म तर्साइएँ
म डराइएँ
म आतङ्कित बनाइएँ
आफ्ना अभिवावकसँग
आफ्नै संगिनीसँग
आफ्ना मित्रसँग
आफ्नै घरसँग
यस्तै छ आफू बस्ने घरको वरिपरि
बाहिर निस्कन पनि सोच्नु पर्ने
खाँदा पनि जाँच्नु पर्ने
लेख्दा पनि सोच्नु पर्ने
बोल्दा विचार गर्नु पर्ने
के भएको हो मेरो वरिपरि?
छिमेकी बाले भन्दै थिए
नयाँ मुल्लाहरु जन्मेका छ्न् रे
कराएर बोल्छ्न् रे
आफ्नो दुखेसो सुनाए धम्काउँछ्न् रे
घरभित्रै आगो झोस्छन् रे
मिलेर बसेको मन पराउँदैनन् रे
अर्काको भाग खोस्छ्न् रे
अनुनय विनय कमजोरी ठान्छन् रे
यसर्थ,
म त्यही गर्छु जे तिनी गर्छन्
तिनी कराए म चिच्याउँछु
जस्ताको त्यस्तै गर्छु
आफ्नो घर बचाउन
आफ्नो समाज जोगाउन
आफूलाई आफैँ जस्तो राख्न।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।