यतिबेला नेपालको कम्युनिष्ट आन्दोलन इतिहासको सबैभन्दा संकटपूर्ण अवस्थामा छ। नेकपा (एमाले) लाई विभाजन र विखण्डन गर्न विभिन्न शक्ति केन्द्रहरू सक्रिय भएको तथ्य दुनियाँका सामु छर्लङ्ग छ। एमालेको एकताका लागी बनेको वातावरणसमेत भाँड्न, विथोल्न र परिस्थतिलाई थप उत्तेजक पार्न विभिन्न शक्ति समूह र व्यक्तिहरु सक्रिय रूपमा अस्वाभाविक ढंगले क्रियाशील भएका छन्। यस क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दौडधुपसमेत अत्यन्त अस्वभाविक छ। आज नेकपा (एमाले) विभाजन होइन, एकताको बाटोबाट अघि बढ्नु पर्छ।
पार्टीका वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालविनाको एमाले सग्लो एमाले हुन सक्दैन। उहाँहरुलाई बाहिर राखेर कसैले पनि एकताको परिकल्पना गर्न सक्दैन। सम्पूर्ण टिमसहितको सम्मानजनक एकता आजको वस्तुगत आवश्यकता हो। हामी यही बाटोबाट अगाडि बढ्नुपर्छ।
एकता प्रक्रियाका लागि छलफल अगाडी बढिरहेको, कार्यदलले दश बुँदे सुझाव प्रतिवेदन बुझाइसकेको र अनौपचारिक छलफलपछि थप विषयहरुमा समेत समझदारी बनिरहेको अवस्थामा गत साउन १६ गते काठमाडौं जिल्लाको एक कार्यकर्ता भेलामा अध्यक्ष केपी शर्मा ओलीले ‘माधवकुमार नेपाल देशद्रोही’ भन्नेजस्ता निम्नस्तरका शब्दावलीहरू प्रयोग गर्दै दिएको अभिव्यक्ती एकता विरोधी र खेदजनक छ। एकता प्रक्रिया एकातिर अड्काएर अर्कोतर्फ एक पक्षीय स्थायी कमिटी बैठक बसेर विधान अधिवेशन, कार्यविभाजन, सदस्यता वितरण र नवीकरण गर्नेजस्ता निर्णयहरु गरेर अघि बढ्नुले त्यो समूहको एकता प्रक्रियाबाट भाग्ने र एकता प्रक्रिया तोड्ने मनसाय हो भनेर बुझ्न कठिन छैन।


यताको समूहमा रहनुभएका कतिपय कमरेडहरु पार्टी विभाजन गर्ने र अर्को दल दर्ता गर्ने प्रयोजनका लागी जस्केलाबाट हस्ताक्षेर संकलन गरिरहेको बुझिन आएको छ। हामी विधिका लागि भनेर लडाइँ लड्ने, तर आफूभित्र कुनै विधि नमान्ने, समूहको छलफल र निर्णयविना छदम रूपमा यसरी गरिने कृयाकलापले पार्टी त के समूहमा समेत विभाजन ल्याउँछ। फुटवादी र संकीर्ण गतिविधि गलत छन् र त्यस्ता क्रियाकलाप बन्द गरिनुपर्छ। नेकपा एमालेको एकता मात्र होइन, सिङ्गो कम्युनिष्ट आन्दोलनको एकताको कुरा गरिरहेको बेला आफ्नो विचार समूहको एकतालाई ख्याल गरिएन भने हास्यास्पद हुन्छ।
पार्टीको एकता घोषणा नहुन्जेलसम्म हाम्रा गतिविधिहरु विभिन्न रूपमा जारी राख्रनुपर्छ। जिल्लास्तरका प्रशिक्षण भेलाहरु, ‘आजको राजनीतिक संकट, एमालेको एकता र कम्युनिष्ट आन्दोलनको भविष्य’ जस्ता विषयमा अन्तरक्रिया, विमर्शहरु आयोजना गर्ने। सबै जनसंगठनलाई चलायमान बनाउने। अर्को पक्षले सदस्यता वितरण र एकतर्फी नवीकरणको काम नरोकेको खण्डमा हाम्रो पक्षको स्थायी कमिटी बैठक बसेर पार्टी संगठन विस्तार र सुदृढीकरण अभियान घोषण गरेर व्यापक सदस्यता वितरण, नवीकरण, प्रशिक्षण, भेला जस्ता कार्यक्रमहरुको सामूहिक योजना बनाएर अघि बढ्नु पर्छ।
हाम्रो समूह हाल सरकारमा सामेल हुनुहुँदैन। हाम्रो संघर्ष संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संसद रक्षाका लागि थियो। संसद पुनःस्थापना र लोकतान्त्रिक सरकार निर्माण भएपछि हाम्रो दायित्व पूरा भएको छ। सरकारलाई अब गुण र दोषका आधारमा समर्थन र विरोध गर्नुपर्छ। यो दौरानमा अग्रमोर्चामा उभिएर आफ्नो भूमिका निर्वाह गर्नुभएका माननीय सांसदहरू र सबै नेता–कार्यकर्ताहरूलाई हार्दिक धन्यवाद दिनुपर्छ।
(एमाले केन्द्रीय सदस्य आचार्यले एमालेको माधवकुमार नेपालपक्षको जारी केन्द्रीय कमिटी बैठकमा पेस गरेको प्रस्तावको सम्पादित अंश)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।