काठमाडौं– भोजराज घिमिरेको उपन्यास ‘इन्द्रमाया’ सार्वजनिक भएको छ। भर्चुअल माध्यमबाट उपन्यासको विमोचन गरिएको छ।
कवि तथा गीतकार डा. विमल कोइराला र नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उपन्यास विमोचन गरे। कार्यक्रममा एलबी क्षेत्री, साधना प्रतीक्षा, घनेन्द्र ओझा र महेश पौड्यालले उपन्यासमाथि समीक्षात्मक टिप्पणी गरे। उनीहरुले बीपी कोइरालाको उपन्यास ‘तीन घुम्ती’ की पात्र इन्द्रमायाको बाँकी जीवनलाई विषय बनाएर उपन्यास लेखिनु साहासिक काम भएको बताए।
घिमिरेको उपन्यास ‘इन्द्रमाया’ बीपी कोइरालाको प्रसिद्ध उपन्यास ‘तीन घुम्ती’ को पुनर्पठन हो। बीपी कोइरालाले इन्द्रमायालाई एक विद्रोही नेवारी महिलाको रूपमा उभ्याएका छन्।
इन्द्रमायाले राजनीतिक विद्रोही पीताम्बरसँग आमा–बुबाको सहमति विपरीत विवाह गर्छिन्। विवाहपछि पतिले उनी बन्ध्या रहेकोले बच्चा जन्माउन नसकेको आरोप लगाउँछन्। उनले आफू बाँझो छैन भनेर प्रमाणित गर्नका लागि पीताम्बरको साथी रमेशसँग यौन सम्बन्ध राखी छोरी जन्माउँछिन्।
यसपछि रमेश उपन्यासको दृश्यबाट हराउँछ। यता पीताम्बरले इन्द्रमायालाई कि ‘छोरी त्याग, कि प्रेम त्याग’ भन्दा उनी छोरी च्यापेर घरबाट निस्किन्छिन्। इन्द्रमायाले घरबाहिर नै रहेर छोरी हुर्काउँछिन् ।
घिमिरेको उपन्यास ‘इन्द्रमाया’ त्यहाँबाट सुरू हुन्छ, जब इन्द्रमाया घर छोडेर एक मन्दिरमा शरण लिन्छिन्। यस उपन्यासले एक्ली महिलाको सङ्घर्षले जीवनमा सफलता प्राप्त गरेको कथा भन्छ। जटिल मानव सम्बन्ध, पुरुष र महिला अधिकार, असन्तुलित लैङ्गिक समीकरण, सामाजिक आदर्श, मानव अधिकार र स्वतन्त्रतामा उपन्यासले बहसको आग्रह गर्छ।
कार्यक्रममा उपन्यासकार घिमिरेले आफू बीपी कोइरालाकी पात्र इन्द्रमायाबाट धेरै प्रभावित भएको बताए। तीन घुम्ती पढिसकेपछि आफ्नो पतिको घर छाडेकी इन्द्रमायाले कसरी जीवन बिताइरहेकी थिइन् भनेर खोजेको उनको भनाइ छ। ‘बीपी कोइरालाले आफ्नो तीन घुम्तीमा छोडेका कतिपय रिक्तताको जवाफ खोज्नको लागि यो उपन्यास लेखेको हुँ,’ उनले भने।
कुलपति गङ्गाप्रसाद उप्रेतीले उपन्यासको कथा प्रविधि र लेखकले पात्र चयनमा देखाएको चलाखीको खुलेर प्रशंसा गरे। शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य रू.४९९ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।