मंगलबार साँझदेखि सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रले भोगेको भीषण बाढीसिर्जित विपत्तिबारे हरेक मान्छेले हरेकथरी तर्क गरिरहेका छन्। त्यसक्रममा सतही टिप्पणीसमेत भइरहेको सुनिन्छ। म किन यसो भनियो भन्नेतिर त जान चाहन्न। तर, हामीले यति ठूलो विपत्तिलाई हल्काफुल्का टिप्पणी गरेर बिर्सिदियौं भने अरु धेरैतिर यस्तो विपत्ति दोहोरिने जोखिम हुन्छ। त्यसकारण मेलम्ची क्षेत्रमा भएको के हो? र, किन यति ठूलो विपत्ति निम्तियो भन्ने कारण पहिल्याउनुपर्छ। त्यो कारण तथ्यसंगत होस्, विज्ञानसम्मत होस्।
के भएको हो मेलम्चीमा?
जल तथा मौसम विज्ञानको क्षेत्रमा मेरो लामो अनुभवले मेलम्ची क्षेत्रमा के भएको हो भन्नेबारे विभिन्न कोणबाट हेर्ने प्रयास गरिरहेको छु। ज्ञान र अनुभवका आधारमा त्यहाँ के भएको हुनसक्छ भनेर केलाउने प्रयास भइरहेको छ। सामान्यत: धेरै पानी परेपछि (वर्षा भएपछि) बाढी हुन्छ। ‘धेरै वर्षा’को अर्थ कि त लामो समय पानी परिरहनु हो कि थोरै समयमा तीब्र वर्षा हुनु हो। लगातार पानी पर्यो भने जमीनले सोस्न छोड्छ र सवै वगेर जाँदा ठूलो बाढी सिर्जना हुन्छ। कहिलेकाहीँ त्यस्तै बाढी ४०–५० वर्षपछि आउने भीषण बाढी भइदिन्छ। यसबाहेक ‘क्लाउड बर्ष्ट’ भयो भने पनि ठूलो बाढी आउँछ। मेलम्ची क्षेत्रमा ‘क्लाउड बर्ष्ट’ भएको थियो कि थिएन भन्ने एकिन छैन।
उच्च पहाडी क्षेत्रमा हिमताल विष्फोट भएर पनि यस्तो खालका बाढी आउँछन्। हाम्रोजस्तो पहाडी मुलुकमा चाहिँ प्रायः ‘क्लाउड बर्ष्ट’ भएपछि पहिरो गएर केही घण्टा वा दिन साँघुरो खोचमा नदी थुनिने र अन्तिममा त्यो फुटेर ठूलो बाढी आउने हुन्छ। अहिलेसम्म हामीले बुझेको पनि यही हो। यी कुराहरुलाई हेर्दा मेलम्ची क्षेत्रको घटनामा पानी परेको (वर्षा भएको) रेकर्ड हेर्दा ‘क्लाउड बर्ष्ट’ भएको देखिँदैन। पहिलेका आँकडाहरु हेर्दा पनि त्यही क्षेत्रमा त्यो भन्दा निकै ठूलो वर्षा भएको पाइन्छ। तर, त्यसबेला पनि त्यति ठूलो बाढी आएको छैन। अनि त्यस्तो खालको लेदोसहितको बाढी पनि आएको छैन। त्यसकारण मेलम्ची क्षेत्रमा के भएको हो भन्नेबारे गहन अध्ययन हुनुपर्छ।
हामी सामान्यतया नजानेका कुरा कारण पत्ता नलगाई त्यसै छाडिदिन्छौं। तर, कतिपयले आफ्नो अनुभवका आधारमा यही भएको हो भनेर ठोकुवा गरि दिन्छन्। त्यो तथ्यसँग मेल खान्छ या खाँदैन भनेर हेर्दैनन्। डोजर चलाइएको, खोलाकिनारमा बस्ती बसाइएकोले यस्तो भएको भनेर अहिले आइरहेका टिप्पणी त्यसका उदाहरण हुन्। विज्ञानको धर्म पछ्याउने हो भने त्यसो गर्नु अनैतिक हुन्छ। जुन कुराको चित्त बुझ्दो प्रमाण छैन, त्यसलाई यसै होला भन्नु अनैतिक हुन्छ। एउटाले ‘क्लाउड बर्ष्ट’ भयो भन्ने, अर्कोले ठूलो पोखरी बन्यो भन्ने कुरा गर्ने गर्नुभन्दा बहुविधागत अध्ययन टोली बनाएर अध्ययन गरी त्यसको निर्क्योल गर्नेमा जोड दिनुपर्छ।
के कारणले यति ठूलो बाढी गयो? बर्षा भयो भने कति ठूलो वर्षा भयो? कति लामो अवधिसम्म वर्षा भयो? त्यहाँको भौगोलिक धरातल, भिरालोपन, भूउपयोग जस्ता कुराको प्याटर्न हेर्नुपर्छ। आँकडाको कमी वा ज्ञानको कमी हो भने त्यसलाई पुर्ताल गर्ने प्रयासमा लाग्नुपर्छ। विना ठूलो वर्षा मेलम्चीमा ५० वर्षपछि यति ठूलो बाढी आयो भनिएको छ, त्यसो हो भने यो त अरु ठाउँमा पनि आउन सक्छ। त्यसकारण वैज्ञानिक अध्ययन टोलीले स्थलगत रुपमासमेत यसको अध्ययन गर्नुपर्छ जुन नेपालको लागि मात्र होइन विश्वकै चासोको विषय हुन सक्दछ। यदि ठूलो पानी नपरेरै पनि यत्रो बाढी आउन थालेको हो भने देशभरिकै बस्तीहरुको, तिनको जोखिमको बारेमा पनि पुनर्विचार गर्नुपर्ने हुन्छ। त्यसकारण पनि गहिरो अध्ययन गरेर कारण निर्क्योल गरिनुपर्छ।


तर, यस्तोमा एउटै फ्याक्टर नै निर्णायक हुँदैन। मेलम्ची क्षेत्रको विपत्तिबारे एउटा निचोडमा पुग्ने हो भने पनि त्यहाँ कुन चाहिँ कारण कति जिम्मेवार थियो भनेर पनि हेर्नुपर्छ। मानौं, वर्षाले कमजोर भिरपाखोमा सानो पहिरो उत्पन्न भयो तर ठाडो भिरको पहिरो वेगले वग्दै खोचमा झरेर नदी थुनिदिएको खण्डमा त्यहाँ उत्पन्न हुने अस्थायी ताल विष्फोट हुँदा भयंकर बाढी उत्पन्न गर्दछ। भिरालो एरियाको पहिरो आफैमा एउटा ठूलो जोखिमको कारण हुन्छ। त्यसले आधा घण्टा मात्र पनि नदीलाई थुनिदियो भने ताल बन्छ। अनि त्यो फुट्दा वा खुल्दा त्यसले जुन बाढी ल्याउँछ, त्यसले सँगै वरपरका रुख, ढुंगा, माटो सबै बगाएर ल्याउँछ।
भिरालो भएकाले त्यसले सामान्यभन्दा कैयौं गुणा बढी बेगको बाढी उत्पन्न गर्छ। भन्नुको मतलब माथि बाढी सानै थियो भने पनि स्लोपको कारणले गर्दा सोचेको भन्दा निकै बढी शक्तिशाली हुन्छ। अनि त्यहीअनुसार क्षति पनि निकै बढी हुन्छ। मेलम्चीको अर्को फ्याक्टर, मेलम्ची बजार पनि त बगरमा बसेको हो। अहिले नहोला, कुनै न कुनै बेला त त्यो नदी हिडेकै क्षेत्र भएर तटीय क्षेत्र भनिएको हो। त्यही बगरमा बस्ती फिजिइसकेको हुनाले बजारलाई बढी क्षति गर्यो।
तर, यी कुरामा कुन कुरा कति जिम्मेवार हुन्, कति पर्सेन्ट कारण यही हुन् भन्ने पाटोमा अध्ययन नगरी यहीकारण भयो भन्न मिल्दैन, हुँदैन।
२०५० सालमा धादिङको गजुरी क्षेत्रमा आएको बाढीको स्वरुप जस्तो थियो, मेलम्चीमा लगभग त्यस्तै देखिन्छ। नेपालमा आएकामध्येको त्यो ठूलो बाढी थियो। त्यसबेला पृथ्वी राजमार्गका धेरै पुल भत्केका थिए। कुलेखानी जलविद्युत आयोजनाको ड्याम फुटेको थियो। त्यो बागमतीमा मिसिएपछि सर्लाहीतिर ठूलो जनधनको क्षति भएको थियो। माथि त्यो सानो बाढी थियो। तर, क्लाउड बस्र्ट भएर पहिरो गएकाले तल आउँदा भीषण बाढी बन्यो। त्यसमा पानी मात्र थिएन, ठूल्ठूला ढुंगा, रुखसहितको गेग्रान थियो।
हामीकहाँ धेरैजसो नदीनाला हिमाली क्षेत्रबाट आउँछन् र भिरालो ठाउँमा बग्छन्। त्यहीकारण ती ठाउँमा यति पानी पर्दा यति ठूलो बाढी आउन सक्छ भनेर गर्ने अनुमान सही नहुन सक्छ। अरु ठाउँमा यति पानी पर्दा यति बाढी आउँछ भनेर जुन वैज्ञानिक आकलन गरिएको हुन्छ, त्यो नेपालका नदीनालाका हकमा लागु हुँदैन। समथर भूमिमा बग्ने नदीनालामा त्यो मिल्छ, तर भिरालो ठाउँमा मिल्दैन। किनभने त्यसले ढुंगा कति बगाउँछ, माटो कति कटान गर्छ भन्ने आकलन गर्न सकिन्न। स्लोपमा बग्दा त्यसको शक्ति सामान्य अवस्थाभन्दा तीन गुणा बढी हुन्छ। भिरालो क्षेत्र, त्यसमाथि भल पहिरो मिसियो भने तल्लो तटमा त्यसले ठूलो क्षति निम्त्याउँछ।
(जल तथा मौसमविज्ञ दाहालसँगको कुराकानीमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।