आसामको गाहापुर र दिमा हसाओमा राखिएका भानुभक्तका सालिक। आदिकवि भानुभक्त आचार्यका सालिक भारतका धेरै ठाउँमा राखिएका छन्। त्यहाँका नेपाली भाषीले भानुभक्त आचार्यलाई एकताका प्रतीक मान्छन्। उनको सम्झनामा हरेक वर्ष २९ असारमा धुमधामले भानु जयन्ती मनाइन्छ।
भानु जयन्तीमा विभिन्न कार्यक्रम गर्नुका साथै भानुका सालिकमा माल्यर्पण गरिन्छ। भारतका दार्जिलिङ, कालिम्पोङ, सिलगढी, सिक्किम, मणिपुर, शिलाङ, गुवाहाटी आदि स्थानमा भानुको सालिक राखिएका छन्। यी सालिकले आदिकविको सम्झना गराइरहे पनि उनलाई आकार दिने कलाकारको भने कतै चर्चा हुँदैन। न त सालिकमा कलाकारको नाम नै राखिने गरिन्छ।
दार्जिलिङको चौरस्ता चोकमा नौ फिट अग्लो सालिक राखिएको छ। नेपाली साहित्य सम्मेलन, दार्जिलिङद्वारा प्रतिस्थापित सो सालिकलाई पश्चिम बंगालस्थित कृष्णनगरका चर्चित मूर्तिकार मृगांक पालले बनाएका हुन्।
यसअघि यही ठाउँमा भानुको अर्धकदको सालिक थियो। त्यसलाई पश्चिम बंगालका तत्कालीन मुख्यमन्त्री डा. कैलाशनाथ काटजुको सहयोगमा १७ जुन १९४९ मा स्थापना गरिएको थियो। सो सालिक सन्तपल स्कुलका ई.एफ. थमसनले निर्माण गरेका थिए।
दार्जिलिङको चौरस्तामा भानुको सालिकमा तस्वीर लिँदै पर्यटक।तर, गोर्खा पावत्र्य परिषद्को आन्दोलनमा उक्त सालिक तोडफोड गरियो। त्यसपछि मृगांक पालले बनाएको पूर्णकदको सालिक राखिएको हो। पालले बनाएका भानुका सालिक सिलगढी, नक्सालबाढी, खर्साङमा पनि प्रतिस्थापन गरिएको छ। उनले भारतका विभिन्न सहरमा राखिएका राजा हर्षबद्र्धन, महात्मा गान्धी, इन्दिरा गान्धी, सुवासचन्द्र बोस आदिका सालिक पनि बनाएका छन्।
डा. टेकनारायण उपाध्यायका अनुसार शिलाङमा रहेको भानुको सालिक ‘अखिल शिलाङ भानु जयन्ती समारोह समिति’ले स्थापना गरेको हो। यो सालिक गोर्खा पाठशालाको प्राङ्गणमा प्रतिस्थापन गरिएको छ। उक्त समितिको अध्यक्ष भइसकेका डा. उपाध्यायकै कार्यकालमा सन् २००४ मा सालिक स्थापना गरिएको हो। तर, बनाउने कलाकारबारे कुनै जानकारी दिइएको छैन। डा. उपाध्यायले सालिक समितिकै सम्पत्ति भएको बताए।
भारतको बिरपाडा डुवर्स निवासी कलाकार किर्पेन्द्र गुरुङले भानुका धेरै सालिक बनाइसकेका छन्। उनले बनाएका भानुका मूर्तिको त्यहाँ निकै ख्याति र माग छ। उनी मूर्तिकलासँगै चित्रकलाको पनि साधना गरिरहेका छन्। उनी भन्छन्, ‘मेरो प्रथम अभ्यास भनेकै आदिकवि भानु बाजे हुन्। प्रशिक्षणकै बेला मेरो गुरु सुब्रतो मण्डलको रेखदेखमा मैले सिमेन्टबाट आदिकवि भानुभक्तको अर्धकद्को सालिक बनाइ कालेबुङ बीटी कलेज कार्यालयको अघि राख्न पाएँ।’
बिरपाडा डुवर्सका कलाकार किर्पेन्द्र गुरुङ आफूले बनाएका सालिकअघि तस्वीर खिचाउँदै।अहिलेको जागरुक र सचेत जमातमा ऐतिहासिक धरोहरहरुको संरक्षण गर्नुपर्ने सोच आउँदा नै मूर्तिकलालाई प्रोत्साहन मिलेको गुरुङ बताउँछन्। समाजलाई योगदान दिने विभिन्न व्यक्तिहरुको सालिक स्थापना गर्ने चलन पुरानो होइन। अहिले मूर्तिकारहरुको पनि सम्मान हुन थालेको उनको अनुभव छ। 'भानुजस्ता व्यक्तिको सम्झनामा सालिक बनाउँदा मूर्तिकलाको पनि सम्मान हुन्छ। एउटा कलाकारको कला तबसम्म बाँच्छ, जबसम्म अवसरहरू प्राप्त भइरहन्छ,’ उनी भन्छन्।
गत वर्ष भानुको अर्धकदका दुई वटा सालिकको माग भएपछि उनले बनाएर दिएका थिए। एउटा सालिक सिलिगुढी पानीघट्टा मोडमा र अर्काे अलिपुरद्वार जिल्लाको रामझोडामा राख्ने योजना थियो। उनी भन्छन्, ‘यसपालि सात वटाभन्दा बढी भानुको सालिकको माग अनि कुराकानी चल्दै थियो। अचानक कोरोना भाइरसले निम्त्याएको विश्वव्यापी लकडाउनको कारणले प्रायः सबै ठाउँमा सालिक राखिने कार्यक्रम ठप्प बनेको छ।’ उनका अनुसार दिल्ली, गान्तोक, सिलिगुढी अलिपुरद्वार र जलपाइगुढी जिल्लाको केही ठाउँमा सालिक राखिने योजना थियो।
चित्र र मूर्तिका अर्का कुशल शिल्पी हुन्, अमिर सुन्दास। उनी डुवर्सले जन्माएको बहुआयामिक प्रतिभा हुन्। सुन्दासले पश्चिमोत्तर भारतका धेरै भूभागमा आदिकविको आकृति बनाइसकेका छन्। उनले बनाएका भानुका सालिक स्थानीय चोक, गल्ली र प्राङ्गणमा शोभायमान बनेका छन्।
कालेबुङस्थित भानुको प्रतिमा।‘म नौ–दस कक्षा पढ्दासम्म चित्र कोर्ने भइसकेको थिएँ। लाइभ स्केच गरेर मान्छेका अनुहार उतार्थें। उनीहरू मलाई सय, दुईसय रूपैयाँ दिन्थे।’ उनी भन्छन्। उनी गाडीका नम्बर प्लेट र पोष्टरहरू पनि बनाउथे। वालपेन्टिङ र साइनबोर्ड लेख्थे। त्यसरी जम्मा भएको पैसा स्कूलको पढाइमा खर्च गर्थे। कापी-कलम, लुगाफाटो किन्थे। वास्तवमा उनले चित्रकलाको सिर्जना अभ्यास गरेनन्, काम गरे। काम गर्दागर्दै अभ्यस्त हुँदै गए।
उनले मूर्ति पनि बनाउने गरेको मानिसहरुले थाहा पाउँदै गए। अनि धमाधम माग आउन थाल्यो। हरेक मूर्ति कसरी राम्रो गराउने भन्ने ध्याउन्नमा हुन्थे। त्यसपछि चित्रकारबाट मुर्तिकारतिर बढी समय दिन थाले। ‘अनि चित्रकार कम र मूर्तिकार बढी भइसकेँछु,’ उनी भन्छन्। उनले अहिलेसम्म ६०–७० वटा मूर्ति बनाइसकेका छन्। उनले खासगरी भानुभक्त, महाकवि दक्ष्मीप्रसाद देवकोटा, हरिभक्त कटुवाल, अरूणा लामाका मूर्ति बनाएका छन्।
उनले बनाएको एउटा मूर्ति एक लाखदेखि, तीन लाख भारूमा बिक्री हुन्छ। कला सिर्जनामा समर्पण भएबापत उनी पुरस्कृत पनि भइसकेका छन्। पछिल्लो पटक सन् २०१८ मा लैनसिंह बाङ्देल स्मृति प्रतिष्ठानले ‘लैनसिंह बाङदेल स्मृति पुरस्कार’ दिएको थियो।
सिक्किमका विभिन्न स्थानमा पनि आदिकविसाका लिक राखिएका छन्। सिक्किम नेपाली भाषीको बाहुल्य रहेको राज्य पनि हो। त्यहाँका नाम्ची, रिनाक, सिङ्ताम, सोरेङ्ग, गेजिङ लगायत ठाउँमा भानुका सालिक छन्।
त्यस्तै सिक्किमका विभिन्न स्थानमा पनि आदिकविसाका लिक राखिएका छन्। सिक्किम नेपाली भाषीको बाहुल्य रहेको राज्य पनि हो। त्यहाँका नाम्ची, रिनाक, सिङ्ताम, सोरेङ्ग, गेजिङ लगायत ठाउँमा भानुका सालिक छन्। त्यहाँ भानुजयन्तीमा नेपाली भाषा, साहित्य र जातिय एकताका लागि वृहत कार्यक्रम पनि हुने गरेका छन्।
सिक्किमकी कलाकार दीपा साराजा बुङछेन राई त्यहाँ भानु जयन्तीको विशेष महत्व भएकाले भव्यताका साथ मनाइने बताउँछिन्। गान्तोकको भानु उद्यानमा सन् १९८१ मा तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीको तत्परतामा भानुको सालिक स्थापना गरिएको थियो। नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष रूद्र पौड्याल भानुको यो पहिलो सालिक भएको बताउँछन्। यो सालिकका मूर्तिकार कोलकोत्ता निवासी मुक्ति पाल हुन्।
उता मणिपुरका भवानी अधिकारीका अनुसार त्यहाँ सन् १९६० बाट धुमधामले भानु जयन्ती मनाइन्छ। पहिले दार्जिलिङतिरबाट फोटो लगेर कार्यक्रम गरिन्थ्यो। अहिले इन्टरनेटबाट निकालेर फोटो सजाइन्छ। कलाकार बुद्धि थापाका अनुसार नागाल्याण्ड, डिमापुरतिर पनि तस्वीरमा माल्यार्पण गरेर भानुजयन्ती मनाइन्छ।
असममा भने धेरै स्थानमा भानुभक्तका सालिक छन्। त्यहाँका स्थानीय देवेन सापकोटाका अनुसार तिनसुकिया जिल्ला जागुनको उदयपुरमा सन् १९९३ मा सालिक राखिएको थियो। त्यस्तै डिगबो, सोणितपुर, गामिरी, लोख्रा–चारदुवार, डिमाहासाओ जिल्लाको उम्राङ्सु ,कासार जिल्लाको सिलसरस्थित हरिनगरमा पनि भानुका सालिक राखिएका छन्।
कालिङपोङस्थित लिंगसे, त्रिकोण पार्कमा आदिकविको अर्धकदको सालिक अवस्थित छ। सामसिङ्ग चिया कमानको भानुभनगर र नबुमा रवीन्द्र–भानु मञ्च, बाग्राकोटको भानु मैदानछेउमा पनि सालिक राखिएको छ। गत साल चिलाउने चियाबारीमा पनि सालिक अनावरण भएको छ। सिलगढीका विभिन्न स्थानमा पनि आदिकविका आकृति सम्मानपूर्वक राखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।