हाम्रो गाउँको जुठे
पुलिस भयो
हिजोसम्म गाउँकै ठिटो
अब ठूलो मान्छे भयो ।
गाउँमा आँखा जुधेकी जुठी
हाकिम्नी भई ।
ठूलो मान्छे थोत्रो घरमा बस्नु हुन्न
हाकिमको घर पक्की नै हुनु पर्छ
गाउँ घरका साथी–संगीसँगै
जुठी पनि खोक्दै थिई–
छोराछोरी सरकारी होईन
बोर्ङिङमा पढाउनु पर्छ
मोटो होईन मिठो मसिनु खानु पर्छ
गाउँको भुन्टे दाइले सिएको होइन
रेडिमेड लगाउनु पर्छ ।
हाम्रो गाउँको जुठे पुलिस भयो
मोबाईल फेसबुक हेर्ने किन्नु पर्छ
टिभी पनि ठूलो किन्नु पर्छ
फुर्माईसमाथि फुर्माईस
थपिँदै थियो
उता जुठेको चिन्ताको पारा
चढ्दै थियो
बाउ–बाजेले कमाएको जग्गा
सर्लक्कै आधा–आधी भइसक्यो
पेन्शन कहिले पाक्ने
रिनबाट मुक्ती कहिले पाउने
दिमाग डिउटीमा होईन रिनमा घुम्दै थियो ।
पेन्शन पाक्यो
हाम्रो जुठे साउदी गयो
बिग्रेको व्यवस्था मिलाउन
लागेको रिन तिर्न...
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।