आइल्याण्डमा दर्ता भएको आफ्ना बाबु चाईको कम्पनी माउन्टेन हाईमा एक डलरका दरले ५० हजार कित्ता सेयर रहेको प्रमाणित गरेका थिए। कागजातअनुसार चाईको मलेसियाको सीआईबीएम इन्भेस्टमेन्ट बैंकको खातामा २४ जनवरी २०१७ सम्ममा २७ करोड ६२ लाख ५ हजार ८८८.९५ रिंगिट बराबरको रकम थियो।

त्यस्तै, चाईको ३१ डिसेम्बर २०१८ सम्म टप ग्लोभमा प्रतिकित्ता ६.२०४० मलेसियाली रिंगिट मूल्य रहेको प्रत्यक्ष ७३ करोड ९८ लाख २९ हजार ५५२ कित्ता र अप्रत्यक्ष १७ करोड ४४ लाख ४३ हजार २१६ कित्ता साधारण सेयर लगानी छ। टप ग्लोभले सन् २०२० को नोभेम्बरमा प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार चाईसहित उनको परिवारका सदस्यको यो कम्पनीमा करिब २७ प्रतिशत सेयर लगानी रहेको देखिन्छ।

प्रतिवेदनअनुसार टप ग्लोभमा ‘फर्स्ट वे युनाइटेड कर्प’ नामक कम्पनीको ६.८ प्रतिशत प्रत्यक्ष सेयर लगानी छ। ‘फर्स्ट वे युनाइटेड कर्प’ ब्रिटिस भर्जिन आइल्याण्डमा दर्ता भएको कम्पनी हो।

माउन्टेन हाई क्यापिटलले कारोबारका लागि बैंक अफ सिंगापुरमा खाता खोलेको पाइएको छ। चाईले सिंगापुरलाई ‘गेटवे’ बनाएर आफ्नो धन ब्रिटिस भर्जिन आइल्याण्डसम्म पुर्‍याएको देखिन्छ। प्राप्त कागजातअनुसार उनको यो कम्पनीमा करिब एक करोड ४० लाख अमेरिकी डलर बराबरको सम्पत्ति छ। यो कम्पनीको सम्पर्र्क व्यक्तिमा पनि टप ग्लोभकै कर्मचारीको नाम राखिएको छ।

मलेसियाली लगानीकर्ताहरूको ‘ड्यू डिलिजेन्स’ गर्ने क्रममा कानुनी सल्लाहकारहरूले हेर्ने एउटा प्रमुख पाटो भनेको मलेसियाको सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड ‘वान एमडीबी’सँग सम्बन्ध रहे/नरहेको भन्‍ने हुन्छ। यो कम्पनी दर्ता गर्न नियुक्त ट्राइडेन्ट ट्रस्ट नामक ल फर्मले चाईको यो काण्डसँग सम्बन्ध नरहेको दाबी गरेको छ।

कम्पनीको वेबसाइटमा सार्वजनिक विवरणअनुसार टप ग्लोभका ५० फ्याक्ट्री, २२ हजार कामदार र ८१२ उत्पादन लाइन छन्। यसले वार्षिक १०० अर्ब गोटा पञ्‍जा उत्पादन गरेर १९५ मुलुकमा निर्यात गर्छ। झण्डै २० वर्षदेखि करिब तीन हजार नेपाली कामदार कार्यरत यो कम्पनीबाट उत्पादित पञ्‍जा नेपाल पनि आइपुग्छ। 

२ नोभेम्बर २०१८ मा टप ग्लोभ कम्पनीका सञ्‍चालक चाईले ब्रिटिस भर्जिन आइल्याण्डमा टप इन्भेस्टमेन्ट लिमिटेड नामक अर्को कम्पनी खोलेका छन्। यो कम्पनी दर्तालगायतको काम पनि ट्राइडेन्ट ल फर्मले नै गरेको थियो।

टप इन्भेस्टमेन्ट लिमिटेडका निर्देशकहरूमा चाईसँगै उनकी श्रीमती टंग सु वी, र छोरा लिम जीन फेंग, छोरी पिंग जुन लिम तथा अन्य मलेसियाली नागरिकहरू रुच यिन याप र हुई सि लाई छन्। यो कम्पनीले प्रतिकित्ता एक अमेरिकी डलरका दरले ५० हजार कित्ता सेयर जारी गर्ने अनुमति पाएको कागजातहरूमा उल्लेख छ।

तर, यो कम्पनीको एक अमेरिकी डलरका दरले दुई कित्ता सेयर यसका निर्देशक चाईले प्राप्त गरेको देखिन्छ। उक्त विवरणअनुसार चाई टप ग्लोभ एसडीएन बीएचडीका निर्देशकसमेत हुन्।

आईसीआईजेबाट प्राप्त कागजातअनुसार चाईको टप ग्लोभ कम्पनीको व्यापार ब्रिटिस भर्जिन आइल्याण्डमै दर्ता भएको लेबनानको बेरुतस्थित मज्द मेडिक्स लिमिटेड नामक कम्पनीसँग जोडिएको छ। लेबनानको यो कम्पनीमार्फत् व्यापार गर्ने काममा डा.अहमद खतेर संलग्न छन्।

टप ग्लोभ र मज्द मेडिक्स लिमिटेडबीच पञ्‍जा आपूर्तिका लागि समझदारी भएको पाइएको छ। उक्त समझदारीअनुसार मज्दले टप ग्लोभबाट खरिद गरेका पञ्‍जा लिबिया सहित मध्यपूर्व र उत्तर अफ्रिकी मुलुकमा बिक्री गर्छ।

टप ग्लोभका प्रमुख चाई र मज्दका निर्देशक डा.अहमद खतेरद्वारा हस्ताक्षरित समझदारीअनुसार मज्दले एक हजार जोडी पञ्‍जा बिक्री गर्दा ५० अमेरिकी सेन्ट मार्जिन राख्‍न पाउने उल्लेख छ। मज्दमा डा. खतेरको एक अमेरिकी डलरका दरले पाँच हजार कित्ता सेयर लगानी छ।

सन् २०१६ को फेब्रुअरीमा भएको एक समझदारीअनुसार मज्दले जर्मनीस्थित अर्थो मेडिकल जीएमबीएचबाट स्वास्थ्य सामग्री खरिद गरेर व्यापार गर्ने उल्लेख छ। मज्दले अर्थोको इराकस्थित स्थानीय एजेन्टबाट अप्रत्यक्ष रूपमा स्वास्थ्यसम्बन्धी सामग्री खरिद गर्ने सम्झौता गरेको पाइएको छ।

२ मे २०१७ को रेकर्डअनुसार माउन्टेन हाई कम्पनीसँग सम्बन्धित ब्रिटिस भर्जिन आइल्याण्डमा दर्ता भएको भेञ्‍चरलिस्ट लिमिटेड नामक कम्पनीमा पनि चाईसँगै उनका छोरा फेंग र अन्य तीन जनाको लगानी छ। यी पाँचै जना कम्पनीका निर्देशकहरू भएको कागजातहरूबाट देखिन्छ।

कम्पनीका बाँकी निर्देशक पनि टप ग्लोभ कम्पनीसँग सम्बन्धित देखिन्छन्। तर, २७ जुलाई २०१७ मा यो कम्पनीका निर्देशकबाट चाई र उनका छोरासहित एक अर्का निर्देशक हटेको र टप ग्लोभमै आबद्ध दुई व्यक्ति मात्र निर्देशकमा रहेको रेकर्डले देखाउँछ।

टप ग्लोभले ब्रिटिस भर्जिन आइल्याण्डमा रोबस्ट लिडर म्यानेजमेन्ट लिमिटेड नामक अर्को कम्पनी पनि खोलेको पाइएको छ। ट्राइडेन्टले टप ग्लोभलाई १४ जुलाई २०१८ मा इमेल लेख्दै उक्त कम्पनी नवीकरण गर्न भनेको विवरण फेला परेको हो। यो कम्पनी दर्ताको काम पनि ट्राइडेन्टले नै गरिदिएको हो। यसबाट टप ग्लोभले आप्रवासी कामदारमाथि श्रम शोषण गरेर नाफा कमाउने तर त्यो रकम कर छल्ने नियतले खोलिएका अफशोर कम्पनीमा लगानी गर्ने गरेको देखिन्छ।

टप ग्लोभका मालिक चाई र उनको परिवारका सदस्यहरूले ‘ट्याक्स हेवन’ मुलुकमा अफशोर कम्पनी खोलेर लगानी गरेको र नेपाली कामदारमाथि गरेको शोषणबारे खोपकेले टप ग्लोभ र चाईसँग प्रतिक्रिया माग्दा कुनै जवाफ आएन।

टप ग्लोभ कम्पनीमाथि आप्रवासी कामदारलाई श्रम शोषण गरेको आरोपमा अमेरिकाले उसबाट उत्पादित पञ्‍जा आयातमा प्रतिबन्ध लगाएको थियो। कोरोना महामारीका कारण मलेसियामा देशव्यापी बन्दाबन्दी भए पनि पञ्‍जा तथा पीपीई उत्पादन उद्योग भने सञ्‍चालनमै थिए। यसैबीच यो कम्पनीमा आप्रवासी कामदारमाथि चरम श्रमशोषण भएका विवरण सार्वजनिक भए। त्यसपछि १५ जुलाई २०२० मा अमेरिकाको भन्सार तथा सीमा सुरक्षा कार्यालयले टप ग्लोभबाट उत्पादित पञ्‍जाको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

कामदारमाथि शोषण
त्यसैताका यो संवाददातासँग कुरा गर्दै नेपालको पूर्वी पहाड घर भएका एक नेपाली कामदारले टप ग्लोभका अधिकारीले आफूहरुलाई यातना दिएको बताएका थिए। उनका अनुसार कामदारको गुनासोकै कारण अमेरिकाले प्रतिबन्ध लगाएको कम्पनी प्रमुखको आरोप थियो।

९ डिसेम्बर २०१८ मा बेलायती सञ्‍चारमाध्यम गार्जियनले पनि टप ग्लोभ लगायतका कम्पनीले नेपाल र बङ्‍गलादेशका हजारौं आप्रवासी कामदारलाई शोषण गरिरहेको समाचार सार्वजनिक गरेको थियो।

गार्जियनमा प्रकाशित न्यूज रिपोर्टमा ‘स्थानीय एजेन्टलाई करिब २ लाख रुपैयाँ सम्म बुझाएर टप ग्लोभमा काम गर्न गएका नेपाली कामदार शोषणमा परेको’ उल्लेख थियो। उक्त रिपोर्टअनुसार मलेसियामा कामदारहरूका लागि ज्याला करिब २१६० रिंगिट (२९ भदौ २०७८ को विनिमय दरअनुसार एक मलेसियन रिंगिट बराबर २९.१७ नेपाली रुपैयाँअनुसार ६३००७.२) तोकिएको भए पनि टप ग्लोभले करिब एक हजार रिंगिट मात्र दिने गरेको थियो। 

नेपाली संलग्नता 
टप ग्लोभमा नेपाली कामदार पठाउने काममा नेपाली नागरिक रबिन गुरुङ संलग्न छन्। टप ग्लोभले काठमाडौं महाराजगञ्‍जस्थित ट्रस्ट नेपाल ओभरसिज प्रालिका नाममा पठाएको पत्रअनुसार यो कम्पनीका प्रबन्ध निर्देशक गुरुङले टप ग्लोभमा कामदार पठाउँथे।

वैदेशिक रोजगारीका लागि पछिल्लो समय बन्द भएर २०७६ भदौदेखि खोलिएको मलेसियामा कामदार पठाउने क्रममा गुरुङले टप ग्लोभको रोजगारीका लागि प्रतिव्यक्ति झण्डै २ लाख रुपैयाँसम्म असुलेको कामदारहरू बताउँछन्। गुरुङले कामदारबाट अतिरिक्त शुल्क असुलेको थाहा पाएपछि टप ग्लोभले ट्रस्ट नेपालमार्फत् तीन महिनादेखि कामदार लिन छोडेको थियो।

रबिनका साझेदार तथा नेपाली कामदारका लागि खाना खुवाउने टप ग्लोभका क्यान्टिन सञ्‍चालक ‘डेभिड’ भनिने दुर्गाबहादुर श्रेष्ठ नेपाली कामदार ठगी गरेको तथा बन्धक बनाएको आरोपमा १४ असोज २०७७ मा पक्राउ परेका थिए। मलेसियामा नेपाली कामदार बन्धक बनाएर पैसा असुल्ने काममा संलग्न भएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले श्रेष्ठलाई नेपाल आएका बेला पक्राउ गरेको थियो।

डेभिडकी श्रीमती तथा सिंगापुरकी नागरिक मे च्यु वी लिंगले मलेसियामा नेपाल, इन्डोनेसिया र म्यानमारलगायत मुलुकबाट कामदार आपूर्ति गर्न रिलिग म्यानेजमेन्ट एसडीएन बीएचडी नामक कम्पनी खोलेको कागजात फेला परेको छ। र, रिलिग कम्पनीमार्फत् नेपालसहितका मुलुकबाट टप ग्लोभ लगायतका कम्पनीलाई कामदार उपलब्ध गराउन रबिन गुरुङले रकम असुल्ने गरेको गोप्य सन्देशहरू फेला परेका छन्। 

यो कम्पनी मलेसियामा सफाइसम्बन्धी सेवा दिने उद्देश्यले खोलिएको भए पनि कामदार आपूर्ति गर्ने र त्यसबापत् सीआईबीएम बैंक मार्फत् रकमको कारोबार गरेको भेटियो।

प्राप्त सन्देशका आधारमा रिलिग कम्पनीबारे थप खोजी गर्दा कम्पनिज् कमिसन अफ मलेसियाबाट केही कागजातहरू भेटिएका छन्। ती कागजातअनुसार सन् २०१५ मा स्थापना भएको रिलिगमा रबिन गुरुङले ६ लाख संख्यामा सेयर लगानी गरेको भेटिएको छ। यसबाहेक उनकी श्रीमती मे च्यु वी लिंगको ३ लाख ५० हजार र एक अर्का मलेसियन लो चेन साईअङको ५० हजार संख्यामा सेयर लगानी छ। यी तीनै जना यो कम्पनीका निर्देशकसमेत हुन्। तर नेपालको कानुनले नेपाली नागरिकलाई विदेशमा कम्पनी खोलेर लगानी गर्न प्रतिबन्ध लगाएको छ।

वैदेशिक रोजगार विभागको रेकर्डअनुसार रबिन गुरुङको कम्पनी ट्रस्ट नेपालविरुद्ध सन् २००७ देखि २०१६ सम्ममा ठगीका ५६ वटा उजुरी परेका थिए। विभागले सन् २००७ मा उनको कम्पनीलाई कालोसूचीमा राखेको थियो। तर, एक लाख रकम जरिवाना तिराएपछि विभागले ट्रस्ट नेपाललाई कालोसूचीबाट हटायो।

खोपकेले मलेसियाको कम्पनीमा गरेको लगानी, कामदारबाट अतिरिक्त शुल्क असुल्ने र एउटा कामका लागि अनुमति लिएर अर्को काम गरेको लगायतका विषयमा रबिन गुरुङलाई प्रश्न गरेको थियो। जवाफमा गुरुङले मलेसियामा कामदार आपूर्ति गर्न केही समय पहिला मलेसियामै स्थानीय कम्पनी खोल्नुपर्ने नियम भएकाले रिलिग म्यानेजमेन्ट एसडीएन बीएचडी नामक कम्पनी खोलेको बताए। उनले मलेसियामा नेपालीले मात्र कम्पनी खोल्न नपाइने भएकाले स्थानीय साझेदारसमेत राखेको जानकारी दिए।

मलेसियामा सफाइको काम गर्ने भनी खोलिएको रिलिग म्यानेजमेन्ट एसडीएन बीएचडीले टप ग्लोभमा कामदारलाई खाना खुवाउने क्यान्टिन सञ्‍चालन गरिरहेको र, यही कम्पनीअन्तर्गत मिनीमार्टहरू समेत सञ्‍चालन भइरहेको गुरुङले बताए। तर व्यवहारमा यो कम्पनीले नेपाल, म्यानमारलगायत देशबाट कामदार आपूर्तिसमेत गरिरहेको छ। यसबारे गुरुङ भन्छन्, 'केही अघिसम्म  मलेसियामा जुनसुकै कम्पनी दर्ता गरे पनि जस्तोसुकै काम गर्न पाइथ्यो। त्यसैअनुसार क्लिनिङ कम्पनी भए पनि पहिले त्यही कम्पनीमार्फत् कामदार सप्लाइ गरेका हौं।'

गुरुङले पछिल्ला दिनहरूमा टप ग्लोभले आफ्नो काठमाडौंस्थित कम्पनी ट्रस्ट नेपालमार्फत् कामदार लिन छोडेको भन्‍ने विषय अस्वीकार गरेका छन्। कोरोना महामारीका कारण टप ग्लोभमा नेपाली कामदार पठाउन रोकिएको दाबी गरेका उनले कम्पनीबाट कामदारका लागि टेण्डर आह्वान भएमा आफूले दरखास्त हाल्ने बताए। उनले टप ग्लोभमा कामदार पठाउँदा अतिरिक्त शुल्क असुलेको आरोपको पनि खण्डन गरेका छन्। 'हाम्रो कम्पनीबाट टप ग्लोभमा चार पाँच सय कामदार पठाएका थियौं। यसमध्ये १५/२० जनाले अतिरिक्त शुल्क बुझाएको गुनासो गरेका थिए। त्यो अतिरिक्त शुल्क ट्रस्ट नेपाललाई नभएर गाउँका आफन्त तथा एजेन्टलाई बुझाएका हुन्। हामीले उनीहरूबाट अतिरिक्त रकम लिएका छैनौं,' उनले भने।

मलेसियामा रिलिग लगायतका कम्पनीमा गरेको लगानीको स्रोतबारे प्रश्न सोध्दा गुरुङले नेपालमा ट्रस्ट नेपाल ओभरसिजलगायत कम्पनीबाट भएको आम्दानीको रकम मलेसियामा लगेर लगानी गरेको बताए। 

टप ग्लोभमाथि मलेसियामै प्रश्न
टप ग्लोभमा कार्यरत कामदारमाथि हुने गरेको शोषण सार्वजनिक भएसँगै मलेसियाको नियामक निकायले कम्पनीको निरीक्षण गरेको थियो। तर, उसमाथि कुनै कारबाही हुन नसकेको मलेसियामा आप्रवासी कामदारको अधिकारका लागि वकालत गर्दै आएकी मानवअधिकारकर्मी रानी रसिया बताउँछिन्।

उता टप ग्लोभले भने मानवअधिकार विरुद्धको कुनै पनि काम कारबाहीमा शून्य सहनशीलता अपनाएको दाबी गर्दै आफूहरूमाथि लगाइएका आरोपहरूको खण्डन गर्दै आएको छ।

तर, टप ग्लोभमा कार्यरत नेपाली कामदारमाथि श्रमशोषण भइरहेको विषय सार्वजनिक भएपछि १८ डिसेम्बर २०१८ मै माइग्रेन्ट वर्कसर्् राइट टु रेड्रेस कोलिसनले विज्ञप्ति जारी गरी मलेसिया सरकारले श्रमसम्बन्धी नीति तथा नियमले प्रत्याभूत गरेका कामदारका हकअधिकार कार्यान्वयन गर्नुपर्ने बताएको थियो। कोलिसनले आप्रवासी कामदारमाथि भइरहेको दुर्व्यवहारविरुद्ध बोल्नुपर्नेमा मलेसियाका मानव संसाधन मन्त्रीले उल्टै कम्पनीको बचाउमा लागेको आरोप लगाएको थियो। 

कोलिसनले जबरजस्ती श्रम रोक्नुपर्ने, निःशुल्क भर्तीको व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने, कानुनविरुद्ध हुने गरी बढी समय काममा लगाउन रोक्नुपर्ने, कम्पनीको नियमित निरीक्षण गर्नुपर्ने, कामदारको पासपोर्ट उनीहरूसँगै राख्ने व्यवस्था गर्नुपर्ने लगायत माग राखेको छ।

कोलिसनका प्रवक्ता रानी रसियाले ६ सेप्टेम्बर २०२१ मा खोपके, नेपालसँगको भर्चुअल अन्तर्वार्तामा अहिले पनि टप ग्लोभमा कामदारको अवस्थामा धेरै सुधार नभएको बरु त्यहाँभित्र कामदारमाथि हुने गरेको दुर्व्यवहारका मुद्दामा मलेसिया सरकार उदासीन रहेको बताइन्। कम्पनीले करबापत ठूलो रकम दिइरहेकाले सरकार यस विषयमा नरम रहेको उनको आरोप छ।

रसियाका अनुसार टप ग्लोभले भर्ती शुल्कबापतको रकम फिर्ता गर्न थालेको भन्‍ने सुनिए पनि कम्पनीले कामदारको तलबबाट अन्य विभिन्‍न शीर्षकमा शुल्क असुलिरहेको छ।

महामारीमा झन् शोषण
अफशोर कम्पनीमा लगानी गर्ने मलेसियाका धनाढ्यले सञ्‍चालन गरेको टप ग्लोभमा काम गर्ने नेपाली सहित अन्य देशका आप्रवासी कामदार कोरोना महामारीपछि झन् प्रभावित भएका छन्। कोरोना महामारीसँगै पञ्‍जाको माग सबैतिर एक्कासी बढेपछि कम्पनीले कामदारलाई अतिरिक्त समय काममा लगायो।

कामदारहरुका अनुसार उनीहरुले उत्पादन बढाउन १३ देखि १४ घण्टासम्म निरन्तर काम गरे तर, १२ घटासम्मको मात्रै तलब दिइयो। छोटो समयमा बढी पञ्‍जा उत्पादन गर्नैका लागि कम्पनीले भिसा सकिएका नेपालीलाई समेत घर जान दिएन।

विभेद यतिसम्म गरियो कि बन्दाबन्दीको समयमा मलेसियन कामदारलाई ल्यापटप मार्फत घरबाटै काम गर्न भनिए पनि आप्रवासी कामदारलाई भौतिक उपस्थिति अनिवार्य गरिएको कामदारहरू बताउँछन्। 

मलेसियामा बन्दाबन्दीका कारण टप ग्लोभको होस्टेलमा बस्ने पाँच हजारभन्दा बढी संख्याका आप्रवासी कामदार प्रत्यक्ष प्रभावित भए। होस्टेलको क्‍वारेन्टिनमा रहेर काम गर्ने कामदारले बन्दाबन्दीको बेलामा सजिलै सुरक्षित रूपमा खानेकुरा पाउन समेत मुश्किल थियो। टप ग्लोभमा सुरक्षा गार्ड रहेका एक नेपाली कामदारका अनुसार, कम्पनीले कोरोना संक्रमित तथा संक्रमणको शंकामा परेका ३० जना कामदारलाई एउटै कोठामा कोचेर राखेको थियो। कम्पनीले सुरक्षा मापदण्ड पूरा नगरेकै कारण संक्रमण तीव्र रुपमा फैलिएपछि मलेसियाको सुरक्षा मन्त्रालयले २६ अगस्ट २०२१ मा मापदण्ड पालनामा कडाइ गरेको थियो।

न्यूयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार टप ग्लोभले विश्वको रबर पञ्‍जा बजारको लगभग एक चौथाइ माग पूर्ति गर्छ। त्यसो त मलेसियामा रबरका पञ्‍जा उत्पादन गर्ने कम्पनीहरूले विश्वको ६० प्रतिशत माग धान्छन्। बेलायतको न्यासनल हेल्थ सर्भिसले पनि टप ग्लोभबाट उत्पादित पञ्‍जा प्रयोग गर्दै आएको छ।

टप ग्लोभको वेबसाइटमा भएका विवरण अनुसार यो कम्पनीको पञ्‍जा उत्पादन गर्ने कारखानाहरु मलेसिया, थाइल्याण्ड, भियतनाम र चीनमा छन्। टप ग्लोभमा अमेरिका र युरोपका विभिन्‍न कम्पनीहरूको कम्तीमा पनि २१ करोड ७९ लाख अमेरिकी डलर बराबरको लगानी छ। 

मलेसियाका अधिकांश ठूला कम्पनी भ्रमण गरेर प्रवासी कामदारको अवस्थाबारे अध्ययन गरेका अधिकारकर्मी एन्डी हल टप ग्लोभले अझै पनि कामदारलाई पूरा तलब नदिएको खोपकेलाई बताए। 

'शून्य भर्ती शुल्क भनिए पनि पहिले नै कामदारबाट एजेन्टको सहयोगमा असुलिएको रकम फिर्ता गरिएको छैन,' हल भन्छन्। उनी उत्पादनको काम गर्ने कामदारमाथि शोषण गरेर टप ग्लोभका मालिक र पञ्‍जा खरिद गर्ने पश्चिमा मुलुकका कम्पनीले नाफा कमाइरहेको बताउँछन्। 

हलका अनुसार कोरोना महामारी सुरु हुनुअघि टप ग्लोभमा पञ्‍जा किन्‍न युरोप र पश्चिमा देसहरूले नियन्त्रण जमाएका थिए। पञ्‍जा बिक्री गर्न ती देशहरूले भनेअनुसार टप ग्लोभले काम गर्नुपर्थ्यो।

तर जब कोरोना महामारी सुरु भयो, तब पञ्‍जा बिक्रीमा टप ग्लोभ हाबी भयो। महामारीको समयमा विश्वभर नै सर्जिकल पञ्‍जाको माग बढ्यो। महामारीका बेला पञ्‍जा बिक्री गर्ने टप ग्लोभलगायतका कम्पनीले यसको मूल्य बढाए र यसबाट ठूलो नाफा कमाए।

मलेसियामा कामदारको अधिकारबारे आवाज उठाउँदै आएकी नागरिक अगुवा रानी रसिया टप ग्लोभले पञ्‍जा उत्पादन गरी बिक्री गरेबापत् आर्जन गरेको नाफा कम्पनीका सञ्‍चालक तथा ठूला लगानीकर्ताले पाइरहे पनि कामदारको मानवअधिकारको बारेमा सरकार र कम्पनी सञ्‍चालक अझै पनि जिम्मेवार नदेखिएको बताउँछिन्। उनले कामदारको मानवअधिकार मुद्दामा जिम्मेवार नदेखिने टप ग्लोभ जस्ता कम्पनीहरूलाई सुधार्न अन्तर्राष्ट्रिय दबाब आवश्यक भएको बताउँछिन्।

'कोरोना महामारीको समयमा टप ग्लोभका मालिकसहित कम्पनीबाट पञ्‍जा खरिद गरेर विभिन्‍न देशका सरकार र त्यहाँका अस्पताललाई बिक्री गर्ने एजेन्टहरूले पनि मनग्य नाफा कमाए' नेपाली कामदारको हकबारे वकालत गर्दै आइरहेका अधिकारकर्मी हल भन्छन्, 'तर कामदारले त्यही समयमा असुरक्षित र शोषित भएर काम गर्नुपर्‍यो।'

खोज पत्रकारिता केन्द्र

यो पनि पढ्नुहोस्:

प्यान्डोरा पेपर्स खुलासा : यी हुन् ‘ट्याक्स हेभन’ मुलुकमा लगानी गरेका १६ नेपाली
राधेश्याम सराफ : अफशोर कम्पनीबाट लगानी गरेर हायात कब्जा
ट्याक्स हेभन मुलुकमा विनोद चौधरी, श्रीमती सारिका र तीन छोराकै लगानी
‘ट्याक्स हेभन’ मुलुकमा गोल्छा परिवारको लगानी : उखु किसान ठगीदेखि अन्तर्राष्ट्रिय अफशोर ‘कनेक्सन’
‘नेताहरुले नै अफशोर संसारबाट लाभ लिइरहेका छन्’

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पूर्वमहामन्त्री धवल शमशेरलाई पार्टीमा फर्किन राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
रास्वपा केन्द्रीय सदस्यको निर्वाचन हुने
समयमा काम नगर्ने ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भए पनि काम लगाउन मन्त्री लम्सालको निर्देशन
सम्बन्धित सामग्री
नेपाल टेलिभिजनका उपकरण खरिदको छानबिन गरिँदै, मन्त्रालयले बनायो समिति मन्त्रालयका अनुसार २०८३ असार १ गते मन्त्रीस्तरीय निर्णयबाट डा. सुदीप भट्टराईको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । बुधबार, असार ३, २०८३
देशभर साढे १० लाखले गरे मतदानः निर्वाचन आयोग बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार मत खसेको आयोगले जनाएको छ । यो कूल मतको करिब ६ प्रतिशत हो । बिहीबार, फागुन २१, २०८२
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
ताजा समाचारसबै
पूर्वमहामन्त्री धवल शमशेरलाई पार्टीमा फर्किन राप्रपा अध्यक्ष लिङ्देनको आग्रह शनिबार, असार ६, २०८३
रास्वपा केन्द्रीय सदस्यको निर्वाचन हुने शनिबार, असार ६, २०८३
समयमा काम नगर्ने ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भए पनि काम लगाउन मन्त्री लम्सालको निर्देशन शनिबार, असार ६, २०८३
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
उत्तरपश्चिम पाकिस्तानको बन्नुमा दुई विस्फोट: सात जनाको मृत्यु, तीन घाइते शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक शुक्रबार, असार ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्